ad ad

अन्तर्वार्ता


जसपा कतै लाग्दैन, देश अब चुनावतिर गयोः सर्वेन्द्रनाथ शुक्ला (अन्तर्वार्ता)

जसपा कतै लाग्दैन, देश अब चुनावतिर गयोः सर्वेन्द्रनाथ शुक्ला (अन्तर्वार्ता)

सागर न्यौपाने
जेठ ५, २०७८ बुधबार १३:१५,

विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को विवाद तत्कालका लागि साम्य भएको नेताहरुले बताएका छन्।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे संयुक्त विज्ञप्ति जारी गरेपछि फुटकै डिलमा पुगेको जसपाको विभाजन रोकिएको उनीहरु दाबी गर्छन्।

तर, संयुक्त विज्ञप्ति सार्वजनिक भएको केही घण्टामै संसदीय दलको निर्णय भन्दै वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनिएको पत्र संसद सचिवालयमा दर्ता गरिएपछि अन्योलको स्थिति छ।

यस्तो अवस्थामा जसपा एकढिक्का रहन सम्भव छ? जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो भने अबको राजनीति कता जान्छ? यसै विषयमा जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य सर्वेन्द्रनाथ शुक्लासँग नेपालखबरले गरेको कुराकानीः

जसपाभित्रको विवाद साम्य भएकै हो कि केही दिनको विश्राम मात्र हो?
विवाद हटोस् भनेरै दुई अध्यक्षको हिजो विज्ञप्ति आएको हो। कुनै किसिमको विभाजनको रेखा नदेखियोस्, देखिएको पनि समाप्त होस् भन्ने प्रयासको लागि त्यो आएको हो।

धेरैदिनदेखि हाम्रो पार्टीको कार्यकारिणी समितिको बैठक बस्न सकेको थिएन। पुसको पहिलो हप्तापछि नै बैठक बस्न सकेको थिएन। अहिले बल्ल त्यो बैठक बस्ने निश्चित भएको छ, यही ८ र ९ गते। पार्टीलाई अन्तिम स्वरुप त त्यो बैठकले देला। तर, यो राम्रो प्रयास भयो। जसले पार्टीभित्र देखा परेका कतिपय भ्रमलाई धेरै हदसम्म चिरेको छ। अब यसको निरन्तरता हुनुपर्छ।

८ र ९ गते बस्ने बैठकले अन्तिम स्वरुप दिने कुरा गर्नुभयो। त्यो भनेको के हो?
बैठकको एजेन्डा त बाहिर आइसकेको छैन, तर बाहिर जुन दुई लाइन जस्तो देखियो नि, यसैलाई बैठकले एउटा विधिमा लैजान्छ होला, संशोधन गर्नुपर्ने भए गर्छ।

अर्काे, संयुक्त विज्ञप्तिमा आएका कतिपय कुरालाई बैठकले अनुमोदन गर्छ।

तर, संयुक्त वक्तव्य आएको केही घण्टामै संसदीय दलको बैठकबाट राजेन्द्र महतोलाई दलको नेता बनाइएको भनेर संसद सचिवालयमा पत्र दर्ता गराइएको छ, अब त्यो दर्ता के हुन्छ त?
त्यो कुराको छलफल र छिनोफानो हुन्छ होला। हुन त म त्यो संसदीय दलमा त छैन। त्यसकारण मैले कमेन्ट गर्ने कुरा राम्रो हुँदैन। त्यसको कुरा बैठकमा उठ्यो भने छिनोफानो त गर्नैपर्छ।

उपेन्द्रजीको नजिकका कार्यकारिणी समितिका साथीहरुसँग मेरो छलफल भएको थियो, यो वातावरण बिग्रन दिनु हुँदैन, त्यसो भएमा राम्रो हुँदैन भन्ने विषयमा उहाँहरु पनि सहमत हुनुन्थ्यो। मिलाएर जाऊँ भन्ने कुरा थियो सबै जनाको।

एकता तोडेर पार्टी विभाजन गर्ने त कसैको पनि चाहना छैन। बीचमा भएका जति अप्रिय कुरा छन्, त्यसलाई सच्याउँदै जानुपर्छ र एकताबद्ध भएर जानुपर्छ भन्ने कुरामा सबैले सहमति जनाउँछन्। कसैले पार्टी फोड्नुपर्छ त भन्नुहुन्न होला।

जसपा केपी ओली नेतृत्वको वर्तमान सरकारमा नजाने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ। यो भनेको के हो?
बाबुरामजीको त्यही लाइनमा ट्विट आएको थियो। त्यसमा व्याख्या गर्ने काम जुन दिन हामी छलफलमा बस्छौँ, त्यही दिन गर्छौँ। किनभने मैले त्यो संयुक्त विज्ञप्ति ड्राफ्ट गरेको होइन। म छलफलमा बसेको पनि छैन।

तर, मूल मुद्दाको कुरा गर्दा हामी एक भएर बस्नुपर्छ। हामी कसैको पक्ष या विपक्षमा जाँदैनौँ, तटस्थ बस्छौँ भन्ने कुरा त अध्यक्ष महन्थ ठाकुरजीले धेरै पटक भनिसक्नुभएको छ। सार्वजनिक रुपमा हामी कसैको पक्ष, विपक्षमा लाग्दैनौँ, एक भएर जान्छौँ भनिसक्नुभएको छ। विश्वासको मतमा मत दिने वा विपक्षमा लाग्ने कुरा हामी गर्दैनौँ।

राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा चाहिँ आकाशको फल जस्तै हो। राष्ट्रिय सहमति भनेको त ओलीजीको पनि सहमति चाहियो, प्रचण्डजीको पनि चाहियो र शेरबहादुरजीको पनि चाहियो।

कसैलाई विपक्षमा राखेर राष्ट्रिय सहमति हुँदैन, त्यो भनेको सामान्य होइन। त्यो असामान्य परिस्थिति हो। त्यसका लागि भगीरथ प्रयास गर्नुपर्छ र सजिलै त्यो प्राप्त हुन्छ भन्ने छैन। अनि राष्ट्रिय सहमति नभइकन कुनै विवादित परिस्थितिमा म प्रधानमन्त्री हुन्नँ भनेर ठाकुरजीले सुरुदेखि भन्दै आउनुभएको हो।

राष्ट्रिय सहमति भयो भने निर्विवाद हुन्छ। किनभने चुनाव गराउने जिम्मेवारी हुन्छ, त्यहाँ विवाद राखेर चुनावमा जाँदा त्यो दोष प्रधानमन्त्रीले बोक्नुपर्छ। ठाकुरजीले भनेको त्यही होला।

राष्ट्रिय सरकारमा जाने, नेतृत्व गर्ने सहमति गर्न भनेजस्तो सजिलो छैन।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरिरहेका छन्। जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ?
हिजोको विज्ञप्तिलाई मान्ने हो भने त जसपाले कसैलाई विश्वासको मत हाल्दैन भनेर लेखेकै छ नि। केन्द्रीय समितिबाट त्यसलाई उल्ट्याइएन भने जसपाले कसरी मत देला?

ठाकुरजीले पहिलेदेखि हामी कसैको पक्ष वा विपक्षमा मत हाल्दैनौँ भन्दै आउनुभएको छ। त्यसैलाई निरन्तरता दिइन्छ।

३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत पाएनन् भने र संवैधानिक नैतिकता पालना भयो भने संविधानको धारा ७६ (५) मा जान्छ र प्रतिनिधि सभाको एक सदस्यले सरकार बनाउन बहुमत पुर्‍याउने दाबी गर्न सक्छ। त्यसबेला पनि जसपाले सरकारको नेतृत्व नगर्ने हो?
त्यो सम्भावना छ र? जसपाले राष्ट्रिय सहमतिको सरकारमा जाने हो, अरु कुनै सरकारमा हामी जाँदैनौँ भन्ने छ। अनि कसरी हाम्रो पार्टीले सरकार बनाउँछ?

जसपाले राष्ट्रिय सहमतिको सरकारको मात्र नेतृत्व गर्छ। अरु कुनै पनि सरकार बनाउन जसपा दौडिँदैन। राष्ट्रिय सहमति बन्न ठूला दलको सहमति चाहियो। त्यो परिस्थिति बनिसकेको त अहिलेसम्म देखिँदैन।

अरु वैकल्पिक सरकारमा हामी जाँदैनौँ, त्यो प्रष्ट छ। वैकल्पिक सरकारको बारेमा जसपा सोच्दैसोच्दैन। न कसैलाई समर्थन गर्छ न आफू लाग्छ।

तर, अध्यक्षद्वयले त राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने भनेर लेखेका छन् त?
आफ्नो नेतृत्वको भन्नुको अर्थ जुनसकै सरकार होइन। राष्ट्रिय सहमतिको सरकार भन्ने मात्र हो। त्यही भएर मैले गाह्रो छ भनेको।

त्यसो भए पार्टीहरु चुनावतिरै जान खोजेको देखियो?
देश अब चुनावतिर केन्द्रित भयो।

यो अंकगणितले कति हुन्छ, कति हुँदैन भन्ने कुरा छ। त्यसैले अन्याथा केही होलाजस्तो मलाई लाग्दैन।

तपाईंहरुको पार्टीको निचोड पनि त्यही हो?
चुनावतिर गयो। घटनाक्रमले त्यही देखाउँदैछ। राजनीतिको अरु निकास तत्काल देखिँदैन।

जसपाले उठाएका माग सम्बोधनको लागि बनाएको अनौपचारिक कार्यदलमा तपाईं पनि हुनुहुन्थ्यो। सरकारले माग सम्बोधन गर्‍यो भने त ओलीलाई विश्वासको मत दिएर सरकारमा जाने होला नि?
हेर्नुस् अहिलेसम्म विश्वासको मतको बारेमा प्रधानमन्त्रीले भन्नु पनि भएको छैन। हाम्रो कमिटमेन्ट पनि छैन अहिलेसम्मलाई। विज्ञप्ति आइसकेपछि विश्वासको मतको बारेमा हाम्रो कमिटमेन्ट छुट्टै भनिरहन परेन नि।

त्यसको मतलब हामीले जुन मुद्दा उठाएका छौँ, त्यो त राष्ट्रिय मुद्दा हो। त्यसको समाधान त देशको प्रधानमन्त्रीले दिनैपर्छ, निकाल्नैपर्छ। मलाई लाग्छ उहाँ असहमत हुनुहुन्न।

त्यो गिभ एन्ड टेकको कुरा होइन, उहाँको कर्तव्यको कुरा हो। म यो दिन्छु, त्यसको सट्टा तिमीले यो देऊ भन्न खोज्या होइन, यो उहाँले देशको प्रधानमन्त्री भएको हुनाले आफ्नो कर्तव्य निर्वाहको क्रममा त्यसलाई गर्दिनुपर्छ। हामी त्यसमै छौँ, त्यसबाट बाहिर छैनौँ।

मैले तपाईंलाई सोध्न खोजेको, प्रधानमन्त्रीले थुप्रै कुरा कार्यान्वयनमा लगिसकेका छन्, अब त गर्लान् भनेर विश्वास गर्ने आधार बनेन त अझै?
केही माग सम्बोधन भएका छन्। पचास, त्रिपन्नवटाजति बाँकी होला। अरु सबै सकिएको छ।

हामीले दिएर जाने नजाने, विश्वास गर्ने नगर्ने कुरा त कहाँबाट आउँछ भने हाम्रो केन्द्रीय कार्यकारिणी समितिले त्यस्तो निर्णय गर्‍यो भने हुन्छ। होइन भने यही संयुक्त विज्ञप्ति नै जाला नि त अगाडि। अब सबैको ध्यान निर्वाचनतिर छ त्यतै जाला।

संयुक्त विज्ञप्तिपछि अध्यक्ष महन्थ ठाकुरको प्रतिक्रिया के पाउनुभयो?
महन्थजीले आफैँ हस्ताक्षर गरेर विज्ञप्ति निकाल्नुभएको छ। त्यसभन्दा फरक गएर उहाँले बोल्ने कुरा हुँदै हुँदैन। उहाँ लेख्ने एउटा, बोल्ने एउटा गर्ने मान्छे पनि होइन। जे बोल्नुभयो त्यसमा प्रष्ट हुनुहुन्छ उहाँ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .