ad ad

अन्तर्वार्ता


खेलाँची गर्दा पर्सा हटस्पट बनेको थियो, चाँडै सामान्य अवस्थामा फर्किन्छः सीडीओ तामाङ (अन्तर्वार्ता)

खेलाँची गर्दा पर्सा हटस्पट बनेको थियो, चाँडै सामान्य अवस्थामा फर्किन्छः सीडीओ तामाङ (अन्तर्वार्ता)

उजिर कार्की
भदौ १२, २०७७ शुक्रबार १३:५५,

कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित जिल्ला हो पर्सा। यो जिल्लामा ३२ जना संक्रमितको ज्यान गइसकेको छ, जुन नेपालकै सबैभन्दा बढी हो। जिल्लामा २ हजार १ सय ९१ जनामा संक्रमण पुष्टि भइसकेको छ। यो पनि काठमाडौँपछिको सबैभन्दा ठूलो संख्या हो।

पर्सामा संक्रमण बढिरहेका बेला सरकारले प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की र सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको सरुवा गरेको थियो। पर्सामा नयाँ सीडीओको रुपमा आस्मान तामाङ पुगेका छन्।

तामाङले यसअघि व्यवस्थापनमा कमजोरी भएकै कारण संक्रमण बढेको बताउँदै अहिले आफूले रोकथामका लागि नयाँ योजना कार्यान्वयन गरेको बताउँछन्।

पछिल्लो एकसाता पर्सामा दैनिक थपिने संक्रमितको संखया ५० भन्दा कम छ। तामाङले पर्सामा कोरोना नियन्त्रणका लागि कसरी समन्वय गरिरहेका छन् त? सीडीओ तामाङसँग गरिएको संक्षिप्त कुराकानी :

तपाईं प्रमुख जिल्ला अधिकारीका रुपमा पर्सामा हाजिर हुँदा त्यहाँको अवस्था कस्तो थियो?
म साउन २९ गते पर्सामा हाजिर भएँ। आउनेबित्तिकै मैले जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक राखें। त्यसमा छलफल गर्दा जिल्लामा विश्वासको संकट देखियो। अविश्वासका कारण परिस्थिति नियन्त्रणमा राख्न हामीले सकेका रहेनछौं।

स्वास्थ्यकर्मीहरु नै ठूलो संख्यामा संक्रमित भए। मनोबल कमजोर भएको अवस्था थियो। सुरक्षा निकायमा पनि संक्रमण देखियो। लकडाउन खोल्ने निर्णयसँगै सिमानामा आउजाउ बढ्दा जोखिम पनि थपियो।

संक्रमितलाई व्यवस्थापन गर्न जुन पुर्वाधारहरु आवश्यक पर्छन्, त्यसको व्यवस्थापन थिएन। नेपाल सरकारका जुन आदेशहरु छन्, ती आदेशको पालनामा हामी कहीँ न कहीँ चुकेका रहेछौं।

स्थानीय तहका नेताहरु नै बढी संक्रमण हुनुले पनि के देखाउँछ भने उहाँहरुले पनि कोरोनालाई लिएर खेलाँची गर्नुभयो। सावधान हुनु भएन। जिम्मेवारी अनुसारको काम हुन सकेन। अनुगमनको पाटो पनि कमजोर रहेछ।

तपाईं गइसकेपछि के परिवर्तन गर्नुभयो?
पहिलो कुरा त मैले समन्वय र सहजीकरणलाई जोड दिएँ। प्रदेश र केन्द्रका सरकारसँगै यहाँका राजनीतिक दललगायत सबैसँग समन्वय, सम्पर्क बढाएँ। त्यसपछि कोरोना संक्रमण फैलिन नदिन केही रणनीतिहरु अवलम्बन गरेका छौं।

पहिलो कुरा निषेधाज्ञामा कडाइ गरेका छौँ। नेपाली सेना परिचालन गरेर कडाइका साथ कार्यनवयन गरिरहेका छौं। यसको नतिजा पनि राम्रो देखिन थालेको छ। कुनै बेला दैनिक १ सय ५० बढी संक्रमित देखिएको यो ठाउँमा अहिले दैनिक २० देखि ४० को हाराहारी मात्रै संक्रमित थपिएका छन्।

त्यसमा पनि सदरमुकामका कम छन्। यो तथ्यांकले पनि अलिक नियन्त्रण हुँदै गएको देखाउँछ। संक्रमितको व्यवस्थापन गर्न हामीले संरचनाहरु निर्माण गर्‍यौं। चेक, इन्भेस्टिगेसन, कन्ट्याक्ट ट्रेसिङ गर्ने टिम बनाएका छौं। नारायणी अस्पतालमा उपकरण जडान गरेर परीक्षण गर्ने क्षमता बढाएका छौं। अन्य उपकरण किन्ने प्रक्रिया पनि सुरु भइसकेको छ। जनशक्ति पनि थप गरिएको छ।

जताततै आइसोलेसनको अभाव छ। पर्सामा कसरी व्यवस्थापन गरिरहनुभएको छ?
संक्रमितको अवस्था छुट्याउँछौं र लक्षण देखिएका संक्रमितलाई अस्पतालमा र लक्षण नदेखिएका संक्रमितलाई घरमै अथवा सामुदायिक आइसोलेसनमा राख्छौं। हामीले एक ठाउँ ४५ बेडको आइसोलेसन र अर्को मण्डलीमा १ सय ११ बेडको आइसोलेसन सञ्चालन गरेका छौँ। केही निजी अस्पताल पनि कोभिड अस्पतालका रुपमा सञ्चालनमा आउँदैछन्। यसबाट २ सय ६० बेडको आइसोलेसन थपिएको छ।

एम्बुलेन्स र शव वाहन ल्याउन पनि हामीले प्रक्रिया अगाडि बढाइसकेका छौं। सशस्त्र प्रहरी सबैलाई बोर्डरमा केन्द्रित गरिएको छ। कोरोना केन्द्रित काममा सेनालाई खटाएका छौं। मालवाहक गाडीबाट दैनिक ४ सय जति चालक र सहचालक आउने गरेकोमा उनीहरु खुल्ला हिँडडुल गर्न दिएका छैनौँ।

स्वास्थ्यकर्मीको सुरक्षा सतर्कता बढाएका छौं र औद्योगिक क्षेत्रमा नेपाल सरकारको मापदण्डअनुसार अनिवार्य क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने, कोरोना संक्रमण देखिएमा आइसोलेसनको व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेका छौं। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र पनि सञ्चालन गरेका छौं। जसले कोरोनासँग सम्बन्धित सूचना सही समयमा दिइरहेको छ।

नागरिकको तर्फबाट पनि कोरोना नियन्त्रणमा समूह परिचालन गरेका छौं। रेडक्रस सोसाइटीले माइकिङ गरिरहेको छ। यस्तै, कोरोना संक्रमितबाहेकका बिरामीको स्वास्थ्यलाई पनि हामीले ख्याल गरेका छौं। कोरोना संक्रमण भए नभएको यकिन गर्ने र कोरोना देखिए कोरोना अस्पताल र नदेखिए अरु अस्पतालमा पठाउने व्यवस्था गरेका छौं।

त्यहाँ ठूलो संख्यामा स्वास्थ्यकर्मी पनि संक्रमित छन्। उनीहरुको व्यवस्थापन कसरी हुँदैछ?
हामीले विभिन्न क्षेत्रका विज्ञ आवश्यक छ भनेर डीसीएमसीबाट निर्णय गरेर माग गरेका थियौं। ११ जना माग गरिएकोमा ८ जना एमडी डाक्टरहरु आइसक्नु भएको छ। ३ जना पनि आउने क्रममा हुनुहुन्छ। अब हामी स्वास्थ्यकर्मीको हिसाबले पनि मजबुत अवस्थामा छौं। उहाँहरु एक महिना यहाँ रहनुहुन्छ। नारायणी अस्पतालमा कोभिड र ननकोभिड दुवै सेवा सञ्चालन गर्ने भन्ने हो। ओपीडी सेवा सञ्चालन गर्नु राज्यको पहिलो जिम्मेवारी हुन्छ। त्यो पाटोबाट पनि उहाँहरुले काम गर्नु हुन्छ। आइसोलेसन सेन्टर, होम आइसोलेसनमा बसेका व्यक्तिहरुलाई पनि उहाँहरुले सेवा दिनु हुन्छ।

पर्सा कसरी संक्रमणको हटस्पट बन्न पुग्यो?
पहिलो कुरा त नागरिकको असावधानी नै हो। असारको अन्तिममा यहाँ एक जना मात्रै संक्रमित थिए। साउन लागेपछि संक्रमितको संख्या अत्यधिक बढ्दै गयो। दोश्रो कारण भनेको हाम्रो सिमानाको खुल्ला आवतजावत पनि हो। नाकाबाट भित्रिने सवारी आवागमन र खुल्ला रुपमा हिँडडुल गर्न दिइनु र औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरहरुको आवातजावतले पनि संक्रमण फैल्याउन सहयोग गर्‍यो। हाम्रा प्रशासनिक निकायको बीचमा पनि राम्रो समन्वय भएन कि जस्तो लाग्छ। मनिटरिङ गर्ने मेकानिजम पनि भएन। असावधानीकै कारण बढेको देखिन्छ।

अब कहिलेसम्ममा पर्सामा कोरोना नियन्त्रणमा आउला?
अहिले नियन्त्रण उन्मुख छ। यसका लागि हामी निरन्तर छलफलमा छौं। त्यसका लागि आवश्यक रणनीति अपनाउछौं। निषेधाज्ञा लगाउँछौं, यसअघि हामी जुन कुरामा चुकेका थियौं, त्यो गल्ती अब दोहोर्‍याउँदैनौँ। केन्द्र र प्रदेश सरकारको भरपुर सहयोग लिन्छौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .