अन्तर्वार्ता


प्रचण्डसँग ‘तत्कालै’ : बहुमत कसैको आउँदैन, सरकार निर्माणमा बालेनसँग पनि सहकार्य हुन सक्छ (भिडिओ)


अनिल यादव
फागुन १९ , काठमाडौँ

नेपाली राजनीतिको रङ्गमञ्चमा यस्ता केही पात्रहरू छन्, जसको उपस्थितिले इतिहासको लय बदलिदिन्छ। तीमध्येका एक हुन्– पुष्पकमल दाहाल ‘प्रचण्ड’। कहिले जङ्गलमा विद्रोहको गीत कोर्ने, त कहिले बालुवाटारका सुकिला बैठकहरूमा सत्ता र समीकरणको गणित मिलाउने प्रचण्ड यतिबेला फेरि एक पटक जनमतको कसीमा उभिएका छन्। 

जहाँबाट उनले आफ्नो राजनीतिक अस्तित्वको जग हालेका थिए र जनयुद्ध सुरु गरेका थिए, यसपालि चुनाव लड्न प्रचण्ड त्यहीँ पुगेका छन्। त्यसैले होला, पूर्वी रुकुममा चुनाव लड्दै गर्दा उनको हाउभाउमा एक खालको शान्ति र ढुक्कपन देखिन्छ– मानौँ उनले आउने परिणाम र बन्ने समीकरणको सूक्ष्म तस्बिर मनमस्तिष्कमा पहिल्यै कोरिसकेका छन्। 

पुराना शक्तिहरू अस्तित्वको संघर्षमा हुँदा र नयाँ शक्तिहरूको हुटहुटी बढिरहँदा प्रचण्ड भने आफ्नो ‘निर्णायक’ विरासत जोगाउने दाउमा छन्। एउटा परिपक्व खेलाडीले जस्तै मैदानको चारैतिर नजर राख्दै उनी आगामी राजनीतिको एउटा स्पष्ट चित्र कोर्ने तरखरमा देखिन्छन्। प्रस्तुत छ, संशय, सम्भावना र नयाँ पुस्ताको क्रेजका बीचमा फागुन २१ गते हुने निर्वाचनको मौन अवधी सुरु हुनुअघि सोमबार साँझ प्रचण्डसँग गरिएको यो चुनावी संवाद नेपालखबर ‘तत्कालै’:

फ्नो क्षेत्रका मतदाता भेटेर काठमाडौँ आउनुभएको रहेछ। अरु शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रमा अप्ठेरो अवस्थामा छन्। तपाईंको अवस्था चाहिँ ठ्याक्कै के छ रुकुम पूर्वमा?
म आफ्नो क्षेत्रमा सात–आठ दिन बसेँ, तर म त्यहाँबाट फर्केको पनि धेरै नै भइसक्यो, हप्ता दिनभन्दा बढी भइसक्यो। म त्यसपछि देशका विभिन्न क्षेत्रमा गएको छु। अस्ति मात्रै तपाईंहरूले सायद थाहा पाइसक्नुभयो— म रोल्पा, कपिलवस्तु, रूपन्देहीमा पनि पुगेँ। यतै काठमाडौँ भ्यालीभित्र पनि विभिन्न क्षेत्रमा गइराख्या छु।

आफ्नो क्षेत्रमा धाइराख्नुपर्ने स्थिति छैन?
मैले सुरुमा निर्वाचन क्षेत्रका सबै वडामा सकेसम्म पुग्ने कोसिस गरेँ, जनतासँग संवादको कोसिस पनि गरेँ। त्यसपछि देशैभरि पनि अलिकति लिड गर्नुपर्ने भएका हुनाले जनता र पार्टीकै सल्लाहमा उहाँहरूले ‘हामी छँदैछौँ’ भनेपछि उहाँहरूको भरोसामा देशैभरिको निर्वाचन परिचालनतिर केन्द्रित छु। 

मलाई त्यस्तो अप्ठेरो महसुस भएको छैन। मैले त रुकुम पूर्वका तीन वटै पालिका र सबै वडा करिब–करिब गइसकेपछि जनतामा जुन अपार उत्साह, मप्रतिको भरोसा र विश्वास देखेँ, अरु बेलाको भन्दा अझ सहज हुने रहेछ भन्ने पो लाग्या छ। मैले कुनै असहज महसुस गरेको छैन। कतिपय मानिसहरूले चुनाव जित्ने ठाउँ खोज्दै त्यहाँ गएको भन्या जस्तो गर्छन्, यो बिल्कुलै झुटो हो। यसो भन्ने मान्छेहरू देखेर मलाई दया पनि लाग्छ।

मलाई यहीँ नुवाकोट सबभन्दा सजिलो थियो नि। नुवाकोट–१ मा सर्वसम्मत रूपले मेरो नाम आएको थियो। त्यहाँ हाम्रो हितबहादुर तामाङजीले नै मलाई धेरै जोड दिएर आउनुस् भनिराख्नुभएको थियो। म चुनाव जित्न त यहीँ जित्थेँ नि! महोत्तरी–४ बाट पनि मलाई सर्वसम्मत प्रस्ताव आएको थियो, सिन्धुलीमा त्यस्तै थियो। म नै त्यस्तो एक जना नेता हुन पुगेँ, जहाँ गए पनि चुनाव जित्छु मैले।

रुकुम पूर्वमा घरदैलो गरेका भिडिओहरू हेर्दै गर्दा व्यक्तिगत रूपमा तपाईंलाई तनाव छैन जस्तो देखिन्छ। तपाईंलाई जनयुद्धको उद्गमस्थलमै फर्केर चुनाव लड्दै गर्दा कस्तो लागिरहेको छ?
हो, तनाव थिएन नै। मलाई त साँच्चै त्यहाँ प्रत्येक गाउँमा जाँदा जनताको उत्साह, उहाँहरूले गरेको स्वागत सबै हेर्दा म निर्वाचन अभियानमा आएको हो कि विजय अभियानमा भन्या जस्तो थियो। मलाई त विजय जुलुसमा आएको जस्तो महसुस पनि भयो। मलाई पटक्कै थकान र चिन्ता भन्ने जस्तो केही पनि भएन। म एकदम रिल्याक्स्ड मुडमा नै गएँ, उकालो–ओरालो पनि हिँडेँ तर सहज ढंगले नै हिँडेँ। जनताको अपार माया र उत्साह देखेपछि ऊर्जा त्यहीँबाट प्राप्त हुँदो रहेछ। 

रुकुम वा रोल्पा जिल्लाहरूलाई हामी हिजो जनयुद्ध कालमा केन्द्रीय आधार इलाका पनि भन्थ्यौँ। केन्द्रबिन्दु नै त्यसैलाई मान्थ्यौँ। त्यो मेरो कर्मथलो थियो। अहिलेदेखि होइन, झन्डै ४१ वर्षदेखि म रुकुम–रोल्पातिर घुमिराखेको हुन्थेँ पहिलेदेखि नै। युद्धको बेलामा त हेडक्वार्टर नै रोल्पा–रुकुममा थियो। त्यसो भएर त्यहाँका जनतासँग, त्यहाँका कार्यकर्तासँग, त्यहाँको भूगोलसँग म परिचित थिएँ पहिलेदेखि नै। त्यसकारण पनि मलाई कुनै असहज महसुस भएन।

चुनवाङमा एउटा ऐतिहासिक बैठक भएको थियो, जुन बैठकले नै नेपालमा शान्ति प्रक्रियाको ढोका खोलेको हो। म त्यहाँबाट सिधै सात राजनीतिक दलसँग वार्ता गर्न, गिरिजाबाबुसँग वार्ता गर्न गएको थिएँ। रुकुममा सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते परिवारलाई भेट्दा एउटा गर्व र जिम्मेवारीबोधको पनि महसुस मलाई भएको छ। र, अहिले क्रान्तिको केन्द्रबाट एकचोटि प्रत्यक्ष जनतासँग जोडिँदा त्यसबाट एउटा ऊर्जा देशैभरि जान्छ भन्ने मनसाय लिएर म त्यहाँ गएको हुँ।

शान्ति प्रक्रियामा आएपछि पाँचौँ पटक चुनाव लड्दै हुनुहुन्छ। यो निर्वाचन र यसअघिका निर्वाचनमा के फरक पाउनुहुन्छ?
धेरै फरक छ मेरो विचारमा। पहिलाका निर्वाचनहरू सबै स्वाभाविक गतिमा आएका र भएका निर्वाचन हुन्, ती प्राकृतिक खालका थिए। अब अहिलेको निर्वाचन अलि असहज परिस्थितिमा, असाधारण परिस्थितिमा बाध्यात्मक रूपले जानुपरेको निर्वाचन हो। पहिलाको कुनै पनि निर्वाचन नेपाली जनताले बाध्यतामा निर्वाचनमा जानुपरेको ठानेको होइन र राजनीतिक दलहरूले ठानेको पनि होइन। तर अहिले न जनताले ०८२ मा चुनाव हुनपर्छ भनेर भनेका थिए, न राजनीतिक दलले नै। 

यो निर्वाचन २३ र २४ भदौमा भएको विध्वंसको पृष्ठभूमिमा असहज राजनीतिक परिस्थितिमा आइलागेको निर्वाचन हो। तर फेरि पनि हामीले अन्ततः जनतामा जानु र निर्वाचनबाट निकास खोज्नु नै सही हो भनेर सबभन्दा पहिला सहजीकरण गर्ने पार्टी पनि हामी नै हौँ। म, माधव नेपाल लगायतका नेताहरूले नै राष्ट्रपति भवनमा गएर अन्तरिम सरकार र निर्वाचनतिर जानु नै उत्तम हो, अर्को कुनै विकल्प छैन भनेर भनेका हौँ।

तपाईं यसअघि देशव्यापी चुनावी अभियानमा हिँड्नु हुन्थ्यो, यसपालि धेरै देखिनु भएन। रेनु दाहालकै निर्वाचन क्षेत्र चितवनमा पनि तपाईं अहिलेसम्म पुग्नुभएको छैन। अन्य शीर्ष नेताहरू पनि त्यसरी हिँडेनन्। त्यसकारण बजारमा अनेक विश्लेषण भइरहेका छन्। यसपालि किन यस्तो भयो?
मैले भनेँ नि— यो निर्वाचन पहिला–पहिलाको जस्तो स्वाभाविक गतिको निर्वाचन होइन। यद्यपि मेरो विश्लेषण के छ भने यो निर्वाचनतिर जानुपर्छ र निर्वाचनको वातावरण बनाउनुपर्छ भन्ने पहिलो पार्टी र पहिलो नेताहरूमध्ये म पर्छु। २६ गतेपछि नै हामीले निर्वाचन नै हो भनिराख्यौँ।

दोस्रो, तपाईंले भनेको भन्दा मेरो फरक के छ भने पहिला देशव्यापी निर्वाचन अभियान चलाउने पार्टी हामी हौँ। सातै प्रदेशमा पार्टी एकता सन्देश सभा गरियो, तर त्यो थियो निर्वाचनको तयारी। धनगढी, लमही, जनकपुर र विराटनगरका सभाहरू विशाल थिए। जनकपुरमा त अहिलेसम्मकै ठूलो थियो। हामीले चुनावै हो, अब अर्को विकल्प छैन भनेर जनतालाई अपिल गरेका थियौँ।

अब चितवनको कुरा गर्दा, चितवनमा रेनु नै काफी छिन् भन्ने लाग्छ मलाई। रेनुले गरेको काम, जनताको उनीप्रतिको भरोसा र विश्वास नै काफी छ। त्यहाँ प्रचण्ड थपिएर झन् मानिसलाई दबाब होला भन्ने डर छ मलाई चाहिँ। त्यो दबाब दिन जरुरी छैन। र, राम्रै चुनावी अभियान चलिराखेकै छ त्यहाँनेर। तैपनि म जाँदैछु फेरि भोलि–पर्सितिर। यसो भेटघाट होला। त्यहीमाथि मैले चुनावमा भोट त चितवनबाटै हाल्नुछ, त्यसैले जान्छु नै।

एमाले अध्यक्ष केपी ओलीले नेपालखबरसँगको अन्तर्वार्तामै आवश्यक परेका केही क्षेत्रमा नेकपा र कांग्रेससँग पनि चुनावी तालमेल हुन सक्छ भन्नु भएको थियो। तपाईंले पनि कांग्रेस–एमालेसँग मिल्नुपर्ने आवश्यकताको कुरा गरिराख्नुभएको छ। केही क्षेत्रमा चाहिँ भित्रभित्रै तालमेल भइरहेको त हैन?
अहिलेको निर्वाचनमा हामीले सुरुदेखि नै कुनै दल विशेषसँग समीकरण नगर्ने, आफ्नै विचार, एजेन्डा र संगठनको शक्तिमा चुनाव लड्ने निर्णय केन्द्रीय समितिबाट नै गर्‍यौँ। त्यसकारण समीकरण गर्नेतिर हाम्रो यो पटक रुचि भएन। कोही–कोहीले भन्छन्—हुन्छ कि? केही ठाउँमा हुन्छ कि? तर, त्यो काल्पनिक कुरा हो। हाम्रो पार्टी अहिले कसैसँग तालमेल समीकरण गर्ने पक्षमा छैन— यो म एकदम प्रस्टसँग भन्दैछु। 

दोस्रो कुरा, किन पनि छैन भने हामीले केपी ओली र शेरबहादुरजीको सरकार बन्ने बेलामा नै त्यसपछि हुने दुर्घटनाको आकलन गरिसक्या थियौँ। किनभने त्यो अप्राकृतिक गठबन्धन गर्नुभो उहाँहरूले। मैले भ्रष्टाचारका विरुद्ध अभियान चलाउँदै गर्दा, सामाजिक विभेदका विरुद्ध आन्दोलन गर्दै गर्दा, उहाँहरूले भ्रष्टाचारको रक्षा गर्न जो गठबन्धन गर्नुभयो— मैले त अन्तिम विश्वासको मत लिँदा गम्भीर ढंगले राष्ट्रको नाममा, जनताको नाममा पार्लियामेन्टको रोस्ट्रमबाटै भनेको थिएँ— गलत भएको छ। पार्लियामेन्ट्री डेमोक्रेसीमा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बन्ने भनेको बेठीक कुरा हो। यसको परिणाम गलत हुन्छ भनेर मैले त्यतिबेलै भनेको थिएँ। 

नभन्दै त्यस्तै नै भयो। उहाँहरूले उल्टो उल्टो गर्दै हिँड्नुभयो, भ्रष्टाचारीलाई बचाउने कुरा गर्नुभयो, राम्रा कर्मचारीलाई कारबाही गर्नेतिर लाग्नुभयो। यस्तो बेलामा उहाँहरूसँग मिसिएर हामी फेरि जनतालाई यो भ्रम हुन दिन चाहन्नौँ कि हामी पनि त्यसका हिस्सेदार हौँ।

झापा ५ मा तपाईंले ओलीलाई भित्रभित्रै सहयोग गरिरहेको हल्ला पनि छ। भित्रभित्रै केही क्षेत्रमा एक अर्कालाई सहयोग गर्ने समझदारी बनेको हो? वास्तविकता के हो?
एमालेका केपी ओली र कांग्रेसका शेरबहादुर देउवासँग नि मेरो कुरा भएको हो। कहीँ न कहीँ हामी तालमेल गरौँ केही सिटमा भन्ने उहाँहरूको कुरा थियो, तर म चाहिँ अहिले त्यसो गर्नु उचित हुँदैन, त्यसले भ्रम नै पर्छ जनतालाई भनेर नमानेकै हो।

ओलीजीले झापा ५ मा मलाई सघाउनुस् भन्नुभएकै हो। मैले सम्भव छैन, अहिले हामीले नीतिगत रूपले नै कसैसँग नि नमिल्ने, हामी एक्लै लड्ने भनिसकेको र उम्मेदवार उठाइसकेको हुनाले हामी यो पटक त्यसो गर्न सक्दैनौँ भनेर मैले प्रस्टसँग त्यसलाई अस्वीकार गरेकै हो। 

रञ्जित तामाङ त्यहाँ एउटा नयाँ युवा र गतिशील नेता हुनुहुन्छ। बडो आत्मविश्वासको साथ उहाँ लाग्नुभएको छ। र, बेलाबेलामा ल छोड्छन् रे भन्दाखेरि उहाँलाई बडो नमिठो हुने गर्छ। मैले उहाँलाई भनेको छु— तपाईं ढुक्कसँग आफ्नो तयारी गर्नुस्, केही हुँदैन।

बरु एमालेसँग राष्ट्रिय सभाको चुनावमा मिल्ने सम्भावना थियो, तर केपीजी मान्नुभएन। हाम्रो मतभार अनुसार ४ सिट हामीले पाउने हुन्थ्यो, त्यो कुनै लेनदेनको कुरा थिएन। तर केपीजीले किन चाहियो तपाईंहरूलाई त्यत्रो छ, भने जस्तो गर्नुभो। उही पहिलाकै अहंकार, फेरि दम्भ देखिएपछि त्यो मिलेन। उहाँहरूको अझै पनि ठूलै हुँ, मै हुँ सबै भन्ने अहंकारले देश खरानी भयो।

चुनावी अभियान हेर्दा २०६४ मा माओवादीजस्तै यसपालि रास्वपाको पक्षमा लहर आएको देखिन्छ– नयाँ शक्ति छान्ने भन्दै। २०६४ मा प्रचण्डको जस्तो क्रेज थियो, यतिखेर सडकमा बालेन शाहको त्यस्तै क्रेज देखिन्छ। म आफैँ विर्तामोडमा सभा हुँदा प्रचण्डलाई हेर्न भनेर पुगेको अझै सम्झन्छु। तपाईं त्यो क्रेजलाई कसरी सम्झनु हुन्छ? यस्तो क्रेज पनि क्षणिक हुँदो रहेछ हैन?
अब क्रेज भनेको दुईथरी हुन्छ। एउटा निश्चित विचार, आन्दोलन र इतिहासको विरासतबाट बनेको क्रेज। एउटा चाहिँ बनाइएको क्रेज। विचार पनि निश्चित हुन नपर्ने, योजना, कार्यक्रम पनि हुन नपर्ने, अहिले आईटीको जमाना छ, सोसल मिडियामा अलि राम्रो स्टन्ट गर्दियो र कुनै शक्तिले राम्रो सहयोग गर्‍यो भने बन्ने क्रेज। यी दुइटै क्रेज एउटै होइनन्।

मेरो क्रेज तपाईंले भन्या जस्तै अभूतपूर्व नै थियो। मधेसी, जनजाति, दलित, महिला, थारु सबैमा उस्तै लेभलको क्रेज थियो। किनकि प्रचण्डले दलितको निम्ति लड्यो, महिलाको निम्ति लड्यो, उत्पीडितको लागि लड्यो भन्ने थियो। त्यो क्रेजको एउटा अर्थ थियो जुन कारणले अहिले पनि मानिसहरूले प्रचण्डलाई खोजिराखेको देख्छु। मानिसहरूले त प्रचण्डको क्रेज गयो भने जस्तो गरी प्रचार गर्छन्, तर म जहाँ–जहाँ गएको छु, जनताको हृदयमा चाहिँ प्रचण्ड नै खोजिराखेको देख्छु।

तर अहिले तपाईंले जसलाई नयाँ र क्रेज भन्नुभयो— म उस्तै देख्दिनँ। उहाँहरूको किसानको निम्ति के? दलितको निम्ति के? विकासको सम्पूर्ण मोडल के? उहाँहरूले गरेको काम के? हेर्‍यो भने त्यस्तो केही तात्विक रूपले फेला पर्दैन। तर क्रेज छ फेरि। यो सोसल मिडिया आधारित बढी देखिएको छ। आफूले गरेका कामको कारणले क्रेज बनेको जस्तो देखिँदैन। काम भन्ने हो भने त काठमाडौँ महानगरपालिकामा के काम भो र? केही त काम भएन, जनता त बडो हैरान भए। कामको आधारमा होइन, सोसल मिडियामा यसरी प्रचार भएको छ कि त्यहाँबाट क्रेज बन्या छ।

त्यसकारण प्रचण्डको क्रेज इतिहास, विचार र बलिदानका आधारमा बनेको हो र अहिले पनि कायम छ। म हेर्न चाहन्छु उहाँहरूको पनि भोलिसम्म रहिराखोस्। १५–२०–२५ वर्षसम्म कायम भएको हेर्न मन छ मलाई। क्षणिक नहोस्। हाम्रो रविजीको, बालेनजीको क्रेज रहिरहोस् र उहाँहरूले देशको लागि राम्रो गर्नुहोस्।

चार वटा दलहरूबीच प्रतिस्पर्धा भइरहँदा परिणाम कस्तो आउने आकलन गर्नु भएको छ? यसपालि तपाईंले भन्ने गरेजस्तो नेकपाको ‘म्याजिक नम्बर’ कस्तो होला?
पहिलो कुरा, अहिले हामीले पार्टी एकता गरेका छौँ, तारा चुनाव चिन्ह लिएका छौँ। यो पटक नेपाली कम्युनिस्ट पार्टीको चुनावी परिणाम राम्रो आउँछ भन्ने छ हाम्रो आकलन। आउनै पर्छ भन्ने छ। किनभने हामीले देश अप्ठ्यारोमा परेको बेलामा राष्ट्रिय एकताको शक्ति बनाउन जो पहल गर्‍यौँ र निर्वाचनतिर जानुको विकल्प छैन भनेर भनिरह्यौँ। त्यसकारण जनताले हाम्रो पार्टीलाई राम्रो न्याय पनि गर्छन् र ठूलो पार्टी बनाउँछन् भन्ने हाम्रो विश्वास छ।

अर्को कुरा, अहिले हाम्रो म्याजिकल होइन, निर्णय गर्ने गरी नम्बर आउँछ भन्ने छ। निर्णायक भूमिका खेल्ने गरी नम्बर आउँछ। अस्तिको पटक म्याजिक नम्बर हाम्रो ३२ थियो। ठूला पार्टीहरूले हामीलाई खोजी–खोजी आउँथे। फेरि मान्छेले मैले कहिले यता कहिले उता गर्‍यो भन्छन्– तर यथार्थ के हो भने म गएको होइन, ठुल्ठूला पार्टी आफै प्रधानमन्त्री भइदिनुपर्‍यो भन्दै आएका हुन्। नत्र ३२ सिट भएकाले मलाई प्रधानमन्त्री देऊ भन्न त मिल्दैनथ्यो नि। तर यो पटकको निर्वाचन परिणाम म्याजिक नम्बरमा होइन, निर्णायक नम्बरमा आउँछ। 

भन्नाले ३२ सिटभन्दा बढी आउँछ?
त्यो भन्दा त धेरै बढी नै आउँछ, डबलभन्दा नि बढी आउँछ भन्ने छ हाम्रो आकलन। हामीले निर्णायक भूमिका खेल्ने गरी नम्बर आउँछ भन्ने लाग्छ मलाई।

चुनावपछि कुनै दलको बहुमतको सरकार बन्न सक्ला? या कस्तो गठबन्धन सरकार बन्ला? 
बहुमत कसैको नि आउँदैन। हाम्रो निर्वाचन प्रणालीकै कारणले बहुमत आउने भनेको फलामको चिउरा जस्तो छ। हुने चाहिँ हङ पार्लियामेन्ट नै हो। चार वटा पक्षको बीचमा नै मुख्य प्रतिस्पर्धा हुँदैछ– हाम्रो पार्टी, कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी। यी चारमध्ये को पहिलो हुन्छ, को दोस्रो हुन्छ भनेर अहिले नै ठोकुवा गर्न हतारो हुन्छ।

रास्वपाले बालेन शाह, एमालेले केपी ओली र नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिँदा तपाईंको पार्टीबाट औपचारिक घोषणा भएन नि! भलै पछि सम्भव हुँदासम्म हुने तपाईं नै होला?
प्रधानमन्त्रीको उम्मेदवारको हकमा, हामीले सचेत रूपले नै नभनेको हो। अहिले देश यस्तो अप्ठ्यारो परेको बेलामा प्रधानमन्त्रीमा हतारो गरे जस्तो देखिनु परिपक्व राजनीतिको परिचय हुँदैन। जित्ने निश्चित भएकाले त हतार गर्नै पर्दैनथ्यो नि। संसद् भित्रबाट सांसदको संख्याले बनाउने हो प्रधानमन्त्री। जो–जो पार्टीले परिणाम के आउँछ भन्ने कुरा नटुङ्गिँदै हाम्रो फलानो प्रधानमन्त्री भनेका छन्, त्यो मेरो दृष्टिमा अपरिपक्व राजनीतिको प्रमाण हो।

गठबन्धनको सरकार बन्दा, हामी नेतृत्व लिने हतारोमा छैनौँ। देशले आवश्यकता ठान्यो र पार्लियामेन्टको गणितले हामीले जिम्मा लिनुपर्ने अवस्था आयो भने हाम्रो पार्टी पछि चाहिँ हट्दैन फेरि। हामी सबैसँग खुला छौँ। जोसँग गर्दा देशलाई सहज निकास र विकासतिर लैजान सजिलो लाग्छ, त्यसैसँग हामीले सहयोग लिने–दिने हुन सक्छ।

रास्वपाले बहुमत ल्याएन र बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आयो र तपाईंको नेकपासँग मिल्दा मात्रै गणित मिल्ने भयो भने— तपाईंहरू उहाँलाई प्रधानमन्त्री मान्न तयार हुनुहुन्छ?
त्यो चाहिँ अंकगणित कस्तो भएर आउँछ, त्यसअनुसार हुन्छ। अब जनताले त्यस्तै अभिमत दिए भने त्यसलाई हामी अस्वीकार गर्ने पक्षमा छैनौँ। जोसुकै भए पनि। मलाई त भन्नुहुन्छ भने उहाँहरूले नेतृत्व गरेको हेर्न मन छ।

धेरै संशयका बीच दुई दिनपछि चुनाव हुँदैछ। चुनाव शान्तिपूर्ण होला त?
शान्तिपूर्ण नै हुन्छ। अहिले हाम्रो सुरक्षा निकाय, निर्वाचन आयोग, पार्टीहरू जुन गम्भीरताको साथ लागेका छन्, त्यसले निर्वाचन शान्तिपूर्ण हुन्छ भन्ने देखाउँछ। हामी सबैले अहिले राष्ट्र पहिलो भनेर सोच्न जरुरी छ।

कतिपय नेताहरूको अभिव्यक्ति सुन्दा भोलि हार भएको अवस्थामा धाँधली भएको भनेर परिणामलाई अस्वीकार गर्ने अवस्था पनि देखिँदैछ नि?
निर्वाचनमा सहभागी भइसकेपछि जस्तोसुकै परिणाम पनि स्वीकार्नुपर्छ। भोलि हारियो भने धाँधली भयो भनेर निहुँ खोज्ने नैतिक अधिकार हुँदैन। हामी त जस्तोसुकै परिणाम पनि स्वीकार्न तयार भएरै शान्ति सम्झौता र निर्वाचन प्रक्रियामा सहभागी भएको हो त्यसबेला पनि। स्वीकार्नै पर्छ। तर एउटा कुरा– गडबड चाहिँ हुन नपाओस् भन्नेमा सतर्कता हुनुपर्छ। जनताले नै देख्ने–बुझ्ने गरी घोटाला भयो भने त जनता सडकमा उत्रिन्छन् नै। तर चुनावमा भाग लिइसकेपछि परिणाम मान्दिनँ भन्न चाहिँ पाइँदैन।

यही संविधान र समावेशी लोकतन्त्र अन्तर्गत निर्वाचनमा जोसुकै आए पनि हामीलाई कुनै तनाव हुँदैन। यही संविधान अन्तर्गत कुनै शक्ति आउँछ भने त त्यो राम्रै कुरा हो नि। म चाहिँ बिल्कुलै चिन्तित छैन, जस्तोसुकै आओस्।

भिडिओ :

फोटो/भिडिओ : विशाल कार्की
 

फागुन १८, २०८२ सोमबार २२:५२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad