अन्तर्वार्ता


देउवाले कांग्रेसलाई जिताउन लाग्नु भन्नुभयो तर प्रचारमा जाने/नजाने नेतृत्वमा भर पर्छ : मुख्यमन्त्री शाह (अन्तर्वार्ता)

‘गगनहरूको मिडियामा एउटा कुरा, व्यवहारमा अर्कै कुरा छ’
देउवाले कांग्रेसलाई जिताउन लाग्नु भन्नुभयो तर प्रचारमा जाने/नजाने नेतृत्वमा भर पर्छ : मुख्यमन्त्री शाह (अन्तर्वार्ता)

कांग्रेस नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह


लोकेन्द्र भट्ट
माघ २९, २०८२ बिहिबार १८:३३, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई पार्टीका उम्मेदवार जिताउन निर्देशन दिएको बताएका छन्। 

कांग्रेस नेता समेत रहेका मुख्यमन्त्री शाहले देउवाबाट शान्तिपूर्ण निर्वाचन गराउन र कांग्रेस जिताउन निर्देशन आएको बताए। उनका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रतिनिधिसभा विघटनपछि प्रतिनिधिसभा निर्वाचनको वातावरण आफ्नो पहलमा बनेको देउवाले बताएको शाहले सुनाए।

बुधबार महाराजगन्ज पुगेर देउवालाई भेटका मुख्यमन्त्री शाहसँग कांग्रेसको चुनावी अभियान, सुदूरपश्चिम सरकारको राजीनामा मागबारे नेपालखबरले गरेको कुराकानी :

तपाईंले बुधबार निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्नु भएको रहेछ। के–के विषयमा कुराकानी भयो?
आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा उहाँको गम्भीर चासो थियो। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट समन्वयमा कुनै कमी नहोस् भन्नुभयो। प्रदेशले पनि समन्वय गर्नुपर्छ भन्नुभयो। 

सुरुदेखि नै निर्वाचनको वातावरण पनि मैले नै बनाउने पहल गरेको हुँ, निर्वाचनमा नजाने कुरा पनि उठेको थियो भन्नुएको थियो। निर्वाचनको वातावरण बनाउने कुरा मेरो पहलमा भएको हो भाइ, यो निर्वाचन शान्तिपूर्ण ढंगले होस् भन्ने चाहेको छु भनेर उहाँले भन्नुभएको थियो। 

कांग्रेसको बारेमा केही कुराकानी भएन?
त्यसमा पनि उहाँले खुलेर कुरा गर्नु भएको छ। कांग्रेस उम्मेदवारले रुख चिन्ह लिएर निर्वाचनमा गइसकेपछि हामीले नेपाली कांग्रेसको रुख चिन्हलाई जिताउन लाग्नुपर्छ। कांग्रेसलाई जिताउनुपर्छ। नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउने कुरामा महत्वपूर्ण भूमिका खेल्न भन्नुभयो।

फागुन २१ को निर्वाचन अभियानका लागि कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा सुदूरपश्चिम जाने योजना छ कि छैन? के भन्नु भयो?
निर्वाचनको प्रचारका लागि सुदूरपश्चिम जाने कुरा अहिलेसम्म तय भएको छैन। छलफलमै छु म भन्नुभयो।

तपाईंले चुनावी प्रचारमा सुदूरपश्चिम पुगिदिन जोड गर्नुभएन?
निर्वाचनको प्रचारप्रसारमा जाने विषयमा कुरा भयो। त्यसमा अहिलेसम्म तय भएको छैन भनेर उहाँले सुनाउनुभएपछि मैले धेरै कुरा राखिनँ। उहाँ प्रचारप्रसारमा जाने कुरामा कांग्रेसको वर्तमान केन्द्रीय समितिले वातावरण बनाउनुपर्ने पनि त होला नि। फेरि शेरबहादुर देउवा प्रचारमा आएर बिगारिदियो भन्लान्। यहाँ बदलियो कांग्रेस भन्छन् नि त। हामीले कांग्रेस बदल्यौँ भन्ने कुराको आशय के हो भन्ने पनि त छ। यो कुरा मैले उहाँसँग त गरिनँ। यो मेरो आफ्नो कुरा हो। तर, उहाँले आफ्नो अस्थायी निवास महाराजगन्ज आउने सबैलाई नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्नू भनिराखेको छु भन्नुभएको छ।

कांग्रेस सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग नियमित संवादमै रहेको बताउनु भएको छ। यता कांग्रेस प्रवक्ता देवराज चालिसेले पनि शेरबहादुर देउवालाई चुनावी अभियानमा जोड्ने प्रयास भइराखेको बताउनु भएको थियो। भेटवार्तामा त्यस्तो केही पाउनु भयो?
मिडियामा एक किसिमका कुरा गर्छन्। व्यवहारमा त्यस्तो देखिएको छैन। शेरबहादुर दाइलाई भेटेर निर्वाचनमा पार्टीलाई कसरी जिताउने र पार्टी संगठनका भोलिका दिनका कुराहरूमा छलफल भएको देखिँदैन। टिकट दिनेले दिए, लिनेले लिए, नलिनेले लिएन। जित्नेले जित्छन्, हार्नेले हार्छन्। निर्वाचनको त्यो च्याप्टर सकियो। 

तर, निर्वाचनको माहोल नेपाली कांग्रेसको पक्षमा बनाउनका लागि र निर्वाचनपछिको कांग्रेस कसरी अगाडि बढ्छ भन्ने नेताहरू बसेर छलफल गर्नुपर्ने हो। अहिले निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको हुनाले यसको पहल उहाँहरूबाट हुनुपर्‍यो नि त।

निवर्तमान सभापति शेरबहादुर देउवा सुदूरपश्चिम नजाँदा कांग्रेसको चुनावी परिणाममा असर पर्ला नि?
पक्कै पनि असर त पर्छ। त्यो मिलाउने कुरा वर्तमान नेतृत्वको हो। हेरौँ, कसरी मिलाउनुहुन्छ।

शेरबहादुर देउवा मैदानमा गएर मत माग्ने परिस्थिति नभए पनि सामाजिक सञ्जालबाट सार्वजनिक अपिल जारी गर्ने अवस्था छ कि छैन? के पाउनुभयो?
त्यस बारेमा मेरो कुरा भएन। तर, यो सबै कुरा वर्तमान नेतृत्वमै भूमिकामा भर पर्छ होला।

पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विगतमा आफू चुनाव लडेको कैलाली–५ को चुनावी अभियानमा जोडिनु हुन्छ कि हुन्न? 
पहिला शेरबहादुर दाइको कुरा हो। शेरबहादुर दाइ नै नजाने भए त म्याडम त के जानु होला र? त्यसै पनि म्याडमका बारेमा नानाथरी कुरा गरिदिएका छन्। मैले जे कुरा भन्दैछु नि, त्यो सबै पार्टीको आधिकारिकता पाएकाहरूको भूमिकामा भर पर्छ। उनीहरूले वातावरण निर्माण गर्ने कुरा हो। कांग्रेसको पक्षमा माहोल बनाउन आफ्नो तर्फबाट हुने प्रयास र प्रयत्न आफू कहाँ आएका मान्छेलाई भनेर गरिराख्नु भएको छ।

हिजो पनि निर्देशन गर्नुभयो। सिंगो पार्टी एक ठाउँमा उभ्याएर लैजाने कुरा त आधिकारिता पाएकाहरूले गर्ने हो। खाली मिडियामा कुराकानी भइरहेको छ भनेर मिडियाबाजी गरेर भ्रम मात्रै सिर्जना गरेर त भएन नि।

कांग्रेसबाट सुदूरपश्चिम सरकारको नेतृत्व गरिराख्नु भएको छ। फागुन २१ को निर्वाचनमा कांग्रेसका उम्मेदवार जिताउन तपाईंले चाहिँ कसरी भूमिका खेलिराख्नु भएको छ?
नेपाली कांग्रेसका सबै उम्मेदवारसँग फोनमा कुराकानी भइराखेको छ। सबै ठाउँमा म स्वास्थ्य अवस्थाका कारण पुग्न सक्ने अवस्थामा छैन। पार्टीका उम्मेदवार र जिम्मेवार साथीहरूसँग निरन्तर संवाद भइराखेको छ।

२०७९ को निर्वाचनमा तत्कालीन माओवादी र एकीकृत समाजवादीसहित गठबन्धनबाट ९ ठाउँमा उम्मेदवारी दिएको कांग्रेस ८ ठाउँमा विजयी भएको थियो। यसपटक १६ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिँदा सुदूरपश्चिममा कांग्रेसको अवस्था कस्तो हुने देख्नु भएको छ?
अहिले आकलन गर्न सक्ने अवस्था छैन। तर, कांग्रेसको राम्रो सिट आउँछ भन्ने छ। २०७९ को निर्वाचनमा हामी दुई दलसँग मिलेर चुनाव लडेका थियौँ। अहिले हामी एक्लाएक्लै लडिरहेका छौँ। सिंगल लड्दा पनि कांग्रेस अरुभन्दा कमजोर होइन र छैन पनि।

नेपाली कांग्रेस बलियो नै छ। हामीले न्युट्रल मत तान्न सक्दा राम्रो परिणाम ल्याउँछौँ। त्यसका लागि सबै प्रयत्न र पहल भइराखेको छ। 

नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम संसदीय दलले १२ बुँदे आरोप सार्वजनिक गर्दै तपाईंको राजीनामा मागेको छ। यसमा के भन्नुहुन्छ?
प्रतिपक्षले सरकारलाई रचनात्मक सुझाव र सल्लाह दिने कुरालाई अन्यथा लिनुहुँदैन। तर, अहिले निर्वाचनको बेलामा कुरा उठाउनु असान्दर्भिक देखिन्छ। अस्तिसम्म हाउस चलिरहँदा केही कुरा नउठाउने। सरकारले पठाएका कतिपय विधेयक सदनमा ठेबुल हुन सकेको छैन। एक वर्षसम्म पनि टेबुल भएको छैन। छलफल पनि भएको छैन। सदनमा यी विषयवस्तु कतै नउठाउने। तर, सारा देश निर्वाचनमा होमिएका बेला यी विषय उठाउँदा कत्तिको सान्दर्भिक हुन्छ भन्ने उहाँहरूले बुझ्नुपर्ने कुरा हो। यद्यपि उहाँहरूले दिएका सल्लाह, सुझाव र राम्रा कुरा स्वीकार्य छ। म सधैँभरि खुला नै छु।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad