राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झा पहिलो पटक प्रत्यक्ष चुनावमा उठेका छन्। २०७९ को निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद रहेका उनी अहिले मधेस प्रदेशको राजधानी धनुषा–३ बाट उम्मेदवार छन्।
विगतमा नेपाली कांग्रेसमा छँदा निर्वाचनमा कांग्रेस उम्मेदवारको चुनावी रणनीतिकारका रूपमा काम गर्ने झा अहिले कांग्रेस उम्मेदवारविरुद्ध खडा भएका हुन्। धनुषा ३ मा कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि, एमाले नेतृ जुली महतोसँग झाको मुख्य प्रतिस्पर्धा देखिन्छ। नेपालखबर इलेक्सन एक्सप्रेस टिमले झासँग जनकपुरमा गरेको संवाद :
२०८४ मा हुनुपर्ने चुनाव ०८२ फागुनमै हुने भयो। एक जना निवर्तमान सांसदका रूपमा यो चुनावलाई कसरी लिनु भएको छ?
जेनजी विद्रोहको परिवर्तनको मागले गर्दा ०८२ मै परिवर्तनको आधारहरू बने। हामी मानसिक रूपमा ०८४ को लागि तयार हुँदै थियौँ। ०८२ मै निर्वाचन हुँदा केही व्यवस्थापकीय कुरा चुनौतीपूर्ण छ। तथापि, हामीले यसलाई एउटा उत्साहजनक अवस्थाको रूपमा लिएको छौँ। निर्वाचनले दिने परिणामले नेपालीको दैनिकीमा प्रभाव पार्न थाल्छ, त्यसपछि मात्र उत्साह हुनेछ।
त्यसैले अहिले सोचेको भन्दा छिटै हुन थालेको निर्वाचनमा सबै पार्टीहरू बिस्तारैबिस्तारै जोडिँदै गएको अवस्था छ। त्यो राजनीतिक अवस्था भनौँ। हामीलाई व्यवस्थापकीय चुनौती भए तापनि दिइराखेको सकारात्मकताको संकेतले हामीले काम गर्न पाउने अवसर सिर्जना हुँदैछ।

तपाईं राजनीति गर्ने मात्र नभई, यसलाई नजिकबाट विश्लेषण गर्ने मान्छे हो। संसदीय निर्वाचनमा पहिलो पटक प्रमुख दलहरू नै प्रधानमन्त्रीको उम्मेदवार तय गरेर चुनावी मैदानमा आएका छन्। यो अभ्यास कस्तो हो?
मानसिक, व्यक्तिगत, अध्ययन सबै हिसाबले मन्त्रालय चलाउन तयार भएर चुनावमा होमिँदा राम्रो हुन्छ। प्रधानमन्त्री उम्मेदवारको रूपमा मैले देश चिन्नुपर्छ। मैले परिवेश बुझ्नुपर्छ, मसँग सबै कुराको मानसिक रूपमा, समूहगत रूपमा, व्यवस्थापकीय रूपमा तयारी हुनुपर्छ भन्ने कुरा बुझेदेखि त्यही किसिमले आफ्नो निर्वाचन अभियानमा होमिन्छ।
किनभने सूचना र दृष्टिकोण फरक कुरा हो। सूचना तपाईंले आफ्नो डिभाइसबाट पाउन सक्नुहुन्छ, तर दृष्टिकोण पाउनको लागि समाजमा जानै पर्छ। जसरी अहिले हामीले ‘अब की बार, बालेन सरकार’ भनिरहेको छौँ। बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रस्तावित प्रधानमन्त्री हुनुहुन्छ। उहाँ जसरी पूर्व, पश्चिम सबै ठाउँ पुग्ने प्रयास गरिरहनु भएको छ।
माघ ५ गते हामीले जनकपुरमा सभा गर्यौँ। परिवर्तनको उद्घोष सभा भनेर गयौँ। त्यसपश्चात उहाँ उम्मेदवारीको लागि आफ्नो निर्वाचन क्षेत्र जानुभयो। पाथिभरा जानुभयो, अब सुदूरपश्चिमतिर पुग्नुभयो। यो कुराहरूले एउटा प्रधानमन्त्रीको व्यक्तित्व निर्माण पनि गर्दै छ। तर त्यो निर्माण हुने प्रक्रियामा कसैले किन मेहनत गर्दैछ भने उसलाई थाहा छ– उम्मेदवार हो प्रधानमन्त्रीको।
पहिला त्यसरी हुँदैन थियो। हामीले बाहिर अरु देशमा पनि देख्छौँ नि, पहिले थाहा हुन्छ– कसको नेतृत्वमा जाने भनेर। भारतमै सन् २०१४ तिरको निर्वाचनपछि परिवर्तन भयो। प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिन थाल्यो। त्यो कुराले राजनीतिलाई तुलनात्मक रूपमा स्थिरता दियो। त्यो कुरा राम्रो हो।
रास्वपाले प्रधानमन्त्री मात्रै होइन, मन्त्री पनि कसलाई बनाउने भनेर तयारी गरेको देखिन्छ। केही नाम सार्वजनिक भइसक्यो। तपाईं कुन मन्त्रालय सम्हाल्दै हुनुहुन्छ? पार्टीले केही भनेको छ?
भनेको छ। तर, त्यसबारे म अहिले सार्वजनिक रूपमा चर्चा गर्न चाहदिनँ। त्यो आवश्यक छैन। तपाईं लिग खेल्दै गर्दा लिग खेल्ने हो। फाइनलको परिकल्पना गर्ने होइन। अब फाइनल जितिसकेपछिको ट्रफी कतातिर कुन रुटबाट लाने भन्ने कुरा गर्ने होइन। मेरो अहिलेको चुनौती भनेको यो म्याच जित्ने हो। अहिलेको म्याच जितेपछि त्यता जाने हो।
त्यसैले कुन मन्त्रालय म पाउँछु, त्यो अस्तित्वमा छ। तर, कुन मन्त्रालय, के भन्ने कुराहरू त्यो अहिले महत्त्वपूर्ण विषय होइन। अहिलेको महत्त्वपूर्ण विषय भनेको परिवर्तनको एजेन्डासहित हामी जुन निर्वाचनमा होमिएका छौँ, यो निर्वाचन जित्ने हो।
भिडिओ :
स्थापित पार्टीका शीर्ष नेताहरूसँगै चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। कत्तिको चुनौती महसुस गरिराख्नु भएको छ?
मेरो प्रतिस्पर्धा यहाँ स्थापित दलका नेताहरूसँग होइन। मेरो प्रतिस्पर्धा उहाँहरूले गर्नु भएको भ्रष्टाचारको अभ्याससँग हो। उहाँहरूले गर्नुभएको अनावश्यक दलीयकरणको विरुद्ध हो। सुशासन जुन अभ्यासमा आइराखेको छैन, त्यसको विरुद्ध हो। सार्वजनिक सेवा प्रभावमा जुन कमजोरी छ, त्यसको विरुद्ध हो। त्यो अभ्यासमा संलग्न उहाँहरू हुनुहुन्छ भने त्यो देशको लागि, समाजको लागि, दलको लागि र उम्मेदवारको लागि दुर्भाग्य हो। मेरो प्रतिस्पर्धा मेरा प्रतिद्वन्द्वीहरूको त्यो प्रवृत्तिसँग हो। कुनै व्यक्ति होइन, कुनै दल होइन।
त्यसैले म कोही व्यक्तिसँग पनि कुनै किसिमको तुलना गरिराखेको छैन। उहाँहरूले के गर्नुहुन्छ, कस्तो चुनावी अभियान चाल्दै हुनुहुन्छ, के बोल्नुहुन्छ, त्यो कुरामा पनि मैले खासै ध्यान दिएकै छैन। मलाई आफ्नो निर्वाचन अभियान कसरी चलाउने भन्ने थाहा छ। त्यसको लागि मेरो टिम, मेरो पार्टीको सदस्य सबैसँग छलफल र सहकार्यबाट हामी एउटा रणनीति बनाउछौँं, फिडब्याक लिन्छौँ र निर्णय अगाडि बढाउछौँ।
म मोटरसाइकलमा हिँड्छु। यहाँ मलाई कसैले केही गर्ला भन्ने डर पनि लाग्दैन। किनकि यो जनकपुर हाम्रो जनकपुर हो। यहाँका सबै मतदाताले जुनसुकै पार्टीलाई भोट दिए पनि हाम्रा दाजुभाइहरू हुन्। राजनीतिक आस्था फरकफरक हुन सक्छ। त्यसैले म कुनै किसिमको प्रतिस्पर्धामा छैन। मेरो प्रतिस्पर्धा मेरो प्रतिद्वन्द्वी भनेको बेथिति हो, भ्रष्टाचार हो।
मतदाताको घरदैलोमा जाँदा उनीहरूको आकांक्षा के पाउनुहुन्छ?
उहाँहरू परिवर्तनको लागि तयार देखिनुहुन्छ। त्यो एउटा उत्साहजनक अवस्था छ। तर, अलिअलि सजग, अलि सशंकित हुनुलाई समाजमा स्वाभाविक रूपमा लिनुपर्छ। किनकि परिवर्तन ०६२–६३ को आन्दोलनपछि ०४६–४७ को आन्दोलन, मधेस आन्दोलनपछि परिवर्तनको नाराले राजनीतिमा लहर आएको पनि हो। यसपालिको लहर पहिलो पटक हो, ऐतिहासिक भन्ने सोच्नु हुँदैन। विगतमा पनि नेपाली मतदाताहरूले विभिन्न राजनीतिक सम्भावनाहरूमा विश्वास गरेर मतदान गर्नुभएकै हो। एउटा लहर आएकै हो। तर, त्यो बेलामा के कुरा गल्ती भयो, कमजोरी के भयो सोच्नुपर्छ।
असफल व्यक्तिको असफलताको कारण अध्ययन गर्नु नै सफलताको पहिलो खुड्किलो हो भनिन्छ। नयाँ नेपालको नारा किन सार्थक रूपमा अभ्यास गरिएन? यो कुराहरूको कारण बुझ्नु महत्त्वपूर्ण छ। यो कारण बुझेर अनि त्यो गल्तीहरू नदोहोर्याउने प्रतिबद्धता र चरित्र आवश्यक छ। त्यसैले मान्छेमा एउटा संशयको संकेत देखिन्छ। त्यो कुराले हामीलाई थप जिम्मेवार बनाउँछ– त्यो गल्ती हामी गर्न चाहँदैनौँ।
अहिले रास्वपाको मधेस कमान्ड नै तपाईंले सम्हालिराख्नु भएको छ। यहाँको ३२ वटा निर्वाचन क्षेत्रमा रास्वपाको उपस्थिति कस्तो रहला?
२०७९ मंसिर ४ गतेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको चार महिना २७ दिन मात्र भएको थियो। त्यो ४ महिना २७ दिनको पार्टीले मधेस प्रदेशमा लगभग ७२ हजार समानुपातिक भोट लिएर आएको थियो। प्रत्यक्षमा एउटा पनि जितेन भने एउटा पनि निकटतम प्रतिद्वन्द्वी कतै पनि हुन सकेन। तर, यो बीचमा पुरानो दल, प्रादेशिक स्तरमा रहेका दल, केन्द्रीय स्तरमा रहेका दलहरूबाट भएको अभ्यासबाट निराश जनताले अबको विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी हो भनिराख्नु भएको छ।
अहिले स्वीकार्यता कस्तो छ भन्ने कुरा अब की बार, बालेन सरकार भनेर सबै ठाउँ देखिन्छ। चुपचाप घन्टी छाप भनेर सबैले बोल्नु हुन्छ। यो कुराले देखाउँछ– राजनीतिक रूपमा अब राष्ट्रिय स्वतन्त्र पार्टी मधेसमा स्थापित भइसक्यो। होलीको अवसरमा धेरै जना होली खेल्न आउने र एकअर्कासँग होली मनाउनुका साथसाथै देशको अहिलेको रङ पनि परिवर्तन गर्ने उद्देश्यले धेरै जना देश फर्किंदै हुनुहुन्छ। त्यसमा हामीले अलि थप सक्रियता अपेक्षा गर्न थालेका छौँ। त्यसका केही संकेत देखिन थालिसकेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी अहिले मधेसमा धेरै नै ठूलो भइसकेको छ। अर्को, स्वीकार्यता धेरै नै बढिसकेको छ। आगामी निर्वाचनलाई एउटा अभियानको रूपमा विदेशमा रहेका व्यक्तिहरू नेपाल फर्किएर सफल बनाउने अभियानमा लाग्नु भएको छ। सम्भवतः अब यो देशमा मात्र होइन कि मधेस प्रदेशमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो पार्टी हुँदैछ।

मधेस संघीयता लागि बलिदान दिएको भूमि हो। प्रदेशप्रतिको रास्वपाको स्पष्टता नहुँदा समस्या हुने कतिपयको आकलन छ। तपाईंहरूको कुरा पनि प्रस्ट छैन, विरोधाभासी सुनिन्छ। यो विरोधाभास बोकेर कसरी पहिलो पार्टी बन्ला?
राष्ट्रिय स्वतन्त्र पार्टीले कस्तो राजनीतिक अवधारणा राख्छ भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले बोल्ने हो। त्यसको बारेमा अरु पार्टीका असफल नेताहरूले व्याख्या गर्दिने होइन। म मधेसका नागरिकलाई पनि के अनुरोध गर्न चाहन्छु भने विगतमा उहाँहरूले तपाईंहरूसँग धेरै झुटो बोलेर राजनीति गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयताको बारेमा, धर्मको बारेमा, अर्थतन्त्रको बारेमा, निजी क्षेत्रको बारेमा के सोच्छ भन्ने कुरा हामीलाई सोधिदिनुस्। हाम्रो कुरा पत्याइदिनुस्। विगतमा जस्तै उहाँहरूले यो विषयहरूमा पनि झुटो बोल्दै हुनुहुन्छ।
जस्तै, संघीयताको बारेमा हामी सुधारिएको संघीयता चाहन्छौँ भन्नुको अर्थ हो– हामी संघीयता चाहन्छौँ। तर अहिले जसरी अभ्यास भइराखेको छ, त्यसले हामीलाई कहीँ पनि पुर्याउँदैन। मन्त्रीको संख्या सात जनाभन्दा धेरै हुनु हुँदैन प्रदेशमा। प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्छ। बालेनले जनकपुरमा माघ ५ गते बोल्दा पनि भन्नुभयो कि अधिकार अब जनकपुरमै पाइने छ। अधिकारको लागि तपाईं काठमाडौँ जानु पर्दैन। यसको मतलब हो, संघीयता चाहन्छौँ। तर, यसलाई सुधार गर्न चाहन्छौँ। अहिलेको जस्तो भट्टी संघीयता होइन। मध्यरातमा मलाई सन्चो छैन भनेर एकजना जिम्मेवार व्यक्ति हिँड्नुहुन्छ। आफ्नो कार्यालयबाट बर्दिबासको डाँडामा कुनै रेस्टुरेन्टमा वा रिसोर्टमा मुख्यमन्त्रीको शपथग्रहण गराउनुहुन्छ। त्यो संघीयता त चाहँदैनौँ।
पदको सम्मान र आस्था राख्ने संघीयता हामी चाहन्छौँ। आगामी निर्वाचनमा प्रादेशिक तहमा पनि हामी संलग्न हुनेछौँ र स्थानीय तहमा पनि हामी संलग्न हुनेछौ। त्यसैले गर्दा त्यसमा पनि कुनै किसिमको संशय नरहोस्। कुनै शंका नरहोस्। हामी तीनै वटा तहमा निर्वाचनमा सहभागी हुनेछौँ। संविधानमा लेखिएकै संघीयता अनुसार हुनेछ। यसको अभ्यासमा केही सुधार गर्नु पर्ने छ।
मधेसमा रास्वपाको भन्दा बालेनको ब्रान्ड तल्लो तहसम्म पुगेको देखिन्छ। तर, तपाईंहरूले बालेनलाई चुनाव लड्न झापा पठाइदिनुभयो। बालेनले मधेसबाटै चुनाव लड्ने परिस्थिति रास्वपाले किन खडा गरेन?
मैले कुमार बेनजीसँग कुरा गरेँ। अरु साथीहरूसँग पनि, बालेनजीलाई पनि प्रस्ताव राख्यौँ कि मधेसी मूलको पहिलो प्रधानमन्त्री मधेसको राजधानीबाट जित्दै बढी सुहाउँछ पनि। त्यसैले तपाईं धनुषा ३ बाट उठ्नुस्। म महोत्तरीको कुनै निर्वाचन क्षेत्र जान तयार छु भनेर मैले भनेको थिएँ। महोत्तरी १ को टिकट धेरै ढिलोसम्म होल्ड गरेर राखिएको थियो– बालेनजीले धनुषा ३ स्वीकार्नु भयो भने महोत्तरी १ जान्छु भनेर। त्यसैले हाम्रो प्रस्ताव उहाँलाई यहीँ आउनुस्, यहीँ उठ्नुस्, यहीँबाट जित्नुस् भन्ने थियो।
पहिलो पटक मधेसको छोरा देशको प्रधानमन्त्री हुँदा मधेसको राजधानीबाट जितेको राम्रो सुनिन्छ भनेका थियौँ। तर, उहाँको आफ्नो व्यक्तिगत, राजनीतिक योजना देखियो। उहाँ धेरै लामो समयदेखि तयारी गरेर बस्ने मान्छे हुनुहुँदो रहेछ। गत स्थानीय तहको २०७९ साल वैशाख १० गते भएको निर्वाचनमा पनि उहाँले काठमाडौँको मेयर उठ्छु भनेर एक वर्षअगाडि फेसबुकमा लेख्नुभएको थियो। यसपालि भोट दिन्नँ, आगामी वर्ष आफैँलाई दिन्छु भनेर।
त्यस्तै, झापाका लागि पनि तीन वर्षदेखि तयारी गर्नु भएको रहेछ। चेन्ज गर्नको लागि च्यालेन्ज गर्नुपर्छ भन्ने उहाँको धारणा छ। त्यसैले उहाँ झापा ५ मा च्यालेन्ज गर्न नै जानुभएको हो। उहाँ च्यालेन्जमा सफल हुनुहुन्छ भन्ने हाम्रो कामना छ। हाम्रो विश्वास छ। म तपाईंको प्रश्नतर्फ फर्किएर भन्छु, उहाँलाई हामीले पठाएको होइन, हामीले रोक्न नसकेको हो।

कांग्रेसको सभापति गगन थापा यो पटक चुनाव लड्न मधेस झर्नु भएको छ। मधेसी मूलका उम्मेदवार झापा जाने र काठमाडौँबाट चुनाव जित्दै आइरहेका कांग्रेसको सभापति मधेस झर्दा कस्तो लाग्दैछ?
नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट नयाँ सभापति आउनुभएको कुरालाई मैले सकारात्मक रूपमा लिएको छु। किनभने हिजोसम्मको राजनीतिक पलेँटीमा देउवा, ओली, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव हुनुहुन्थ्यो। अबको राजनीतिक पलेँटीमा बालेन, रवि, कुलमान, गगन थापा, विश्वप्रकाश आउनुभएको छ। त्यसैले उहाँको विद्रोह र जेनजी विद्रोहले देशको राजनीतिक नेतृत्व ७०–७५ हाराहारीबाट एकैचोटि ४०–५० मा झार्दियो। त्यो त उपलब्धि हो नि। त्यसैले यसलाई उपलब्धिको रूपमा लिऊँ। हिजोसम्म उखानटुक्कासँग हामीले प्रतिस्पर्धा गरिरहेको थियौँ, अब रणनीतिक योजनासँग प्रतिस्पर्धा गर्न हामीलाई पनि सहज हुने भयो। त्यसैले यसले को जित्छ, को हार्छ भन्दा पनि यो अभ्यासले देशलाई चाहिँ जिताउँछ।
तपाईंले पनि उखान टुक्का भनेर व्यंग्य गर्नुभयो। यो चुनावमा एमाले र रास्वपाका नेताहरू आरोप–प्रत्यारोपमा बेसी देखिन्छन्। एमाले र रास्वपा एक अर्काप्रति सशंकित र आक्रोशित हुनुको पछाडिको खास कारण के हो?
अब उहाँहरू पहिलादेखि नै नबोलीकन बस्नै नसक्नेहरू हुनुहुन्छ। राजनीतिमा जहिले पनि तपाईंले हरेक दलको नेतालाई प्रतिद्वन्द्वीको रूपमा हेर्नु हुँदैन। उहाँहरू दलको र देशको नेता पनि हो। महेश बस्नेतले कुनै कुरा तुच्छ बोल्नुहुन्छ भने मैले त्यसमा काखी पड्काउने, एमालेको नेताले गलत बोल्यो अब यसको मतमा मलाई फाइदा हुन्छ भन्ठान्ने होइन। एउटा नेपाली राजनीतिज्ञले गलत अभिव्यक्ति दियो भनेर चिन्तित हुने हो म।
एउटा चारचोटि प्रधानमन्त्री भइसकेका व्यक्तिले मेरो जिल्ला राम्रो, तेरो जिल्ला फोहोर भन्नुहुन्छ। उहाँ चारचोटि प्रधानमन्त्री भएर के गर्नुभएछ भन्ने कुरा त उहाँले आफै व्याख्या गर्दै हुनुहुन्छ नि। मैले दमकबाहेक केही पनि बनाइँन भनेर उहाँले आफै स्पष्ट पारिरहनुभएको छ। उहाँ प्रधानमन्त्री हुँदा धनुषा र महोत्तरीको प्रधानमन्त्री हुनुहुन्थेन? यो जिल्ला सफा गर्ने जिम्मेवारी थिएन उहाँको? यो कुराले त राजनीतिको चित्रणलाई नराम्रो बनाइरहेछ। म उहाँहरूको तिक्तता, उहाँको तुच्छ अभिव्यक्तिको पछाडि लाग्नै चाहदिनँ। किनकि ओली खराब हुनुहुन्छ वा ओलीको नेतृत्व खराब छ वा एमालेको राजनीतिक अभ्यास खराब छ भन्ने कुरा त भदौ २३ र २४ मा देखियो नि।
हिजो मात्रै हामीसँगैको संवादमा नेकपाका उपमहासचिव रघुवीर महासेठले बालेनलाई कृत्रिम पात्रको संज्ञा दिनुभएको छ। यसमा तपाईंको भनाइ के छ?
उहाँले यो प्रदेशको भौतिक संरचना विकास गर्ने रणनीतिक योजनाको बारेमा केही कुरा गर्नुभयो? चुनाव जितेपछि गर्ने परिवर्तन, भौतिक र रणनीतिक लगानीको बारेमा चिन्ता नगरेर एउटा इन्जिनियरले यस्तो टिप्पणी गर्नु शोभनीय होइन। उहाँ पूर्व भौतिक योजनामन्त्री र एउटा पार्टीको उपमहासचिवले यस्तो कुरा गर्नु पुरानो राजनीतिक अभ्यास भयो। त्यसैले उहाँले तपाईंलाई केही सुनाउनुभयो। तपाईंले सुन्नुभयो। ठीक छ। त्यसको बारेमा म चर्चा गर्न चाहँदिनँ।
भिडिओ :
(तस्बिर/भिडिओ : सरोज नेपाल । साथमा सुवाष कर्ण)
Shares

प्रतिक्रिया