संसदीय राजनीतिमा अहिलेसम्म जितको स्वाद चाख्न नपाएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही ३ बाट उम्मेदवार छन्। २०४० को दशकदेखि नेपाली राजनीतिमा सक्रिय श्रेष्ठको चुनावी नतिजाको रेकर्ड बिर्सनलायक छ। लामो समय भूमिगत र अर्धभूमिगत राजनीति गरेका श्रेष्ठ २०६४ मा भएको पहिलो संविधानसभामा सदस्य थिए। संविधानसभामा रहँदा दुई पटक मन्त्री भएका श्रेष्ठ २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर–३ मा एमालेका सुवासचन्द्र ठकुरीसँग पराजित हुन पुगे।
२०७४ को चुनावमा श्रेष्ठ गृह जिल्ला गोरखा–२ बाट चुनावी मैदानमा उत्रिँदा पनि तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँग पराजित भए। तत्कालीन एमाले–माओवादी गठबन्धनले झण्डै दुई तिहाइ सिट जित्दा गोरखा–२ मा थोरै मतअन्तरमा चुनाव हारेपछि श्रेष्ठका लागि संसदको ढोका बन्द भएको थियो। तर, २०७६ मा सालमा राष्ट्रियसभा सदस्य बनेर संसदमा प्रवेश गरेका श्रेष्ठले उपप्रधान तथा गृह, भौतिक पूर्वाधार र परराष्ट्रमन्त्री बन्ने अवसर पाए र, उनले रेकर्ड राख्ने गरी भ्रष्टाचार नियन्त्रणका लागि केही कदम चाले।
राष्ट्रियसभा सदस्यको रुपमा फागुन २१ मा कार्यकाल सकिनै लाग्दा श्रेष्ठ माघ ४ गते नै पदबाट राजीनामा दिएर सर्लाही ३ को चुनावी मैदानमा छन्। संसदीय राजनीतिमा पहिलो पटक प्रत्यक्षतर्फ जितको खोजीमा मधेस झरेका श्रेष्ठलाई नेपालखबरको इलेक्सन एक्सप्रेस टिमले सर्लाहीको सलेमपुरबाट ‘तत्कालै’मा जोडेको छ :

पहिलो पटक मधेस झरेर सर्लाही ३ बाट उम्मेदवार बन्नु भएको छ। गोरखा र सर्लाहीको चुनावी अभियानमा के फरक पाउनु भयो?
म सर्लाही आएको पहिलो पटक होइन। चुनाव लड्न मात्र पहिलो पटक आएको हो। मलाई २०७० सालमा पनि सर्लाहीका पार्टीका साथीहरूले आउन आग्रह गर्नुभएको थियो। म आइनँ। अहिले धेरै जोड गरेपछि सर्लाहीका जनताको अनुरोधलाई स्वीकार गरेर आएको हुँ।
पार्टी निर्माणमा म यहाँ आउने गरेको थिएँ। मिटरब्याज पीडितको आन्दोलनको नेतृत्व मैले नै गरेको हुँ। गृहमन्त्री भएका बेला मिटरब्याज पीडितको पक्षमा कानुन ल्याउन पहल गरेँ। आयोग बनाइयो। प्रमुख जिल्ला अधिकारीको कार्यालयमा सहजीकरण समिति बनाएर न्याय दिने काम अगाडि बढाएँ।
यहाँ पहाडिया र मधेसी दुवै समुदायको बसोबास छ। हिमाल, पहाड र तराईको एकता हुँदा राष्ट्रिय एकता हुुन्छ। यहाँको समुदायको सामाजिक एकतालाई बलियो बनाउन म सर्लाही आएको हुँ। सबै दृष्टिकोणले यहाँ चुनाव लड्ने कुरा सकारात्मक छ।
२०७४ सालमा गोरखाबाट पराजित हुनुभयो। पहाडमा चुनाव जित्न सहज नभएर मधेस आउनु भएको हो?
निर्वाचनमा जित र हारको अर्थ त छ। तर, जित्नका लागि मात्र म सर्लाही आएको होइन। सर्लाहीका जनताले मलाई विजयी बनाउनेमा कुनै द्विविधा छैन। म विजयी हुन्छु। तर, म जितभन्दा पनि सर्लाहीमा नेपाली समुदायमाझ एकता कायम गर्नमा भूमिका खेल्न सकियो भने राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भनेर आएको हुँ। दोस्रो कुरा, जनसंख्याको ठूलो हिस्सा मधेसमा केन्द्रित हुँदै आएको छ भने विकासको दृष्टिकोणले मधेसलाई पछाडि पारिएको छ। तराई मधेसको विकासमा गुणात्मक फड्को मार्न सकियो भने सिंगो देशको विकासलाई नेतृत्व प्रदान गर्न सक्छ। उत्पीडित समुदायामा चेतना जागृत गर्नु छ। त्यसैले म सर्लाही आएको हुँ।
फागुन २१ को निर्वाचनमा कांग्रेस, एमाले र रास्वपा प्रधानमन्त्रीको उम्मेदवार अगाडि सारेर चुनावी मैदानमा छन्। प्रधानमन्त्रीका लागि अगाडि सारिएका तीनै जना उम्मेदवार तराई मधेसबाट उम्मेदवार बनेको अवस्था छ। तपाईं पनि मधेश आउनुको अर्थ ...
सरकारमा रहेर विभिन्न मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गरिसकेको छु। उपप्रधान तथा परराष्ट्र, गृह, भौतिक, स्थानीय विकास मन्त्रालय सम्हालिसकेको स्थिति हो। हरेक मन्त्रालयको जिम्मेवारी सम्हाल्दा उदहारणीय काम गरेको छु। देशको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरा छँदैछ। पहिला जनताले फैसला गर्छ। मलाई संसदमा पुर्याउँछ। त्यसमा ढुक्कै छु। त्यसपछि पार्टी र तत्कालीन राजनीतिक समीकरणले प्रधानमन्त्री हुने निर्णय गर्छ। मेरो जिम्मेवारी त्यहाँ पुग्न सक्छ भन्नेमा तयार नै छु।

उसोभए नारायणकाजी श्रेष्ठ फागुन २१ पछि प्रधानमन्त्रीको दाबेदार हो भनेर बुझ्दा भयो?
पार्टीले घोषणा नगरी मैले नै घोषणा गर्न त मिलेन। तर, स्वाभाविक रुपमा त्यतिखेरको परिस्थितिमा प्रधानमन्त्री भएर देशको सेवा गर्न पाउने जिम्मेवारीका निम्ति तयार छु।
चुनाव जित्नेमा ढुक्क सुनिनु भयो। तपाईंको मुख्यप्रतिस्पर्धी शक्ति र व्यक्ति को हो जस्तो लागेको छ?
दलीय प्रतिस्पर्धामा सबै उम्मेदवारलाई सम्मान गर्छु। कसैलाई न्यून मूल्यांकन गर्न चाहन्नँ। तर, मैले मेरो निकटतम् प्रतिस्पर्धी कसैलाई देखको छैन।
गत निर्वाचनमा एमालेबाट निर्वाचित हरि उप्रेती मैदानमा हुनुहुन्छ। रास्वपाको पनि राम्रै चर्चा सुनिन्छ।
व्यक्तिगत रुपमा कुनै उम्मेदवारबारे कुनै टिप्पणी गर्दिनँ। मेरो उम्मेदवारी सर्लाहीका जनताले खुसीका साथ स्वीकार गरेको पाएँ। उम्मेदवारी दिनेहरू प्रतिस्पर्धामा भए पनि वास्तविक प्रतिस्पर्धामा हुनुहुन्छ जस्तो मलाई लाग्दैन।
भिडिओ :
सर्लाही ३ को मुख्य समस्या के भेटाउनु भयो? जनताको अपेक्षा के छ? त्यसको सम्बोधन गर्ने योजना तपाईंसँग के छन्?
पहिलो आवश्यकता शिक्षामा देखियो। मधेसमा गुणस्तरीय शिक्षाको अभाव छ। प्राविधिक शिक्षामा विकास र शिक्षामा गुणस्तरीय सुधार गर्नुछ। अर्को सिँचाइ सुविधाको व्यवस्था गर्नुछ। कृषि सामग्री उपलब्ध गराउने र रोजगारी सिर्जना गर्न उत्पादनमूलक क्रियाकलापका काम अगाडि बढाउनुछ। यस्तै मिटरब्याज पीडितको समस्या हल गर्नुछ। ऋण लिएपछि तिर्नु पर्दैन भन्ने होइन, तर त्यो वैज्ञानिक छ कि छैन भन्ने हो। सहज ढंगले ऋण प्राप्त गर्ने वित्तीय संस्था स्थापना गर्नुपर्ने देखिन्छ। यहाँ सामाजिक र सांस्कृतिक रुपमा ठूलो जागरण अभियान पनि सुरु गर्नुपर्ने छ। संविधानमा अधिकार भए पनि व्यवहारमा विभेद छ।
मधेस प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा गइराख्नु भएको छ। अहिले हामी तपाईंसँग सर्लाही २ मा कुराकानी गरिरहेका छौँ। मधेसमा नेकपाको अवस्था कस्तो छ?
सिंगो देश र मधेसको हामीप्रति सकारात्मक भाव देख्छु। संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्ने मुख्य कारक हामी हो। दोस्रो कुरा, यी उपलब्धि पनि खोस्न खोजिएको थियो। अहिले पनि त्यो षड्यन्त्र बाँकी छ। त्यसका विरुद्ध लड्ने शक्ति पनि हामी नै हो भन्ने जनतालाई थाहा छ।
राजनीतिक माध्यमबाट सामाजिक, आर्थिक रुपान्तरण गर्न खोज्यौँ। त्यसका लागि सुशासन पूर्वसर्त हो भन्ने हामीले ठान्यौँ। राज्य लुट्ने पार्टीका नेता, कर्मचारी र दलालहरूमाथि हामी निर्मम भएर प्रस्तुत भयौँ। प्रचण्ड प्रधानमन्त्री भएका बेला म गृहमन्त्री हुँदा ठूलठूला भ्रष्टचारका काण्डको पर्दाफास भयो। हामीलाई सुशासनको अभियान राम्रोसँग चलाउन दिएर एमाले र कांग्रेसले सरकार नढालेको भए भदौ २३ र २४ मा जेनजी आन्दोलन नै हुने थिएन।
हामीले एजेन्डा पक्रिएर काम गरेका थियौँ। त्यो कामले निरन्तरता पाएको भए नवयुवाहरूले आन्दोलन गर्नुपर्ने स्थिति नै हुने थिएन। त्यो एजेन्डा पनि हामीले बोकिराखेका छौँ। सिंगो देश र मधेसको जनताले यो कुरा बुझ्छ।

अहिले नेपालमा नयाँ पार्टी ठिक र पुरानो पार्टी खराब भन्ने भाष्य बनेको छ। नेकपा पनि पुरानै डालोमा छ। यस्तो अवस्थामा नेकपाले कसरी जित निकाल्न सिक्छ?
प्रश्न नयाँ र पुरानोको होइन। प्रश्न राष्ट्रभक्त छ कि राष्ट्रघाती छ भन्ने हो। प्रश्न सुशासनको पक्षमा छ कि भ्रष्टचारको पक्षमा भन्ने हो। प्रश्न यो संविधानको रक्षाका लागि छ कि प्रतिगमनको दिशामा देशलाई लैजान खोज्छ भन्ने हो। विकास निर्माणको प्रश्न हो। देशभक्ति, सुशासन, संविधानको रक्षा र विकासको प्रतिनिधित्व हामीले गर्छौँ। दोस्रो कुरा, नयाँ भनिएका पार्टीका मुख्य नेता सरकारमा थिए, कोही पालिका प्रमुख थिए। उनीहरूको काम जनताले देखेको छैन र? उहाँहरूले के गर्नुभयो? मौका पाउँदा काम गरेर नदेखाउनेहरूले थप मौका चाहियो भन्ने कुरा जनताले बुझ्दैन र? नयाँ ठीक भन्ने भाष्य गलत छ।
निर्वाचनमा भदौ २३ र २४ मूल मुद्दा बनेको छ। नेकपाको उपस्थिति कहाँनिर हो?
जेनजीका एजेन्डा हामीले सरकारमा हुँदा उठाएर व्यवहारमा लागू गरेको एजेन्डा हो। जो कांग्रेस र एमालेका कारणले पूरा हुन पाएन। जेनजी आन्दोलनको एजेन्डामा हामी सकारात्मक हुने कुरा भइहाल्यो। हाम्रो एजेन्डा हामीलाई पूरा गर्न नदिएपछि जेनजी पुस्ताले उठाइदियो। त्यसलाई कांग्रेस र एमालेले सुन्ने भन्दा पनि दमन गर्ने बाटो समात्यो।
भदौ २३ मा बानेश्वरमै २१ जना ढालियो। २४ गते आवेगात्मक प्रतिक्रिया प्रकट भयो। तर त्यतिमै सीमिति भने छैन। देशमा अस्थिरता, प्रतिगमन र बाह्य शक्तिको खेल मैदान बनाउन चाहने पनि मिसिएर विध्वंस र आजगनीको घटना भयो। २३ गतेको मुद्दा र आन्दोलनमा सकारात्मक भन्छौं। २४ गतेको एउटा पक्षलाई पनि स्वाभाविक भन्छौँ। तर, दुराशयपूर्ण घुसपैठ गरेर २४ गते घटाइएको घटना मूल छ। देशमा अस्थिरता उत्पन्न गरेर देशलाई प्रतिगमनतिर लैजाने प्रवृत्तिविरुद्ध सचेत भएर अगाडि बढ्छौँ।
(साथमा नेपालखबर मधेस प्रदेश संवाददाता सुभाष कर्ण)
भिडिओ :
Shares

प्रतिक्रिया