सर्लाही ४ का निवर्तमान सांसद हुन् अमरेशकुमार सिंह। २०७० देखि ०७९ सम्म निरन्तर सर्लाही ४ बाट निर्वाचित सिंह चौथो जितको खोजीमा छन्। सर्लाही ४ मा कांग्रेसको पुनरागमन गराएका सिंह २०७९ को निर्वाचनदेखि कांग्रेसविरुद्ध नै मुकाविला गरिरहेका छन्।
गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर कांग्रेसका नागेश कुमारलाई हराएका सिंह अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट कांग्रेस सभापति गगन थापासँग चुनावी प्रतिस्पर्धामा छन्। नेपालखबर इलेक्सन एक्सप्रेस टिमले सिंहसँग मधेसमा रास्वपाको अवस्था र सर्लाही ४ मा प्रधानमन्त्रीका उम्मेदवार गगन थापासँगको प्रतिस्पर्धा लगायतका विषयमा सर्लाहीको गोडैतामा बुधबार गरेको वार्ता :
सर्लाही ४ मा दुई पटक कांग्रेस, एक पटक स्वतन्त्र उम्मेदवार भएर चुनाव जित्नु भयो। रास्वपाको उम्मेदवार भएर चुनावमा उठ्दा के फरक पाउनुभयो?
अघिल्लो चार वटा चुनाव लड्दा तीन वटा जितेँ र एउटा हारेको छु। चारै चुनावभन्दा यो पटकको चुनाव मेरो लागि सजिलो छ। किनभने यो चुनावको एजेन्डा छ। अहिले सरकार होइन, सत्ता परिवर्तनको एजेन्डा चुनावमा अगाडि आएको छ। देशका तमाम संस्थालाई दलीयकरण गरिएको छ। हामी राष्ट्रका सम्पूर्ण संस्थाहरूलाई दलीयकरणबाट मुक्त गर्न चाहन्छौँ। मेरिटोक्रेसीमा लग्न चाहन्छौँ। यदि न्यायाधीश बन्नु छ भने लिखित परीक्षा दिनुपर्छ।
लोकसेवा वा कुनै संस्थाको अध्यक्ष बन्नु छ भने लिखित परीक्षा दिनुस् र बन्नुस्। कुनै दलको कोटाबाट वा कुनै सभापतिको खल्तीबाट वा सिफारिसमा होइन, लेबी बुझाएबापत कुनै पनि संवैधानिक नियुक्ति हुनु हुँदैन र हामीले कुनै पनि संस्थालाई रास्वपाकरण गर्दैनौँ, एउटा राष्ट्रको संस्था बनाउँछौँ, एउटा कुरा यो। अर्को कुरा, देशमा ३० वर्षभन्दा बढी समयदेखि लुटतन्त्र भइरहेको, जुन भ्रष्टाचार, नातावाद, कृपावाद चलिरहेको छ, त्यसको अन्त्य हुन जरुरी छ। अहिले राजनीतिको व्यापारीकरण, पारिवारिकरण र भ्रष्टीकरण भइरहेछ। यो तीन वटैबाट मुक्त गर्नुछ। रास्वपामा कुनै व्यापारीकरण छैन, परिवारवाद छैन र हामी भ्रष्टाचारबाट मुक्त राख्न चाहन्छौँ।
पछिल्लो ३० वर्षमा तपाईंले जे विकृतिको कुरा गर्नुभयो, त्यसको अंशियार र हिस्सेदार तपाईं पनि हो नि त!
म बीपीको आदर्श मानेर कांग्रेसमा गएको थिएँ। म शेरबहादुर दाइ वा सुशील कोइरालालाई मानेर गएको थिएँ। म बीपी पढेर आएको, गान्धी पढेर आएको हो, नेल्सन मण्डेला पढेर आएको हो, राष्ट्रको अहितमा हुने कुरा कहिल्यै पनि सहँदैनौँ।
बीपी पढेर आएको मान्छे, उनको आस्था छाडेर रास्वपातिर किन लाग्नु भयो?
हिजोको आस्था रहेन, कांग्रेसको त वामपन्थीकरण भएको छ, अहिले त कांग्रेस कांग्रेसै रहेन। कांग्रेस कहिले भन्छ, मत सूर्यमा हाल। कहिले भन्छ, हँसियाहथौडामा हाल। कहिले माओवादीतर्फ जान्छ त कहिले एमालेतर्फ। यहाँ कांग्रेस कहाँ रह्यो? अर्को कुरा कांग्रेस कहिले माओवादीको बी टिम बन्यो त कहिले एमालेको बी टिम। त्यसकारणले कांग्रेसमा धनवाद र डनवाद चल्यो। सर्लाही ४ मा रक्सीको तस्करी र राजस्व छलीको कुरा हाबी छ।
सर्लाही ४ मा तपाईं तीनतीन पटक सांसद हुनु भयो, यहाँ यस्ता खराबी भए भन्नुहुन्छ। त्यो रोक्न किन पहल गर्नु भएन?
त्यो मैले कहिल्यै पनि रोक्न सकिनँ। म सरकारमा थिइनँ। जो सरकारमा पुग्छन्, तिनको जिम्मेवारी हो। संसदको पछिल्ला रेकर्ड पल्टाएर हेर्नुस्, म जति बेला सांसद थिएँ, कांग्रेसको सरकार हुँदा गलत गतिविधिको विरोध गर्थें।
मधेस प्रदेशमा रास्वपा कार्यकर्ताले नै टिकट किनबेचको आरोप लगाएको सुनियो। खास के भएको थियो?
त्यो कुरा हाम्रो कानमा पनि आएको छ। त्यो कुरा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहको पनि कानमा गएको छ। चुनावपछि त्यसको छलफल हुन्छ र त्यस्ता गतिविधि गर्ने हरेकलाई कारबाही हुन्छ। किनकि रास्वपालाई कहिले पनि व्यापारीकरण र भ्रष्टीकरण हुन दिनेवाला छैनौँ। पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह निष्ठावान व्यक्ति हुनुहुन्छ। पार्टीलाई व्यापारीकरण हुन दिनुहुन्न।
म नाम लिन्नँ, तर कयौँ यस्ता व्यक्ति थिए, जो करोडौँकरोड रुपैयाँ लिएर पार्टी सभापति रवि लामिछाने र बालेन शाह समक्ष रास्वपाबाट टिकट लिन पुगेका थिए। तर हामो अडान, रवि लामिछाने र बालेन शाहको निष्ठाले उनीहरूलाई टिकट दिइएन, किनकि रास्वपालाई व्यापारीकरण गर्नु छैन।

तपाईंले यस्तो दाबी गर्दै गर्दा बालेन शाहले झापामा एउटा विवादित व्यापारीको गाडी चढेको भेटियो। रास्वपा पनि व्यापारीकरण भएन र?
नेता आफ्नो ठाउँ छोडेर जुन ठाउँमा जान्छ, त्यही ठाउँको गाडी प्रयोग गर्छन्। तपाईंहरूले जुन कुरा अवगत गराउनु भयो, त्यो कुरा उहाँलाई पनि थाहा छ। त्यहाँ जाँदा पार्टीका मान्छे वा साथीले जुन गाडी ल्याएर उपलब्ध गरायो, त्यसमै चढेको हो। यसको अर्थ त्यो होइन कि उहाँ व्यापारीकरण हुनुभयो। हरेक कुरालाई नकारात्मक ढंगले नसोच्दिनुस् न।
गत निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित हुनुभयो, यो पटक स्वतन्त्रबाट जित्न सकिन्न भनेर रास्वपा प्रवेश गर्नु भएको हो? कि रास्वपाबाट उम्मेदवार बन्नुको अरु नै कारण छ?
रास्वपाबाट उम्मेदवारी दिनुको प्रमुख कारण हामीले देशमा परिवर्तन गर्न खोजेका छौँ। म तीनतीन पटक सांसद भएँ तर देशको कार्यकारी भूमिकामा कहिले पनि गइनँ। हामीले कुरा उठायौँ। तर, त्यो कार्यान्वयन भएन। किनकि त्यसको लागि पार्टी चाहिन्छ र संगठन चाहिन्छ।
स्वतन्त्रले बोल्न बाहेक केही गर्न सक्दैन। कार्यान्वयनका लागि पार्टी नै चाहिएकाले रास्वपामा प्रवेश गरेको हुँ। अहिले म स्वतन्त्र चुनाव लडेको भए जित्न सक्थेँ। तर, मलाई तलदेखि माथिसम्म सुधार गर्नुछ। मेरो तल रहेका साथीहरूलाई स्थानीय तह वा अन्य तहमा चुनाव लड्न टिकट दिनुपर्छ। अर्को कुरा भदौ २३ र २४ गते बालबालिकामाथि गोली हानिएको घटनाले मलाई कयौँ राति सुत्न दिएन। मनमा एउटै प्रश्न आउँथ्यो, फेरि यही गोली चलाउनेहरू सत्तामा आए भने देशको अवस्था के हुन्छ? त्यसैले देशको अवस्था र व्यवस्था बदल्न रास्वपा प्रवेश गरेको हुँ। हामी शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, रोजगारी सबैमा विकास होस् भन्ने चाहन्छौँ।
एमालेले २४ गते सिंहदबार, संसद्, अदालत, व्यक्तिका निजी सम्पत्तिमा गरिएको आगजनीको योजनाकार रास्वपाले प्रधानमन्त्री रुपमा अगाडि सारेका बालेन भएको आरोप लगाइरहेको छ नि!
हरेक क्रियाको प्रतिक्रिया हुन्छ। राज्यले ७६ जना बालबालिकालाई ताकीताकी गोली हानेको घटनाको प्रतिक्रिया हो भदौ २४ को घटना। ३४ वर्षदेखि भइरहेको भ्रष्टाचार र लुटतन्त्रको प्रतिक्रिया पनि हो त्यो घटना। हरेक कुरामा विदेशी र सेनाको षड्यन्त्र देख्नु हुँदैन।
कांग्रेस सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगन थापासँगको प्रतिस्पर्धालाई तपाईंले कत्तिको कठिन देख्नुभएको छ?
यो त चुनावी प्रक्रिया हो, उहाँसँग मेरो व्यक्तिगत प्रतिस्पर्धा होइन। मलाई डर के लागिरहेछ भने उहाँ कहीँ तेस्रो, चौथो नम्बरमा आउने हो कि! उहाँलाई जुन तरिकाले ल्याइएको छ, त्यसले दोस्रो स्थानमा पनि आउन सक्ने सम्भावना छैन। यस क्षेत्रको आफ्नै इतिहास छ। यहाँ कुनै पनि पार्टीका सभापति वा अध्यक्षले चुनाव जितेका छैनन्। जहिले पनि कार्यकर्ता र सदस्य हुँदा मात्र जितेका छन्। त्यसैले मेरो जित सुनिश्चित छ। यहाँका मतदाताले बाहिरका उम्मेदवारलाई मत दिँदैनन्।
सर्लाही ४ मा बाहिरको मान्छे उम्मेदवार भएकाले भोट दिन नहुने तर्क गर्दै हुनुहुन्छ। यो तर्क त झापा ५ मा बालेन शाहको हकमा पनि लागू हुन्छ होला नि!होइन, यो मैले भनेको होइन, विगतको चुनावमा गगन थापाले अन्य नेताहरूलाई टुरिस्ट उम्मेदवारको जुन आरोप लगाउनुभएको थियो, त्यसैलाई स्मरण गराउन खोजेको हुँ। देशको कुनै पनि नागरिक १६५ क्षेत्रमध्ये जहाँसुकैबाट लड्न पाउने संवैधानिक अधिकार नै हो। यहाँबाट किन लडेको भन्न खोजेको होइन। यहाँका जनताले उहाँलाई मत दिँदैनन्, के आधारमा मत दिन्छन्, त्यो मात्रै भनेको हुँ।
मधेस प्रदेशबाट यस पटक रास्वपाले कति सिट जित्छ त?
मधेसका ३२ क्षेत्रमध्ये रास्वपाले कम्तीमा २० सिट जित्नेछ। यहाँका जनता, युवा र विदेशमा रहेका नेपालीहरू बालेनलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहन्छन्। यहाँका मतदाताहरूको दुई वटा नारा छ, ‘अब की बार बालेन सरकार’ र ‘चुपचाप घण्टीमा छाप’। त्यसैले हामी विश्वस्त छौँ– यहाँका जनताको माग बालेन सरकार भन्ने सपना साकार हुनेछ।
भिडिओ :
Shares

प्रतिक्रिया