अन्तर्वार्ता


नयाँ युवालाई विवाहका लागि प्रोत्साहन नगर्ने हाम्रो नीति छ: आहुति (अन्तर्वार्ता)

‘प्रचण्डसँग मिलेको बेला ओली प्रत्यक्ष निर्वाचित राष्ट्रपतिजत्तिकै शक्तिशाली थिए, त्यसबाट पनि केही भएन’
नयाँ युवालाई विवाहका लागि प्रोत्साहन नगर्ने हाम्रो नीति छ: आहुति (अन्तर्वार्ता)

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति। तस्बिरहरू: विशाल कार्की


जनार्दन पोखरेल
माघ १०, २०८१ बिहिबार ६:४९, काठमाडौँ

०७४ साल असोज १६ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच आकस्मिक रुपमा पार्टी एकताको सहमति भयो। त्यतिबेला विश्वभक्त दुलाल (आहुति) माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य थिए। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पार्टी एकता नै गर्ने तहको सहमति हुँदासमेत १७ सदस्यीय माओवादी कार्यालयका धेरैलाई त्यसको सुइँकोसम्म थिएन।

०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो। तर, आहुति नेकपा घोषणा सभामा गएनन्। माओवादीको ताम्सालिङ प्रदेशको इन्चार्जको जिम्मेवारी सम्हालिसकेका आहुतिको त्यसअघि नै प्रचण्डसँग मोहभंग भइसकेको थियो।

०७४ देखि नै माओवादीसँग छुट्टिएर बेग्लै कम्युनिस्ट अभियान सुरु गर्दै आएका आहुति यतिबेला ‘वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी’को महासचिव छन्। गएको पुस १९ देखि २१ गतेसम्म काठमाडौँमा चलेको सो पार्टीको प्रथम राष्ट्रिय सम्मेलनबाट उनी महासचिवमा चयन भएका हुन्। 

नेपालमा यस्ता कम्युनिस्ट पार्टी अनगिन्ती छन्, हरेक वर्ष नयाँ समूह जन्मिने र हराउने क्रम चलिनै रहेको छ। यही क्रमलाई निरन्तरता दिँदै आहुतिले फेरि किन नयाँ समूह बनाउन आवश्यक ठाने? आहुतिको नाममा राजनीतिक र सामाजिक विषयहरूमा खरो बहस गर्दै आएका उनै विश्वभक्त दुलाल​सँग नेपालखबरले गरेको वार्ताको सम्पादित अंशः 

भर्खरै प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गर्नुभयो। कस्तो रह्यो सम्मेलन?
हामीले दुई वर्षअघि प्रथम राष्ट्रिय भेला गरेर चार वर्षको योजना बनाएर काम अघि बढाएका थियौँ। चार वर्षभित्र राष्ट्रिय स्तरमा हस्तक्षेप गर्नसक्ने नयाँ युगको नयाँ राजनीतिक पार्टी, नयाँ युगको नयाँ कम्युनिस्ट आन्दोलन बनाउने हाम्रो पहिलो योजना थियो। हामीले दुई वर्षभित्र राष्ट्रिय सम्मेलन गरिसक्ने भनेका थियौँ।

यसबीचमा हामीले बनाउने भनेको नयाँ युगको नयाँ कम्युनिस्ट आन्दोलन कस्तो हो? त्यसको संगठनात्मक, वैचारिक र सांस्कृतिक नीति के हुने भन्ने विषयमा हामीले प्रचारात्मक ढंगले काम गर्यौं। राजनीतिमा चासो राख्ने मानिसहरूको बीचमा हाम्रो विचारलाई पुर्याइसक्ने लक्ष्यमा हामी सफल भएका छौँ।

दोस्रो, अहिलेदेखि नै वैज्ञानिक समाज व्यवस्था बनाउँदै जाने हाम्रो मूल कार्यनीति थियो। त्यसको लागि आर्थिक क्षेत्रमा उत्पादन र अर्थतन्त्र निर्माणको जग सुरु गरिसक्ने भन्ने थियो। तेस्रो, पार्टीमा कम्तिमा पनि एकसय जना पूर्णकालीन नेता कार्यकर्ता उत्पादन गरिसक्ने र कम्तिमा पनि ५० भन्दा धेरै जिल्लामा संगठनको बिउ रोपिसक्ने भन्ने हाम्रो लक्ष्य थियो। त्योसँगै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा संयुक्त र एकल संघर्षका कार्यक्रमहरू सञ्चालन गर्ने हाम्रो नीति थियो। 

हाम्रा यिनै लक्ष्यलाई समीक्षा गर्ने र परिमार्जन गर्ने सम्मेलन थियो यो। त्यसरी हेर्दा हामी आफ्नो घोषित उद्देश्यमा ६० देखि ७० प्रतिशतसम्म सफल भएका छौँ। यो सम्मेलनमा ७० जिल्लाको प्रतिनिधित्व भयो। हामीले चार/पाँच हजार मानिसलाई राजधानीमा केन्द्रीत गरेर मझौला खालको प्रदर्शन पनि गर्‍यौँ। यसबीचमा हाम्रा ७२ जनाभन्दा धेरै पूर्णकालीन कार्यकर्ता उत्पादन भएका छन्। देशका ६० भन्दा धेरै जिल्लामा हाम्रो संगठन निर्माण भएको छ। मध्यम वर्गसम्म हामीले अघि सारेको नयाँ विचारको प्रचार भएको छ। यो कोणबाट हेर्दा राष्ट्रिय सम्मेलन हामीले जसरी सोचेका थियौँ, त्यसरी नै सम्पन्न गरेका छौँ। दुई वर्षको लक्ष्यमा हामीलाई झण्डै ७० प्रतिशत सफलता मिलेको छ। अब हामी आगामी २ वर्षमा राष्ट्रिय स्तरमा हस्तक्षेप गर्नसक्ने ठाउँमा पुग्छौँ भन्ने हिसाबले राष्ट्रिय सम्मेलनबाट योजना निर्माण गरेका छौँ। 

राष्ट्रिय स्तरमा हस्तक्षेप गर्न सक्ने भनेको के हो? तपाइँहरूको सम्मेलनले विचार र राजनीतिको क्षेत्रमा नयाँ के गर्‍याे? 
हामीले नयाँ युगको नयाँ कम्युनिस्ट आन्दोलन बनाउने भनेका छौँ। आजसम्म चल्दै आएको कम्युनिस्ट आन्दोलनलाई लेनिनको युग भनिन्थ्यो। हाम्रो निष्कर्ष के छ भने, अब लेनिनको युग सकियो। अब नयाँ युगमा पुँजीवाद प्रवेश गर्‍यो। यतिबेला पुँजीवादको चौथो चरणमा हामी छौँ। भूमण्डलीकृत पुँजीवाद र वैज्ञानिक समाजवादको नयाँ युगमा हामी आइपुगेका छौँ। नयाँ युगमा वर्ष संघर्षको तरिका पनि नयाँ हुनुपर्छ, संगठन पनि नयाँ हुनुपर्छ। र, सांस्कृतिक आन्दोलन पनि नयाँ हुनुपर्छ भनेर हामीले मुख्यतः तीनवटा क्षेत्रमा काम गर्ने खाका सम्मेलनबाट तयार गरेका छौँ। 

पहिलो कुरा, संगठनात्मक क्षेत्रमा पिरामिड आकारको पार्टी र पिरामिड आकारको समाजवादी व्यवस्था ठिक छैन। अब छाल वा लहर आकारको कम्युनिस्ट पार्टी बनाउनु पर्छ। समाजवाद पनि त्यही प्रकारको बन्नुपर्छ। त्यो भनेको के भने, प्रतिनिधिहरूले निर्णय गर्न नपाउने, सरोकारवालाहरूले निर्णय गर्ने। प्रतिनिधिहरूले केवल त्यसलाई लागू मात्रै गर्ने भन्ने हो। त्यस्तो राजनीतिक परिपाटी मात्रै अबको वैज्ञानिक समाजवाद हुन्छ भन्ने हाम्रो नयाँ वैचारिकी हो। अहिलेसम्मका संसारभरका कम्युनिस्ट पार्टी पिरामिड आकारमा चल्दै आएका छन्। अहिले चलिरहेका कम्युनिस्ट वा पुँजीवादी सबै पार्टी त्यस्तै हुन्। अब पिरामिड आकारको पार्टीबाट नयाँ समाजवाद बन्दैन भन्ने निष्कर्ष हामीले निकालेका छौँ। यसले पार्टीभित्रका सम्पूर्ण हाइर्‍याङकिङहरू तोडिदिन्छ। 

दोस्रो वैज्ञानिक समाजवाद क्रान्ति गरेर ल्याउने होइन। वैज्ञानिक समाजवादको अभ्यास अहिलेदेखि नै गर्दै जाने निष्कर्ष हाम्रो छ। त्यो भनेको के भने, अहिलेदेखि नै समाजवादी अर्थतन्त्र निर्माणको लागि काम गर्नुपर्छ। त्यस्तो अर्थतन्त्र निर्माणको लागि हाम्रो पार्टीमा संगठित कुनै पनि सदस्य समाजवादी उत्पादन एकाइको सदस्य हुनैपर्छ।

समाजवादी उत्पादन एकाइको सदस्य हुनेवित्तिकै आत्मनिर्भर नेता, कार्यकर्ता तयार हुन्छन्। समाजमा आत्मनिर्भर नेता, कार्यकर्ता र आत्मनिर्भर समुदायको निर्माण हुन्छ। त्यसले मात्रै राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न सकिन्छ। आत्मनिर्भर समुदायले मात्रै समाजवादी क्रान्तिको लागि काम गर्न सक्छन्। अहिलेदेखि नै समाजवादी अर्थतन्त्रको अभ्यास, त्यसको रक्षा र विस्तारको लागि राजनीतिक सत्ता, समाजवादी संस्कृति पनि अहिलेदेखि नै अभ्यास र निर्माण गर्दै जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ। 

तपाईँहरूले अहिले उत्पादनको क्षेत्रमा के काम गर्नु भएको छ? 
हामीले कृषि, कपडा, टेक्सटायल, मसला र साबुन उद्योग सञ्चालन गरेका छौँ। त्यसैगरी वितरणको लागि मार्टहरू सञ्चालनमा छन्। हाम्रा १० वटा उद्योगका युनिट सञ्चालनमा छन्।

त्यस्ता उद्योगहरू कहाँ छन्? 
काठमाडौँमा मसला, साबुन, सरसफाइका सामान र टेक्सटायलका उद्योगहरू सञ्चालनमा छन्। टेक्सटायल उद्योग मूलपानीमा छ। अनामनगरमा साबुन उद्योग छ। हरिसिद्धिमा मसला कारखाना छ। चितवनको माडीमा हामीले ६ बिघा जमिनमा कृषि उत्पादन सुरु गरेका छौँ। तनहुँमा तरकारी, कैलालीमा फलामका औजारहरू निर्माण सुरु भएको छ। अहिले हाम्रा उत्पादनका युनिटहरू ससाना छन्, त्यसलाई हामी विस्तार गर्दै लैजान्छौँ। फेरि यी उत्पादनका केन्द्रहरू पार्टीका सम्पत्ति होइनन्। त्यहीँका समुदायको सम्पत्ति हो। यसरी आत्मनिर्भरतातिर हामी जाँदै छौँ।

आजभन्दा अघिका कम्युनिस्ट पार्टीहरूसँग आफ्नो मौलिक अर्थतन्त्र थिएन। राजनीति दर्शन मात्रै थियो। दलाल पुँजीवादको मुख्य काम भनेको उत्पादलाई बेदखल गर्ने हो। साम्राज्यवादले नेपालमा के गर्छ भन्दा दलालहरू उत्पादन गर्छ र यहाँको मौलिक उत्पादन बन्द गरिदिन्छ। किसानलाई निरास बनाइदिन्छ र कारखानाहरूलाई बन्द गरिदिन्छ। अर्को काम त्यसले हाम्रो प्राकृतिक स्रोत साधन लुट्ने र बजार कब्जा गर्ने काम गर्छ। त्यसको लागि सन्धि, सम्झौताहरू हामीमाथि लाद्छ। तेस्रो उपभोक्तावादको प्रचार गरेर दास संस्कृतिको विस्तार गर्छ। दलाल पुँजीवाद र साम्राज्यवादको विरुद्धमा लड्ने हो भने, जनतालाई उत्पादन गर्न नदिने दलाल पुँजीवादविरुद्ध लड्नुपर्छ। त्यो भनेको उत्पादनसहित लड्ने वर्ग संघर्षमा हामी जानुपर्छ भन्ने हो। 

उत्पादन गर्नु भनेकै वर्ग संघर्षको एउटा मोडल हो। पहिला उत्पादन भनेको छुट्टै, राजनीतिक संघर्ष भनेको छुट्टै विषय हो भनेर व्याख्या गरियो। तर, अब चाहिँ दलाल पुँजीवादले उत्पादन गर्न नदिने भएकोले उत्पादन गरेर आत्मनिर्भरतातिर जानु नै वर्ग संघर्ष हो। यो हामीले विकास गर्न खोजेको वर्ग संघर्षको मूल मोडेल हो। हामीले के भनेका छौँ भने, अर्थतन्त्र बन्छ भने अर्थतन्त्रको जगमा राजनीति पनि बन्छ। राजनीतिसँगै संस्कृति पनि बन्छ। त्यसको लागि अहिलेदेखि नै वैज्ञानिक समाजवादी संस्कृतिको अभ्यास सुरु गर्नुपर्छ।

अहिलेका पुराना भनिने सबै पार्टीले गरिरहेको अभ्यास त्यही त हो नि! उनीहरू पनि महाधिवेशनबाटै चुनिएर आएका हुन्छन् नि?
त्यसो होइन। यदि हो भने ९० वर्षको उमेरसम्म किन कुनै नेता महासचिव भइरहन्छ? उनीहरू सम्मेलनबाटै निर्वाचित भएर आउँछन् भन्न सकिएला। तर, ती पार्टीमा यस्तो मनोविज्ञान र गुटको निर्माण गरिएको हुन्छ कि, एउटै व्यक्ति हरेकपटक महाधिवेशनबाट महासचिवमा दोहोरिरहन्छ। तर, उसले केही गर्न सक्दैन। एउटा मान्छे ५०/६० वर्षसम्म पार्टीको महासचिव भइरहन्छ। तर, त्यसको कुनै क्रान्तिको नेतृत्व गरेको पनि पाइँदैन। त्यस्तो मान्छे किन महासचिव दोहोरिरहन्छ भने स्थायी पदले स्थायी गुटबन्दी सिर्जना गर्छ।

म सधैँ महासचिव भइरहनुपर्छ भन्ने लागेपछि उसले स्थायी गुट बनाउँछ। त्यही गुटको बलमा उ नमरुन्जेल महासचिव भइरहन्छ। हामीले त्यो मोडललाई भत्काइदिएका छौँ। हामीले के भनेका छौँ भने, पार्टी भित्र रहेका नेता, कार्यकर्ता, जसको जिम्मेवारी फरक-फरक हुनसक्छ। जिम्मेवारीअनुसार कमाण्ड कन्ट्रोल पनि हुन्छ। तर, पार्टीभित्रको स्थायी हाइर्याङकिङ हुँदैन। अब हाम्रो पार्टीमा कुनै पनि पदहरू स्थायी हुँदैनन्। केन्द्रीय समिति, सचिवाल, महासचिव कुनै पनि पद स्थायी हुँदैन। सबै पद आवधिक हुन्छन्। 

तपाईँ अघि नयाँ संस्कृतिको कुरा गर्दै हुनुहुन्थ्यो। नयाँ सांस्कृतिक अभ्यास भनेको चाहिँ के हो? 
संस्कृतिको मामलामा हामीले भनेको के हो भने, जन्मेदेखि मृत्युसम्मका संस्कार र चाडपर्वहरू पनि क्रान्तिकारीहरूले आफ्नो मौलिकतामा छुट्टै निर्माण गर्नुपर्छ। गर्भमा बच्चा आएदेखि मृत्युसम्म हामीले आफ्नै संस्कार र संस्कृति निर्माण गरेका छौँ। हामीले त्यसको अभ्यास पनि सुरु गरिसकेका छौँ। पहिला-पहिला समाजवादी संस्कृतिको निर्माण पुँजीवादको गर्भबाट हुन्छ भनिन्थ्यो। लेनिनले निकालेको निष्कर्ष नै यही थियो। त्यो भनेको पुँजीवादभित्र विकसित भएको प्रगतिशील संस्कार र संस्कृति नै समाजवादी संस्कृतिको जग हो भन्ने हो। हाम्रो पार्टीले त्यसमा थप व्याख्या गरेको छ। त्यो भनेको, मानव समाजमा विभिन्न राष्ट्रियता र सभ्यताहरूले मानव कल्याणको निम्ति वैज्ञानिक ढंगले जीवन विताउन अभ्यास गर्दै आएका वैज्ञानिक परंपरागत संस्कृति नै समाजवादी संस्कृति निर्माणको अर्को आधार हो।

बच्चाको जन्म भइसकेपछि नामकरण गर्ने पहिलो अधिकार आमा र बुवालाई हुन्छ। बच्चाको नामाकरण गर्ने अधिकार कुनै पुरेत, पण्डालाई हुँदैन। त्यहाँ परंपरागत न्वारन स्वारन केही हुन्न। नामाकरण पर्व मात्रै हुन्छ। नामाकरणको बेलामा वृक्षारोपण गरिन्छ। मान्छे एकपटक मात्रै जन्मिने भएकाले जन्मदिन पनि एकपटक मात्रै मनाइन्छ। जन्मदिन १३ वर्ष पुगेपछि मनाइन्छ। यो किन भनियो भने, १३ वर्ष पुगेपछि कुनै पनि बालबालिकाको दिमाग पूरा विकसित भइसकेको हुन्छ।

विवाहबारे हाम्रो दृष्टिकोण फरक छ। सकेसम्म नयाँ युवाहरूलाई विवाह संस्थामा प्रवेश गर्नलाई उत्साहित नगर्ने नीति हाम्रो छ। युवक र युवती मन मिलेपछि सँगै बस्न सक्छन्, प्रेम सम्बन्ध हुन सक्छ। बालबच्चा जन्माउन सक्छन्, सहज जीवनमा जान सक्छन्। तर, विवाह संस्थामा सकेसम्म प्रवेश गर्दैनन्। यदि कोही जोडी विवाह संस्थामा प्रवेश गर्न चाहन्छन् भने पारिवारिक छलफल अनिवार्य हुनुपर्छ। अर्को, परिवारको लोकतान्त्रिकरण गर्नको निम्ति मासिक रूपमा परिवारको मिटिङ अनिवार्य गरिएको छ। त्यस्ताे पारिवारिक मिटिङमा १६ वर्ष पुगेका सबैले समान ढंगले मत राख्न पाउँछन्। त्यहाँ हुने बहुमत सदस्यले जे भन्छन्, सबै सदस्यले मान्नुपर्छ। हामीले यो किन भन्यौँ भने, हरेक परिवारमा पितृसत्ता हाबी छ। सबै निर्णय पुरुषले गर्ने गरेका छन्। पारिवारिक मिटिङ भएपछि महिलालाई पनि बराबर अधिकार हुन्छ। उनीहरूले आफ्ना कुरा राख्छन्। छोराछोरीलाई पनि त्यहाँ आफ्ना कुराराख्ने अधिकार बराबरी हुन्छ। 

हाम्रो परिवारमा दुई ढंगको उत्पीडन हुन्छ। एउटा महिलामाथि, अर्को बच्चामाथि। बच्चाहरूले कहिल्यै पनि बाबुसरह मत राख्न पाउँदैनन्। श्रीमतीले लोग्नेसरह मत राख्न पाउँदिनन्। हाम्रो परिवार आधारभूत रुपमा सामन्ती ढंगले चलेको छ। परिवारको प्रगतिशीलकरण गर्नको लागि हामीले औजार के बनाएका छौँ भने, पार्टीको रोहवरमा पारिवारिक मिटिङ गर्नुपर्छ। बाउका सम्पूर्ण खराबीका विरुद्धमा लड्न त्यहाँ बच्चाले कुरा राख्न पाउँछ। त्यो मिटिङको निर्णय बाबुआमा सबैले मान्नुपर्छ। बच्चाले पनि मान्नुपर्छ।

मृत्युपछि परंपरागत रूपमा गरिने सम्पूर्ण संस्कार हामीले बन्द गरिदिएका छौँ। भौतिकवादी ढंगले मात्रै मृत्युको शोकलाई मनाइन्छ। हामी मृत्युको शोक सात दिनसम्म मनाउँछौँ। सात दिनको दिन शोकसभा अथवा स्मरण सभा हुन्छ। त्यसपछि मृत्युको संस्कार सकिन्छ। यसरी हामीले जन्मदेखि मृत्युसम्मका नयाँ संस्कारको विकास र अभ्यास सुरु गरिसकेका छौँ।

योसँगै अब हाम्रो मूल पर्व के हुने भन्ने निष्कर्ष पनि हामीले निकालेका छौँ। हामीले हाम्रो मूल पर्व भनेर संकल्प पर्व भनेका छौँ। त्यो पर्व माघको मसान्त र फागुन १ गते दुई दिन मनाइन्छ। हामीले किन माघको मसान्त र फागुन १ गते संकल्प पर्व मनाएका हौँ भने, नेपालमा जति पनि बलिदानी भएका छन्, त्यसमा सबैभन्दा ठूलो बलिदानको प्रतीकको दिन फागुन १ गते हो। माघको मसान्तको दिनचाहिँ हामी सार्वजनिक कार्यक्रमहरू गर्छौँ। गोष्ठी र छलफलहरू हुन्छन्। रक्तदान हुन्छ। अपरान्हमा सामूहिक भोजन हुन्छ। त्यहाँ सबैलाई बोलाइन्छ। भोलिपल्ट फागुन १ गते विशुद्ध सांस्कृतिक रुपमा पारिवारिक भेटघाटका कार्यक्रम हुन्छन्। यसरी हामीले हाम्रो मूल चाडपर्व नयाँ निर्माण गरेका छौँ। 

हाम्रो पार्टीमा विशेष अथिति, प्रमुख अतिथि भन्ने हुँदैन। अतिथि भयो भने अतिथि मात्रै हुन्छ। हाम्रो पार्टीमा नेतालाई कार्यकर्ता र जनताले स्वागत गर्नुपर्ने भन्ने हुँदैन। हाम्रो पार्टीमा कसैले पनि तिमी, भाइबहिनी भन्न पाइँदैन। सबैले सबैलाई तपाईं भन्नुपर्छ। कमरेड भने पनि भयो। दाइ, दिदी, काकासम्म चलिआएको नाता सम्बन्धको सम्बोधन गर्न पाइन्छ। सम्मानजनक ढंगले सम्बोधन गर्न पाइन्छ। तर हेपेर, होच्याएर, तल पारेर कसैलाई पनि सम्बोधन गर्न पाइँदैन। हाम्रा भाइबहिनीहरू भन्न पाइँदैन। नेतालाई ज्यू, हजुर भन्नु पर्दैन। यो सबै हामीले बन्द गरेका छौँ। 

तपाईंहरूले फागुन १ गतेलाई संकल्प पर्व अथवा मुख्य चाडको रुपमा मनाउने निर्णय गर्नुभएछ। माओवादी जनयुद्धको सुरुवात पनि ०५२ साल फागुन १ बाटै भएको थियो। त्यो दिनको महत्त्वको प्रचार गर्ने दल अहिलेको माओवादी केन्द्र छँदैछ नि! त्यही दिनलाई तपाईंहरूले संकल्प पर्वको रुपमा मनाउने निर्णय गर्नुको अर्थ के हो?
पहिलो कुरा, माओवादी आन्दोलन अथवा १० वर्षे जनयुद्ध भन्नु र अहिलेको माओवादी पार्टी भन्नु विल्कुल एउटै होइन। फेरि हामी माओवादी आन्दोलनका उत्तराधिकारी पनि होइनौँ। हामी त्यो धारामा पनि काम गरेका मान्छे त यहाँ छौँ। माओवादी मात्र होइन, यहाँ एमालेमा काम गरेका मान्छे पनि छौँ। हाम्रो पार्टीमा ठूलो संख्या त पुराना कुनै पनि पार्टीमा काम नगरेका मान्छेहरू छन्। हाम्रो पार्टीमा ठूलो पंक्ति ५० सालपछि जन्मिएकाहरू छन्। त्यही भएर पनि हामीले ‘नयाँ युगको नयाँ कम्युनिस्ट आन्दोलन’ भनेका हौँ। नयाँ युगको नयाँ कम्युनिस्ट आन्दोलन बनाउँदा नेपाली धर्तीमा भएका बलिदानलाई बिर्सने कुरा भएन।

त्यस्ता बलिदान कांग्रेसमा लागेर पनि भएका छन्। २००७ साभन्दा पहिला त्यस्तो बलिदान भयो। जनआन्दोलन, मधेसवादी आन्दोलनमा लागेर अथवा अन्य कुनै पार्टीको आन्दोलन वा संघर्षमा लागेर पनि बलिदान भएका छन्। त्यस्ता सबै प्रकारका बलिदानहरूलाई एकदिन सम्झिउँ न त भन्ने छलफल हुँदा सबैभन्दा ठूलो बलिदान, धेरैको बलिदानको प्रतिक दिन भनेको फागुन १ गते नै हो। फेरि जनयुद्धको इतिहास बर्सनुपर्ने इतिहास होइन। त्यो त हामीले सधैँ सम्झिनुपर्ने इतिहास पो हो। जनयुद्धको त्यत्रो बलिदानमाथि छेडखान भयो। धोकाधडी भयो। अपमानित गर्ने काम भयो। त्यो अर्कै पक्ष भयो। जनयुद्धलाई सम्झनु भनेको नेपालका सबै बलिदानको प्रतिक पनि हो। त्यसलाई हामी जनयुद्ध दिवसको रुपमा होइन, संकल्प पर्वका रुपमा मनाउँछौँ। 

तपाईँहरूको सम्मेलनले कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध बनाउन पहल लिने भनेको रहेछ, त्यो भनेको के हो?
पहिलो कुरा, अहिले हाम्रो पार्टीको कुनै पनि पार्टीसँग पार्टी एकता गर्ने एजेण्डा छैन। तर, विचार मिल्ने शक्तिहरूसँग संयुक्त मोर्चा बन्न सक्छ। त्यस्ता विभिन्न पार्टीहरूसँग वैचारिक छलफल गर्दै जाने एजेण्डा छ। नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरू आजको युगलाई लेनिनको युग हो भन्छन्। तर, हामी अहिले लेनिनको युग नै परिवर्तन भइसक्यो भन्छौँ। उहाँहरू र हामीबीच युगको व्याख्यामै फरक परेपछि पार्टी एकताको सम्भावना रहेन। 

तपाईँको बुझाइ मार्क्स, लेनिनहरूले जुन सिद्धान्तको विकास र अभ्यास गरे, त्यसको सान्दर्भिकता सकियो भन्ने हो? 
त्यो विल्कुल होइन। सन् १९०० पछि लेनिनहरूले पनि ‘अब मार्क्सको युग छैन। प्रतिस्पर्धात्मक पुँजीवादको युग सकियो। अब एकाधिकार पुँजीवादको युग सुरु भयो’ भनेका थिए। त्यसपछि लेनिनहरूले नयाँ रणनीतिको विकास गरेका हुन्। लेनिनहरूले त्यसो भन्नु भनेको मार्क्सवादको काम छैन भनेको हो त? होइन नि! हाम्रो बुझाइ के हो भने, अहिले पनि मार्क्सवाद, लेनिनवादको काम छ, तर अहिलेको समय उहाँहरूले बाँचेको समय होइन भनेको मात्रै हो।

अहिले नयाँ समय आयो। अब नयाँ उत्पादन सम्बन्ध, नयाँ सामाजिक र उत्पीडनको सम्बन्धको विकास भयो। पुँजीवादले नयाँ रुप लियो। नयाँ रुपको पुँजीवादसँग लड्न अब मार्क्सवादलाई पनि नयाँ ढंगले विकास गर्नुपर्ने भयो। मार्क्सवादको विकास गरेरै लेनिनवाद आएको हो। लेनिन बाँचेको समयमा जुन खालको अर्थतन्त्र थियो, जुन सामाजिक ढाँचा थियो, अब मूलतः त्यो ढाँचा छैन। समय अर्कै ढाँचामा गइसक्यो। फेरि पनि मार्क्सवाद र लेनिनवादका सैद्धान्तिक आधारभूत प्रस्तावनाहरूलाई छाड्नु हुँदैन। त्यसलाई आजको युग अनुसार लागू गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो। 

त्यतिबेला पनि मार्क्स र लेनिनहरूले त्यतिबेलाको अर्थतन्त्र र उत्पादन सम्बन्धका आधारमा कम्युस्ट सिद्धान्तको विकास गर्नु भएको थियो। अहिले त्यो खाले अर्थतन्त्र र उत्पादन सम्बन्ध छैन। अहिले मुख्य उत्पादन शक्ति नै विज्ञान प्रविधि भइसक्यो। अहिलेको विज्ञान, प्रविधिलाई आत्मसाथ गरेर नयाँ युगको नयाँ कम्युनिस्ट आन्दोनल बनाउनुपर्छ भनेर हामीले भनेका हौँ। तर, अरु सबै पार्टी अहिले पनि पुरानै युग छ भन्छन्। त्यसकारण उहाँहरूसँग हाम्रो सैद्धान्तिक छलफल हुनसक्छ, तर पार्टी एकता हुँदैन भन्ने हाम्रो निष्कर्ष हो। पछि छलफल हुँदै जाँदा बुझाइमा एकरुपता भयो भने पार्टी एकता पनि हुन सक्छ, त्यो अर्को विषय भयो।

कम्युनिस्ट पार्टीहरूले राजनीतिक दललाई आफ्ना मित्र शक्ति र बैरी शक्तिको रुपमा व्याख्या गर्ने परम्परा छ। नेपालमा क्रियाशील पार्टीहरूमध्ये तपाईँहरूको मित्र शक्ति र बैरी शक्तिचाहिँ कुन-कुन हुन्?
सामान्यतः हामीले अहिले मोहन वैध ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र विप्लव नेतृत्वको नेकपालाई मित्र शक्ति मान्छौँ। यसअघि हामीले विप्लव नेतृत्वको नेकपालाई सबैभन्दा नजिकको मित्रशक्ति भनेका थियौँ। तर, अहिले उहाँहरूले अलिक पर जानुभएको महसुस हामीले गरेका छौँ।

यथास्थितिवादी शक्ति, ढुलमुले वामपन्थीको भूमिकामा माओवादी केन्द्रलाई हामीले राखेका छौँ। प्रचण्डजीहरू अहिले वामपन्थ हुने कोसिस गरिरहनु भएको छ। कम्युनिस्ट बन्ने त उहाँहरूसँग कुनै एजेन्डा नै छैन। चुनावमा मात्रै ध्यान छ। वामपन्थी भूमिकासम्म निभाउन सकिन्छ कि भनेर उहाँहरू कोसिस गरिरहनु भएको छ। त्यो पनि ढुलमुले खालको। मूलरुपमा उहाँहरू यथास्थितिवादमा हुनुहुन्छ। एमसीसी पास गरेबाटै उहाँहरूको सच्चा चरित्र सार्वजनिक भइसकेको छ। ढुलमुले वामपन्थीको कोटीमा हामीले माओवादी केन्द्र, एमाले लगायतका पार्टीलाई राखेको छौँ। माओवादी र एमाले खेमाकै तर, सिधा प्रतिक्रियावादी पार्टीमा कांग्रेस पर्छ। अर्कोतिर राप्रपा जस्ता प्रतिगामी शक्तिहरू पनि छन्।

तपाईँले लामो सयम अहिलेका ढुलमुले भनिएका वामपन्थी पार्टीमा बिताउनु भयो। तपाईंका धेरै पुराना मित्र अहिले पनि माओवादी केन्द्र र एमालेमै छन्। उनीहरूसँग तपाईँ किन यसरी टाढिनुभयो? 
पहिलो संविधानसभासम्म माओवादी केन्द्रले आफूना एजेन्डा छाडेको थिएन। क्रान्तिकारीपन पनि त्यसले गुमाइसकेको थिएन। पहिलो संविधानसभाको विघटनपछि दोस्रो संविधानसभासम्म आइपुग्दा माओवादीले आधारभूत रुपमा आफ्नो क्रान्तिकारी चरित्र गुमायो। त्यतिबेलै त्यो पार्टी दलालकरण भइसकेको थियो। उसले सबै क्रान्तिकारी एजेन्डाहरू पनि छोड्यो। परिवर्तनका एजेन्डा पनि छाड्ने, पार्टीको चरित्र पनि क्रान्तिकारी नरहने भएपछि हामीले २०७० सालदेखि नै त्यो पार्टीभित्र अन्तर संघर्ष सुरु गरेका थियौँ। त्यतिबेलै मैले नेपालमा संगठित कम्युनिस्ट आन्दोलनको विसर्जन भएको विषय उठाएको थिएँ। पछि अकस्मात रुपमा कसैसँग छलफल नगरि, कुनै पनि कमिटीमा निर्णय नै नगरी एमालेसँग एकता गर्ने निर्णय पार्टी नेतृत्वले गर्यो। त्यसपछि यो पार्टीमा बसेर वहस गर्ने अवस्था पनि रहेन। अब यो पार्टी रहेर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सकिन्न भनेर हामीले नयाँ कम्युनिस्ट आन्दोलन निर्माणको प्रक्रिया सुरु गरेका हौँ।

तपाईँ आफैँ पनि पहिलो संविधानसभाको सदस्य हो। अहिलेको संविधानप्रति तपाईँको पार्टीको मूल्यांकन के हो? 
पहिलो संविधानसभामा जनताको पक्षमा संविधान निर्माणको लागि जेजति वहस भएका थिए, विभिन्न समितिहरूले जेजे रिपोर्टहरू दिएका थिए, दोस्रो संविधानसभाले ती सबै विषयलाई तुहाउने काम गर्यो। संविधानसभामा प्रतिवेदन अध्ययन समिति थियो। त्यसमा म पनि सदस्य थिएँ। त्यहाँ हामीले राज्य पुनर्संरचनाको मोडेलको विषयमा निकै लामो वहस गरेर एउटा निष्कर्ष निकालेका थियौँ। उत्पीडित समुदायका विशेषाधिकारका विषय प्रतिवेदनमा समेटिएका थिए। ती विषय संविधानमा नसमेटिउन् भनेर पहिलो संविधानसभालाई असफल बनाउने काम गरियो।

पहिलो संविधानसभाले संविधान निर्माण गरेको थियो भने अहिलेको भन्दा निकै प्रगतिशील संविधान बन्ने थियो। दोस्रो संविधानसभा पहिलो संविधानसभामा भएका वहसहरूलाई विकृत पार्नको लागि बनाइएको थियो। त्यसकारण यो संविधान न त उत्पीडित समुदायको पक्षमा छ, न त उत्पीडित वर्गको पक्षमा छ। यो संविधानले मजदुर वर्गको लागि के गर्यो? केही गरेको छैन। मजदुर वर्गलाई फ्रिभिसामा विदेश जाऊ भन्छ। संघीयताको जुन मोडेल बनाइएको छ, त्यसले आदिवासी जनताजिका सबै भाषा सिध्याउने काम गरेको छ। त्यसको लागि हामी बागमती प्रदेशलाई नै उदाहरणको रुपमा लिन सक्छौँ। बागमती प्रदेशमा अब तामाड र नेवारी भाषा जोगिने अवस्था नै छैन। 

यो संविधानले उत्पीडित जाति, क्षेत्र र वर्गको लागि समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ, त्यसलाई सकारात्मक रूपमा लिनुहुन्न? 
यो संविधानले दलितहरूको हकहितको विषयमा केही बोलेकै छैन। समानुपाति प्रतिनिधित्वको नाममा दुईचारजना दलित संसद्मा पुग्नेबाहेक यो संविधानले दलितको लागि के गरेको छ र? दलित, उत्पीडितको पक्षमा पहिलो संविधानसभाले जुन ढंगले विषयको उठान गरेको थियो, ती सबैलाई मार्ने काम यो संविधानले गरेको छ। दलित, उत्पीडितका विषयलाई संविधानले कानुन मुताविक हुने भनेको छ, धेरै ठाउँमा। संविधानलाई कानुनभन्दा मुनी राख्ने काम गरिएको छ।

पहिलो संविधानसभाले जसरी मौलिक हकको रुपमा समेटेको थियो, ती विषयलाई यो संविधानले कानुन मुताविक हुने भनेको छ। महिलाहरूको विषयमा यो संविधानले सामन्तवाद विरोधी अधिकारहरू सबै राख्यो। अहिले महिलामाथिको उत्पीडन पुँजीवादी छ। त्यसविरुद्ध संविधानमा कुनै विषय छैन। किसानको हकहितको विषय पनि यो संविधानमा समेटिएको छैन। भूमिसुधार गर्ने कुरा पनि छैन। त्यसैले यो संविधानले उत्पीडित वर्ग वा उत्पीडित समुदाय कसैको पनि पक्षमा छैन। 

दलित, उत्पीडित समुदायको लागि संविधानले समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ, यो त सकारात्मक पक्ष होला नि? 
ती केही सुधार मात्रै हुन्। एकजना वडा सदस्य दलित महिला बन्न पाउने, समानुपातिक ४० प्रतिशतभित्र केही दलित, जनजाती जान पाउने विषय यो संविधानका सकारात्मक पक्ष हुन्। त्यसलाई सुधारको रुपमा लिन सकिन्छ। तर, यो संविधानमार्फत नेपालमा समावेशिताको सिद्धान्तलाई पनि विकृत बनाउने काम भएको छ। ४० प्रतिशत समानुपातिक प्रतिनिधित्वभित्र विगतदेखि जित्दै आएका वर्ग, समुदायलाई पनि पारियो। यो यसको विकृत पक्ष हो। यो संविधानबाट केही दलितले माननीय हुने अवसर पाउलान्, त्यो गौण कुरा हो। विगतमा पञ्चायतले पनि एकाध दलितलाई मन्त्री बनाउँथ्यो। तर, त्यसले दलित समुदायको आधारभूत प्रगति भएन।

बहुसंख्यक जनता यो संविधानको पक्षमा छन्। अहिले पनि उनीहरूको साथ कांग्रेस, एमाले, माओवादी जस्ता प्रमुख पार्टीहरूलाई नै छ। ती दलसँग तपाईँहरू कसरी प्रतिस्पर्धा गरेर अगाडि आउनुहुन्छ? 
पुराना पार्टीहरूसँग हाम्रो संघर्ष हुने हो, प्रतिस्पर्धा होइन। पुरानो व्यवस्थाका रक्षक दलहरूसँग हामी संघर्ष गर्छौं। उनीहरूसँग हाम्रो मित्रतापूर्ण प्रतिस्पर्धा हुँदैन। फेरि अहिले हुँदै आएको निर्वाचनमा हामी उनीहरूसँग प्रतिस्पर्धा गर्ने पक्षमा पनि छैनौँ। हाम्रो सामान्य कुरा के हो भने, अबको दुई वर्षभित्र हामीले राष्ट्रियस्तरमा हस्तक्षेप गर्नसक्ने पार्टी निर्माण गर्नेछौँ। तर, संसद्वादभित्र प्रवेश गर्ने हाम्रो कुरा छैन। आफ्नै बलबुत्तामा सर्वहारा श्रमिक वर्ग, विस्थापित वर्ग र उत्पीडित समुदायलाई साथमा लिएर वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्दै जाने कुरालाई नै हामीले मुख्य प्राथमिकतामा राखेका छौँ। 

तपाईँ संसद्‍वादभित्र हामी प्रवेश गर्दैनौँ भन्नुहुन्छ। तपाईंले नै मित्र शक्ति मानेको विप्लव नेतृत्वको नेकपाले भर्खरै सकिएको सम्मेलनमार्फत दल दर्ता गर्ने, चुनावमा जाने निर्णय गरिसक्यो।
उहाँहरूको त चुनावमा जाने अलिक पहिला देखिकै एजेन्डा हो। गएको स्थानीय चुनावदेखि नै उहाँहरूले चुनावमा जाने नीति लिनुभएको हो। तर, हामी त्यसमा सहमत छैनौँ। त्यही भएरै उहाँहरू अलिक टाढा गइसक्नुभयो भनेका हौँ हामीले।

०८४ मा देशमा फेरि अर्काे निर्वाचन हुँदैछ। दलहरू त्यसको तयारीमा लागिसकेका छन्। तर, तपाईंहरू चुनावमा जाने कि नजाने निर्णयमै पुग्नु भएको छैन?
चुनावबारे हाम्रो नीति नै नभएको चाहिँ होइन। संसदीय व्यवस्थाभित्र भाग लिएर समाजवाद निर्माण हुँदैन भन्नेमा हामी प्रष्ट छौँ। त्यसकारण यो संसदीय पुँजीवादी व्यवस्थालाई भत्काउने कुरा नै अहिले मुख्य कुरा हो। अबको चुनावसम्म घटना क्रम अगाडि बढ्छ, त्यतिबेला त्यस विषयमा हामी ठोस कार्यक्रम बनाउने छौँ।

पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्यक्ष कार्यकारी प्रमुखमा जानुपर्छ भन्ने विषयलाई जोडदारसँग उठाउन थाल्नु भएको छ। त्यसलाई चाहीँ तपाईँहरू ठिकै मान्नुहुन्छ होला होइन?
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्छ भन्ने उहाँहरूको तर्क स्थायी सरकार निर्माणको हेतुले आएको मात्रै हो। पाँच वर्षसम्म निरन्तर सरकार चलाउन पाइयोस् भनेर त्यो तर्क अघि सारिएको हो। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई दुई तिहाइ बहुमत नभइ हटाउन पाइन्न भन्ने सोचसहित आएको विचार हो यो। यसमा हामीले बुझ्नुपर्ने कुरा के छ भने, माओवादी र एमालेलाई मिलाएर नेकपा बनाउँदा उहाँहरूसँग संसद्मा करिब दुई तिहाइको संख्यामा हुनुहुन्थ्यो त। उहाँहरूले के गर्नुभयो? हामीले देखेकै छौँ त। त्यतिबेलाका प्रधानमन्त्री केही ओली प्रत्यक्ष निर्वाचित राष्ट्रपति सरहकै शक्तिशाली थिए त। उहाँले के गर्नुभयो? सबैले बुझेकै छन् त। फेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली पनि पुँजीवादी संसदीय व्यवस्था नै हो। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन समाजवादी व्यवस्था त त होइन नि। यो यो संसदीय व्यवस्था नै असफल भइसकेपछि अरु विषय गौण भए।

जनयुद्ध र जनआन्दोलनबाट आएका ठूला राजनीतिक शक्तिहरू अहिले सत्ता र प्रतिपक्षमा छन्। तपाईंहरूका यी कुरा कसले सुन्ने? 
ठूलो र सानो मुख्य कुरा होइन। राजनीतिमा वैचारिक कुरा नै मुख्य हुन्छ। नेपाली कांग्रेस नै सुरुमा कत्रो थियो र? नेकपाकै गठन सुरुमा चारजनाले गरेका हुन्। माओवादीले जनयुद्ध सुरु गर्दा जम्मा २७ जना केन्द्रीय सदस्य थिए। त्यसकारण मूल कुरा ठूलो र सानो शक्ति भन्ने होइन। अहिले माओवादी केन्द्र ठूलै पार्टी छ। त्यसले के गर्छ त? एमाले माओवादी भन्दा दोब्बर ठूलो पार्टी छ त्योबाट केही भएको छ देशमा? पार्टी ठूला भएर जनताको पक्षमा, उत्पीडत समुदायको पक्षमा सकारात्मक काम हुने हो र? होइन नि! विचार र नीति बिनाका ठूला पार्टीले केही गर्न सक्दैनन्। त्यसकारण मुल समस्या नेपालमा अहिले वैचारिक नै हो। त्यो के हो भने आजको साम्राज्यवाद र देशभित्रको दलाल पुँजीवादले कृषिलाई निरास बनाउँदै लगेको छ। उद्योगधन्दा खोल्न नदिने नीति लिएको छ।

यसले उत्पादनबाट सिंगो समाजलाई बेदखल गरेर केवल श्रम प्रदायक र उपभोक्ता समाज बनाइदियो। नेपालका पुराना र संसदवादी पार्टी र क्रान्तिकारी कित्ताभित्रका पार्टीहरूसँग साम्राज्यवाद र दलाल पुँजीवादले उत्पादनबाट बेदखल गर्दै लगेको समालाई फेरि उत्पादनमुखी कसरी बनाउने भन्ने थेसिस उनीहरूसँग छैन। त्यो नभएकैले उनीहरू असफल बन्दै गएका हुन्। त्यो वैचारिकी उनीहरूसँग छैन। पिरामिड आकारको पार्टी बनाउँदा गुटबन्धी कसरी जन्मिदो रहेछ भनेर उहाँहरूले बुझिसक्नुभयो, तर गुटबन्धी अन्त्य गर्न पिरामिड आकारको आकारको पार्टीलाई भत्काएर छाल र लहर आकारको पार्टीमा जानुपर्छ भन्ने थेसिस उहाँहरूसँग छैन। त्यो हामीसँग छ। त्यो अभ्यास हामीले सुरु गरिसकेका छौँ।  

तपाईँले भनेजस्तो छाल वा लहर आकारको पार्टी कस्तो हुन्छ, जनयुद्धकालीन माओवादी जस्तो? 
त्यस्तो होइन। जनयुद्धकालीन माओवादी पनि पिरामिड आकारकै पार्टी थियो। त्यसका सर्वाेच्च कमाण्डर त प्रचण्ड नै थिए नि। सर्वोच्च कमाण्डर भनेपछि कसरी त्यो पिरामिड आकारको भयो र? 

जुनसुकै पार्टीमा पनि नेतृत्व, मुख्य लिडर त भइहाल्छ नि! तपाईँहरूकै वैज्ञानिक समाजवादी पार्टीमा पनि तपाईं प्रमुख (महासचिव) हुनुहन्छ त?
अरु पार्टीको महासचिव र हाम्रो पार्टीको महासचिव एउटै होइन। अरु पार्टीका महासचिव सर्वशक्तिमान हुन्छ। हाम्रो पार्टीको महासचिव भनेको केन्द्रीय समितिको कामलाई संयोजन गर्ने भूमिकामा मात्रै हुन्छ। हामीले भनेको के हो भने, कम्युनिस्टको नाममा होस, या अन्य पुँजीवादी पार्टी नै किन नहुन्, प्रतिनिधिले शासन गर्ने व्यवस्था असफल भइसक्यो। अब हामीले यस्तो समाजवाद र पार्टी बनाउनु पर्यो कि, सरोकारवालाहरूले निर्णय गर्ने, प्रतिनिधिहरूले केवल लागू मात्रै गर्ने। यो पुराना पार्टीको भन्दा विल्कुलै फरक दृष्टिकोण हो।

पुराना पार्टीमा अधिकार केन्द्रमा हुन्छ। हामीले बनाउन खोजेको पार्टीमा अधिकार तल जनतामा हुन्छ। विश्व पुँजीवादसँग उत्पादनसहित कसरी लड्ने भन्ने थेसिस नहुँदा पार्टीहरू असफल भए। अबको वर्ग संघर्ष कसरी सञ्चालन गर्ने भन्ने विचार नै उनीहरूसँग छैन। पार्टीहरू पिरामिड आकारबाट जाँदा कि त निरंकुशता जन्मियो, कि त फुट जन्मियो। त्यसकारण पार्टी निर्माणको मोडललाई हामीले फेर्न खोजेका हौँ।

तपाईंले हाम्रो पार्टीमा ५० सालपछि जन्मिएका युवाहरूको ठूलो समूह छ भन्नुभयो। तपाईंहरूलाई पुराना मान्छेले विश्वास नगरेपछि नयाँ पुस्तामा जान खोज्नु भएको हो?
हामीले पार्टी निर्माणको दुईतीन वर्षमा के बुझ्यौँ भने, विशेषगरि ४० वर्ष नाघिसकेको, राजनीति गर्दै आएको प्रौढ पुस्ता या त निरास भएको छ, या त भ्रष्ट र विकृत भएको छ। त्यो पुस्तामा पनि सकारात्मक मान्छेहरू त छन् तर उनीहरूको दिमागमा यति ठूलो आघात परेको छ कि त्यो मान्छे तुरुन्तै बौरिने अवस्था हामीले देखेका छैनौँ। त्यो मान्छे या त पुरानै लहरमा मिसिएर हो मा हो मिलाउँदै जाने देखियो। जो अलिक सकारात्मक सोच राख्छन्, अलिकति सिर्जनात्मक हुन खोज्छन्, क्रान्तिकै निम्ति भनेर निष्ठापूर्वक लागेका मान्छेहरूको दिमागमा चाहिँ यति ठूलो आघात परेको देखियो कि धोकाधडीले उनीहरूले तुरुन्तै हामीलाई विश्वास गर्ने अवस्था पनि देखेका छैनौँ।

फेरि अहिले क्रान्ति बुढो पुस्तालाई होइन, युवा पुस्ता, त्यसमा पनि प्सटु पढ्दै गरेको पुस्तालाई चाहिएको छ। सिंगो जीवन उसको बाँकी छ। त्यसकारण हामीले ३० वर्ष नाघेकाहरूलाई ध्यान दिने, ३० वर्षमुनिका युवालाई जोड दिने रणनीति हामीले तयार पारेका छौँ। अहिले हामी ३० वर्षमुनिको पुस्तामा बढी केन्द्रित भएका छौँ। पहिलो कुरा हामीले समाजको पिँधमा काम गर्न थालेका छौँ। अर्को, उमेर समूहको हिसाबले ५० सालपछि जन्मिएको युवा पुस्ता, जो जीवन के हो भनेर खोजी गरिरहेको छ, त्यो पुस्तामा हामी केन्द्रित भएका छौँ। त्यो पुस्ता पुरानो धङधङीबाट चोटग्रस्त पनि छैन, फ्रेस छ। पछिल्लो समय त्यो पुस्तामा हामीले बढी काम गरेका छौँ। जसको कारणले हामी एउटा आकारमा आउन अहिले सम्भव भएको हो। 

वैज्ञानिक समाजवादी पार्टीको केन्द्रीय समितिको नामावली हेर्दा अलिक धेरै दलित समुदायबाट प्रतिनिधित्व भएको देखिन्छ, यसको खास अर्थ के हो?
अहिले हाम्रो पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशतभन्दा धेरै दलित समुदायबाट विकसित क्रान्तिकारीहरूको प्रतिनिधित्व छ। यस्तो दुईवटा कारणले भयो। एउटा चाहिँ यो आन्दोलन निर्माण गर्दा संयोजकको रुपमा महासचिवको भूमिका मैले खेल्नुपर्‍यो। लामो समयदेखि दलित आन्दोलनमा वैचारिक काम गर्दै आएको व्यक्ति पनि भएको हुनाले त्यो समुदायका मान्छेहरूले छिटो कुरा सुन्ने वातावरण बन्यो। दोस्रो, हामीले जात व्यवस्थाबारे दक्षिण एशियामा नै विल्कुलै नयाँ निष्कर्ष अघि सारेको हुनाले पनि जात व्यवस्थाबाट सबैभन्दा पीडितहरूको ध्यान हाम्रो पार्टीले खिचेको छ। फेरि अर्को के पनि हुने गर्छ भने, जुन जाति समुदायको मान्छेले नेतृत्व गर्छ, सबैभन्दा धेरै सोही समुदायका मान्छे त्यसमा समेटिन्छन्। सबैभन्दा पहिला नातेदारहरू पार्टीमा आबद्ध हन आइपुग्छन्।

पुष्पलालहरूले नेकपा बनाउँदा सबैभन्दा पहिला काठमाडौँका नेवारहरू संगठित भएका थिए। पछि मात्रै मनमोहन अधिकारीहरू जोडिए। त्यसपछि मात्रै ब्रामण समुदायबाट पनि संगठित हुन थाले। मधेसतिरबाट जयगोविन्द साहहरू जोडिएपछि मधेसी युवाहरू संगठित भएका हुन्। हामीलाई के खुसी लागेको छ भने, नेपाल र दक्षिण एशियाको हकमा समाजको पिँधको वर्ग भनेकै दलित हो। उनीहरू पार्टीमा आउँछन् भने हामीले दुःखी हुनु जरुरी छैन। हामीलाई चाहिएको समुदाय आइरहेको छ। यो खुसी हुने नै विषय भयो। त्यसले त हामी अझ उत्साहित नै हुनुपर्छ। तर, पछिल्लो समय गैर दलित समुदायमा पनि हाम्रो पार्टीमा धेरै युवाहरू संगठित हुनु भएको छ। 

तपाईंसँग सहकार्य गरेका नेता-कार्यकर्ता पहिला-पहिला आहुति वर्गीय कुरा गर्नुहुन्थ्यो, अहिले जातीय कुरा बढी गर्न थाल्नुभएको छ भन्ने आरोप लगाउँछन् नि!
त्यो हाम्रो दस्तावेज नपढेकाहरूको आरोप हो। उहाँहरू हामीले गर्न खोजेको व्याख्या बुझ्न खोज्नुहुन्न। हामीले नेपाली समाजमा चार-पाँचवटा मुख्य समस्या छन् भनेर व्याख्या नै गरेका छौँ। जसमा पहिलो र निर्णायक समस्या नै वर्गीय हो भनेका छौँ। हामीले वर्ग संघर्षमा जोड दिनुपर्छ भनेर किटान गरेका छौँ। त्यसपछि समुदायगत समस्याहरू छन्। जात व्यवस्था, पितृसत्ता, आदिवासी जनजातिमाथि उत्पीडनको समस्या छ। अर्कोतिर देशमा साम्राज्यवादी उत्पीडनको समस्या छ भनेर हामीले किटेरै भनेका छौँ। हामी वर्गीय समस्या र वर्गीय चिन्तनबाट लतमाथि हुने कुरै छैन। त्यो हुँदैन।

तपाईँहरूको पार्टीको मूल लाइन भनेको अहिले चुनाव जितेर केही गर्न सकिँदैन, त्यो नसके पनि कम्युनिस्टको सिद्धान्त र विचारलाई जोगाइराखौँ भन्ने हो? 
त्यो होइन। कम्युनिस्टको विचार र सिद्धान्तलाई जोगाउने त अरु थुप्रै पार्टी छँदैछन् नि। किताबै छ नि जोगाउनलाई। जोगाउने मात्रै कुरा होइन। हामीले निर्माण गरेको नयाँ विचारमा क्रान्ति निर्माण गर्दै अगाडि जाने कुरा नै मुख्य हो। हामी अहिलेदेखि नै वैज्ञानिक समाजवाद बनाउँदै अगाडि बढिरहेका छौँ। 

कम्युनिस्टहरू त सत्ता बल प्रयोग नगरी प्राप्त हुँदैन भन्ने दर्शनमा विश्वास गर्छन्। त्यसरी अघि बढ्दै जाँदा सशस्त्र संघर्ष पनि गर्नुहुन्छ? 
हामीले प्रष्ट रुपमा दस्ताबेजमा लेखेका छौँ, क्रान्तिकारी सेना बिनाको कम्युनिस्ट पार्टी हुँदैन भनेर। वर्ग संघर्षमा बल प्रयोगको भूमिका अनिवार्य हुन्छ। सुरुदेखि नै हामी आफ्नो रक्षाको निम्ति तयारी पनि सँगसँगै गर्नुपर्छ भन्नेमा हामी प्रष्ट छौँ। अहिले हामीलाई चाहिएको स्वयंसेवक दस्ता हो, त्यो हामीसँग छ। त्यस्तो दस्ता हामीलाई जति आवश्यक पर्छ, त्यति विकास गर्दै जान्छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad