भदौ ७ गते धरानका तीन जना मेयर र एक उपमेयरले नागरिक कर्तव्य निर्वाह नगरेको भए भदौ ९ गते यो सहरमा धार्मिक र जातीय घृणाको आगो बल्नसक्थ्यो। यी चारजना प्रबुद्ध नागरिकको सचेत सक्रियताका कारण हिन्दू भर्सेस क्रिस्चियन र बाहुन–क्षेत्री भर्सेस आदिवासी जनजातिबीच चर्काउन खोजिएको साम्प्रदायिक दंगा तत्काललाई टरेको छ।
तर बहुसांस्कृतिक धरान अझै ढुक्क निदाउन सक्ने अवस्थामा छैन। धरान बाहिरबाट भेला भई प्रदर्शनका निम्ति आउने भीडले बालगोपाल मन्दिर सम्मुख बनाइएको होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च भत्काउने सार्वजनिक उद्घोष गरेका कारण धरानले एकसाता पूरै सन्त्रासमय रात काटेको थियो।
राई–लिम्बू समुदायले गाई काटेकोले उनीहरुलाई सजाय दिने भन्दै बजरंग दल र हिन्दू सम्राटजस्ता उग्र हिन्दूवादी संगठनले नाराबाजी गरेको भिडिओ सामाजिक सञ्जालमा फैलाइरहेका थिए। अर्कोतिर ती समूह धरान आउनसक्ने भन्दै राई–लिम्बूका पाँच वटा युवा फोर्स घरका छतछतमा ढुंगा र शस्त्र राखी ढुकेर बसिरहेको डरलाग्दो अवस्था थियो। स्थानीय प्रशासनले निषेधाज्ञा लगाए तापनि धरानबासी निकै डराएका देखिन्थे।
बहालवाला मेयरले गर्न नसकेको यस्तो काम गर्नेमध्येका एक पूर्वमेयर कुमारबहादुर कार्कीलाई भेट्न म उनकै निवास्थानमा पुगेको थिएँ। ३२ वर्ष शिक्षण पेसामा बिताएका प्राध्यापक कार्की महेन्द्र बहुमुखी क्याम्पस धरानमा १४ वर्षसम्म क्याम्पस प्रमुखको भूमिकामा रहे। काठमाडौंको त्रिचन्द्र कलेजमा पनि प्राध्यापन गरेका कार्की महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा पनि २०५१–५५ सम्म क्याम्पस प्रमुखको रुपमा थिए। २०६१ सालमा गण्डकी अञ्चल प्रशासक समेत रहेका कार्की २०६० सालमा धरानको मेयर पदमा आसीन थिए। धरानको सामाजिक बनोट र त्यसको संवेदनशीलता राम्ररी बुझेका कार्कीसँग गरिएको लामो भिडिओ वार्ताको सम्पादित संस्करण :
धरानमा सङ्ग्रामी स्थिति आउने भो भनेर सद्भाव कायम गर्न सक्रिय भयौँ : पूर्वमेयर कार्की
काठमाडौँपछि धरान सबैभन्दा विविधतायुक्त सहर हो। धेरै जातजाति, धेरै धार्मिक सम्प्रदाय र विविध सांस्कृतिक पहिचान भएका मान्छेहरुको बसोबास भएको सहर धरानमा नेपालमा भएका लगभग सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको बसोबास छ। विविध ठाउँबाट आएका मान्छेहरु मिलेर बसेको ठाउँ हो यो। धरान ऐतिहासिक थलो पनि हो। शैक्षिक केन्द्र भएकोले यो बौद्धिक सहर पनि हो। धरानमा हामीबीच व्यवहारमा कहिल्यै अन्तर आएको छैन।
हाम्रोमा भेदभाव गर्ने चलन पनि छैन। स्वंयले नभन्दासम्म को क्रिस्चियन हो भनेर हामी चिन्दा पनि चिन्दैनौँ। देशका अन्य सहरभन्दा यहाँ हामी सबैको संस्कृति जानेको बुझेको मान्छेहरु बसोबास गर्छौं। कतिसम्म भने हामीबीच कुनै झै–झगडा भयो भने गल्ती गर्नेलाई माफ मगाएर हात जोडेपछि सारा गल्ती मिनाहा हुने र कहिल्यै दागा नधर्ने अभ्यास गर्दै आइरहेका हौँ। हामी रक्सी त खाँदैनौँ तर यताको आदिवासी संस्कृति बमोजिम मुद्दा मिलाएबापत रक्सी खानैपर्ने चलन छ। त्यो संस्कृतिको मान राख्दै मुद्दा मिलाएपछि एकाबिहानै रक्सी खाएका पनि छौँ। यसरी एकअर्काको संस्कृतिलाई सहजै स्वीकारेर, पचाएर मिलेर बसिरहेको समाज हो हाम्रो धरान।
धरानमा बढेको कट्टरता
यो सहरमा अहिले देखिएजस्तो साम्प्रदायिक भावना यसअघि प्रकट रुपमा कहिल्यै देखिएको थिएन। अज्ञानता र अशिक्षाका कारणले समाजभित्र सानातिना संकीर्ण सोच देखिनु स्वाभाविक हो। तर त्यो प्रकट रुपमा देखिएको थिएन। समाज ज्यादै खुला हुँदै गयो। त्यस हिसाबले चेतना पनि फैलँदै गयो। मान्छे शिक्षा र चेतनायुक्त हुँदै गए। यो सबै भएपछि समाज झन एकीकृत हुनुपर्ने र एकले अर्कालाई बुझ्न समझदारी बढ्नुपर्ने हो तर यस्तो भइदिएन। बीचमा राजनीतिक, धार्मिक साँस्कृतिक स्वार्थका तगाराहरु आइदियो।
राजनीतिमा फेल हुँदै गएपछि मान्छे जाति, धर्म र संस्कृति खोज्दै जान्छ। चुनाव जित्न पनि त्यही केन्द्रित नाराहरु दिन्छ। यो हत्कण्डा राजनीतिमा मिसिँदा त्यसले समस्या उत्पन्न गराइदियो। अहिले सद्भाव भड्किनुमा एउटा कारण यो पनि हुनसक्दछ।
आ–आफ्नो जातजातिका इतिहास र संस्कृति खोज्नु स्वाभाविक कुरा हो। खोज्दै जाने क्रममा तीन सय वर्षअगाडि के थियो र अब कसरी जानुपर्छ भनी दिशानिर्देश गर्ने कामको नेतृत्व जान्नेबुझ्ने र बुज्रुकहरुले गर्नुपर्थ्यो। पछिल्लो समय सानातिना देखिने सांस्कृतिक अभ्यासहरुले अरुलाई कस्तो असर पुर्याइरहेको छ र आफ्नो अधिकारको कुरा गर्दा अर्काको अधिकारलाई कसरी हानि नपुर्याई काम गर्नुपर्छ भन्ने सोचको अभाव देखिन्छ।
पढेलेखेका, व्यवहारमा परेका, विद्वत वर्ग र परिष्कृत दिमाग भएका मान्छेहरुबीचको गोष्ठी र छलफलबाट के गर्ने, कसो गर्ने भनी निर्क्यौल निकालेर अगाडि बढ्नुपर्नेमा त्यो हुन सकेको छैन। सबै किसिमले नङ र मासु सरह मिलेर बसिरहेको समाजमा अकस्मात एउटा डरलाग्दो साम्प्रदायिक कट्टरता प्रकट भइदियो।
बढ्दो इसाईकरण
यो मेरो नितान्त व्यक्तिगत धारणा हो, जसमा म गलत पनि हुन सक्दछु, मेरो विचारसँग असहमत पनि हुन सकिन्छ। तर धरानमा पछिल्लो केही वर्षयता इसाईकरण असाध्यै बढेर गयो। मेरो जानकारीमा धरानभित्र ८३ वटा चर्च (क्रिस्चियन समाज धरानको तथ्यांक अनुसार ७५ वटा चर्च छन्) छन् भनिन्छ। पहिला अशिक्षा र अज्ञानताले हामीभित्र भेदभाव पनि थियो होला। आर्थिक र सामाजिक रुपले पछाडि परे होलान्। सरकारको तहमा भएको मान्छेले उनीहरुलाई हेपाइ पनि गरे होलान्।
यी सबै कुराहरुको पृष्ठभूमिमा धर्मान्तरण भयो होला। कोही जानेर गए, कोही नजानेर गए। जानेर बुझेर जानु त राम्रै हो। किनभने बुझेर जानेहरुले राम्रै काम गर्छन्। नबुझेर जानेहरुले हिजो हामीलाई अन्याय गरेका थिए भन्ने भावनालाई उग्रताको हदसम्म बढाउँदै लैजान्छन्। हरेक धर्ममा उग्रवादी, अतिवादी, जडतावादी पनि छन् र सुधारवादी पनि हुन्छन्।
धरानमा ८३ वटा चर्च बन्दा पनि कसले के गरेको थियो र? तर यसपालि मन्दिरको अगाडि परेको हुनाले चर्चामा आयो। ठिक छ, चर्च त्यहीँ नै बनाउनुपर्थ्यो भने सबै प्रक्रिया पुर्याएर बनाए हुन्थ्यो। नगरपालिका थियो। तर त्यसो गरिएन। मलाई सुनाए अनुसार, पहिला पार्टी प्यालेस बनाउने भनेर संरचना बनाउँदै गएकाहरुले पछि त्यसलाई चर्चको स्वरुप दिए। यो प्रकरणमा नगरपालिकाले हिन्दू र क्रिस्चियनका प्रबुद्ध मान्छेहरुलाई डाकेर छलफल गरेर टुंगो लगाइदिएको भए हुन्थ्यो। आँगन–आँगन जोडिएकोले पनि विवाद भयो। कतै अन्त बनाए पनि हुन्थ्यो होला। यस्ता कुरा छलफलबाटै टुङ्गो लाग्न सक्थ्यो।
यहाँको आम मान्छेलाई को हिन्दू को क्रिस्चियन केही सरोकार छैन। तर उत्तेजना फैलाउन खोज्नेहरुले मान्छेको आस्थामाथि खेल्न खोजेकोले समाजका बुज्रुक र धर्मको वरिष्ठ हुँ भन्नेहरुले सोचिदिनु पथ्र्यो। सांस्कृतिक पक्षधरहरुले पनि आफ्नो मागले पार्ने प्रभावको मूल्यांकन गरेर तत्कालीन र दीर्घकालीन नीति बनाउनुपर्थ्यो। दीर्घकालीन निर्णय एकै दिनमा हुँदैन, समय लाग्छ। मान्छे मात्र उफारेर भएन। चेतना सहित उफार्न सक्नु पर्यो। बुझेर गरेको पक्का पनि हुन्छ। नबुझेर गरिएको क्षणिक हुन्छ। हामी हिन्दू मन्दिरमा जान्छौँ। मस्जिदमा पुग्दा पनि त्यसको सम्मान गर्छौँ। चर्चको पनि सम्मान गर्छौँ। किनभने सबै धर्म मानवकल्याणका लागि हुन्। यो चेत सबैमा हुनुपर्यो।
गोरु काटेको प्रचारबाजी
नेपालभर अहिले अराजक स्थिति छ। सुशासन छैन। कुशासन व्याप्त छ। भ्रष्टाचार बढ्दो छ। मान्छेमा निराशा छ। त्यसमाथि पहिचानको कुरा पनि थपिएको छ। यी सबै कुरा मिसियो। सबै मिसिएपछि कतिले खुलेर गरे, कतिले लुकेर गरे। गोरु काटेको कुरा पनि त्यही हो। कसले के गर्छ, खोजेर हिँडिएको थिएन। नेपालमा खाने चलन थियो। कसैले खोजिनीति गरेका थिएनन। तर यसलाई प्रायोजित रुपमा हो या अज्ञानतावश प्रचारबाजीमा ल्याइयो।
मैले सुने अनुसार गोरुका मासु बेच्ने पार्टनरहरुबीच विवाद भएपछि यो कुरा बाहिर ल्याइएको हो। अरु कसैले त्यहाँ खोजिनीति गर्न गएको होइन। पार्टनरबीच विवाद चर्किएपछि अर्काेले प्रहरीमा रिपोर्ट गर्यो र मासु ओसारिरहेका दुई जनालाई प्रहरीले पक्राउ गर्यो।
त्यसपछि धार्मिक पक्ष आकर्षित भयो। सामाजिक सञ्जालले भ्रमहरु पनि असाध्यै सिर्जना गरिदियो। यो सामाजिक सञ्जालको नकारात्मक पक्ष हो। सामान्य मान्छेले त भने भने, एउटा सचिव (भीम उपाध्याय) सम्म भएका मान्छेले पनि दुई वर्षअगाडिको चितवनकी महिलाले बनाएको टिकटकलाई ल्याएर ‘गोरुखाने धराने’ भनेर दुष्प्रचार गरे। त्यसले नराम्रो प्रतिक्रिया जन्मायो। एउटा सामान्य मान्छेले गरे माफी दिन सकिन्छ तर वहाँ त प्रबुद्ध मान्छे हो।
हाम्रो भनाइ के हो भने धरानमा विविध धर्मका मान्छे बस्छन्, खाए होलान्। त्यसबाट केही समस्या उत्पन्न भए हामी आफैँ छलफल गरिहाल्छौँ नि। बहिरबाट आउँछौँ भन्दै डंका पिटिएपछि अर्काे पक्षले पनि हामी ठाउँठाउँमा रोक्छौँ भन्यो। भ्रमैभ्रम र एक किसिमको कसैको खेलबाट उत्साहित भएर धरानलाई रणमैदान त बनाउने प्रयत्न भएको होइन भनेर हामी निकै चिन्तित भयौँ।
यो विषय चर्कंदै गयो। उता हिन्दू धर्मावलम्बीहरुले गाई काटेर खाने भन्दै लेखेपछि त्यसले देशभर उत्तेजना फैलायो। गाई काटे काटेनन् तर त्यसरी प्रचार गरियो। अनि तिनले बाहिरबाट जुलुस गरेर धरान आउँछौँ भन्दै प्रचारबाजी गरे। त्यसले अर्काे पक्षलाई पनि क्रुद्ध पार्यो। तिनले पनि हामी बाटो रोक्छौँ भने। त्यसपछि हामी झस्कियौँ। अहो सङ्ग्रामी स्थिति नै आउने भो भनेर चिन्ता लाग्यो। कोही कसैले केही मध्यस्थता गर्छ कि भनेर पख्र्यौँ कसैले चासो दिएनन्। आ–आफ्नो ढंगले प्रचारबाजीमा मस्त देखिए।
नगरपालिकाले पहल गरिदिएको भए यो सजिलै सुल्झन्थ्यो। हामीले भन्यो भने त प्रहरीले पनि टेर्दैन। तर मेयरले भनेको त मान्छ नि। मेयर अभिभावक पनि हो। मन्दिर र चर्चका आधिकारिक प्रबुद्ध मान्छेहरुलाई बोलाएर कुरा गरिदिएको भए त्यसले एउटा निर्क्यौल अवश्य निस्कन्थ्यो। संसारमा कत्राकत्रा युद्धहरु वार्ताबाट टुङ्गिएका छन् भने यो त सामान्य कुरा हो।
भद्रगोल बढ्दै गएपछि पूर्वमेयर र उपमेयरहरु बसेर ‘सामाजिक सद्भाव कायम गरौँ नत्र धरान बदनाम हुन्छ‘ भनेर दुवै पक्षसँग कुरा गर्यौँ। कुनैपनि कुरा रिस र उत्तेजनामा निर्णय गर्नु हुँदैन भनेर हामीले दुवै पक्षलाई सम्झायौँ। त्यसपछि सबैको सहभागितामा सद्भाव र्याली निकाल्यौँ। हामीलाई सद्भाव र्यालीभित्रै कसैले केही घटना घटाइदेला कि भन्ने डर थियो। त्यस्तो भएको भए कलंक त सधैँभरिका लागि लाग्थ्यो। तर त्यस्तो अनिष्ट केही भइदिएन।
सांस्कृतिक संवेदनशीलता
हामीले सांस्कतिक पक्षधरहरुसँग पनि कुरा गर्यौँ। वहाँहरुबाट फौजदारी संहिताको ‘गाईगोरु काट्नकुट्न नपाउने प्रावधान’ संशोधन हुनुपर्यो भन्ने कुरा आयो। संविधानसँग बाझिएको यो प्रावधान खारेज हुनुपर्छ भन्ने वहाँहरुको कुरा थियो। हामीले भन्यौँ, त्यो तपाईंहरुको राज्यसंगको लडाइँ हो। ऐन संशोधन गराउनोस्, कल्ले बोल्छ? तपाईंहरुका कारण धरान बिथोलिनु भएन। हामीले ‘ऐन संशोधन गर्ने हो भने पहिला माथि नै विद्वानहरु बस्नोस्। सांसदलाई बोलाउनोस्, छलफल गर्नाेस्। संसदले संशोधन गर्ने परिपाटी छ, वहाँहरुलाई कन्भिन्स गर्नाेस्। अलिकता समय लाग्ला। हामी पनि छलफलमा भाग लिन्छौँ’ भन्यौँ।
सडकबाट यस्ता कुरा उठाउँदा पल्लो घर र वल्लो घरको सम्बन्ध बिग्रन्छ। त्यसैले तपाईंहरु संवादको बाटो जानोस् हामी पनि मद्दत गर्छौँ भन्यौ। त्यसपछि वहाँहरु पनि सहमत हुनुभयो र र्यालीमा सहभागी हुनुभयो। बाहिरबाट जे भ्रम सिर्जना गर्न खोजिए पनि कुरो त ऐनसँग मात्र देखियो, गोरु काटेर खाने सम्बन्धमा।
अहिलेलाई टर्यो खतरा
सरकारले गलत हुनथाल्यो भनेर निषेधाज्ञा जारी गरेर यो डर त टर्यो तर यो त एकछिनलाई हो। अब तातेको वातावरण सामान्य भएपछि सँगै बसेर बौद्धिक र तार्किक ढंगले आ–आफ्ना कुरा अगाडि लैजान जरुरी छ। तर हामीले पनि कागले कान लग्यो भन्दैमा कागको पछाडि दौडनुभन्दा पहिला आफ्नो कान छाम्नु पर्यो। जुलुस नै किन गर्नुपर्यो? सभा, छलफल गरेर सबैलाई जानकारी दिए भइहाल्यो नि। शान्ति र्याली गरे भयो। नाराले उत्तेजना फैलाउँछ। जुलुसभित्र धेरै किसिमका मान्छे प्रवेश गर्न सक्छन्।
जहिल्यै पनि समाजमा एउटा उग्रपन्थी विचार हुन्छ। अनेकन चलखेल गर्ने खालको प्रवृत्ति हुन्छ। त्यसैले यस्ता विवादको निपटारा छलफलबाटै गर्नुपर्छ। यो कुरा हामीले दुवै पक्षलाई भन्यौँ।
यी तर्कका आधारमा हामीले वहाँहरुलाई तपाईंहरु दुवै पक्षले ९ गते धरानमा कुनै कार्यक्रम नगरिदिनोस् भनेर अनुरोध गर्यौँ। यसो गरेर हामीले आफ्नो नागरिक हुनुको कर्तव्य पूरा गर्यौँ।
हामीले सद्भाव कायम गराउने वातावरण बनायौँ। यसले धरानलाई संकटबाट तत्काल त बचायौँ तर एक माघले जाडो जाँदैन। यस्ता घटना चर्काएर फेरिफेरि खेल्ने प्रयास हुनसक्दछ। सधैँ प्रशासनको भर परेर पनि हुँदैन। हामी स्वयं नै संस्कारयुक्त हुन सक्नुपर्छ। हामी केमा सचेत हुनुपर्दछ भने राजनीतिक दलहरुले हामीलाई सधैँ आफ्नो स्वार्थमा उपयोग गर्न खोज्दछन्।
त्यसैले हामी पहिचानका निम्ति लडौँ तर कसैको खेलौना हुनबाट बचौँ। तब मात्र हामीले नङ र मासु जसरी बसेको विविधतायुक्त सहर धरानलाई धार्मिक र जातीय उग्रताबाट बचाउन सक्नेछौँ।
Shares
प्रतिक्रिया