ad ad

अन्तर्वार्ता


हाम्रो समूहबाट गगन र शेखरमध्ये एक जना दलको नेताको उम्मेदवार बन्नुहुन्छ : सञ्जय गौतम (अन्तर्वार्ता)

हाम्रो समूहबाट गगन र शेखरमध्ये एक जना दलको नेताको उम्मेदवार बन्नुहुन्छ : सञ्जय गौतम (अन्तर्वार्ता)

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १७:१६, काठमाडौँ

सञ्जय गौतम बर्दिया १ बाट नवनिर्वाचित कांग्रेस सांसद हुन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका उनी एमालेका लक्ष्मणराज ज्ञवालीलाई हराउँदै सो क्षेत्रबाट तेस्रो पटक विजयी भएका हुन्। अघिल्लो पटक एमाले नेता वामदेव गौतमलाई हराएर उनी चर्चामा आएका थिए। कांग्रेसको इतर समूहमा रहेका गौतमसँग सो पार्टीको संसदीय दलको नेता चयनलगायतका विषयमा नेपालखबरले गरेको संक्षिप्त कुराकानीः

कांग्रेसमा संसदीय दलको नेतामा धेरै जना आकांक्षी देखिएका छन्। सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री गगन थापासम्मले चुनौती दिँदै हुनुहुन्छ। कांग्रेसमा नयाँ नेतृत्वको खोजी किन भयो?
यथास्थितिमा नेपाली कांग्रेसले नयाँ नेतृत्वको सम्भावनाको ढोका खोलेन भने, नेतृत्व विकास गरेन भने यो मुलुक अगाडि जाँदैन। पार्टी पनि अगाडि जाँदैन। हामीले जनतामा छाएको निराशालाई आशामा परिणत गर्न पनि सक्दैनौँ। त्यसो भएर नयाँ नेतृत्वको खोजी गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो।

त्यो कुनै व्यक्ति विशेषको इच्छा र आकांक्षाको कुरा होइन। संस्थागत रुपले नै हामी काम गर्छौं। तपाईंलाई थाहा छ, शेखर दाइको नेतृत्वमा हाम्रो एउटा ठूलो विचार समूह छ। टेक्निकल्ली हामी कमजोर भए पनि देशव्यापी रुपमा हामी मजबुत परिस्थितिमा छौँ। यो विचार समूहका साथीहरु पनि एक ठाउँमा बसेर अब कसरी जाने भनेर छलफल गर्दैछौँ। 

दलको नेतामा कसैले चुनाव, कसैले सर्वसम्मति भन्दैछन्। चुनाव हुन्छ त?
चुनावको कुरामा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, ठूलो पार्टी हो। विचार बोकेको पार्टी हो। यो पार्टीमा स्वस्थ प्रतिस्पर्धा हुनु, दलको नेताका लागि निर्वाचन हुनु, आफ्नो नेतृत्व चयन गर्ने प्रक्रियामा अघि बढ्नु स्वाभाविक कुरा हो। 

तर, हामी पनि नेपाली कांग्रेसको दलको नेता सर्वसम्मतिबाट चयन होस् भन्ने चाहन्छौँ। तर, त्यसका लागि कतै न कतैबाट पहल र प्रक्रिया त अगाडि बढ्नुपर्यो नि।

सर्वसम्मतिको वातावरण पार्टी सभापतिज्यूले बनाउनुपर्छ। पार्टीको प्रमुख पनि उहाँ हो, सरकारमा पनि उहाँ हुनुहुन्छ। सर्वसम्मतिको प्रस्ताव उहाँले लिएर आउनुपर्छ। उहाँले आफ्नो वा अरु कुनै नेताको पक्षमा प्रस्ताव लिएर आउनुभयो भने त्यसमा हामी सकारात्मक छौँ। रामचन्द्र दाइको नाममा सर्वसम्मतिको प्रस्ताव लिएर आउनुभो वा शेखर दाइको नाम लिएर आउनुभो अथवा गगनजीकै नाम लिएर आउनुभो भने पनि हामी सकारात्मक छौँ।

जसको नाम ल्याए पनि सर्वसम्मति खोज्न सकिन्छ भन्नुभएको हो?
सर्वसम्मतिका लागि प्रयास त हुनुपर्यो नि त। हिजो रामचन्द्र पौडेलले सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्नुभयो। उहाँहरुबीच कुरा भयो। रामचन्द्र पौडेलले मलाई प्रधानमन्त्री बनाउनुस् भन्नुभयो भन्ने सुनियो। रामचन्द्र दाइको नाम प्रस्तावित भएर आयो भने पनि हामी सर्वसम्मति बनाउन कोसिस गर्छौँ। शेखर दाइको नाममा पनि हामी कोसिस गर्छौं। तर, त्यो प्रस्ताव त कहीँ न कहीँबाट जानुपर्यो नि। 

सबैले आआफ्नो उम्मेदवारीको विषयमा चासो राखिरहनुभएको छ। रामचन्द्र, शेखर दाइ र गगनजीले पनि चासो राखिरहनुभएको छ। त्यसविषयमा अब बालुवाटारबाट कुन खालको क्रिया, प्रतिक्रिया आउँछ, त्यसमा सर्वसम्मतिको वातावरण बन्ने नबन्ने निर्धारण गर्छ।

तर, तपाईंहरुको विचार समूहमै बेमेल छ भन्ने सुनियो। केहीले महामन्त्री थापा उम्मेदवार बन्ने अवस्थामा देउवालाई सघाउने कुरा पनि सुनिन्छ।
त्यो कुरा गलत हो। हाम्रो विचार समूह एक छ। गगनजी र शेखर दाइमध्ये एक जना हाम्रो उम्मेदवार बन्नुहुन्छ। हाम्रो तर्फबाट दुई जना उम्मेदवार हुँदैनन्। हाम्रो विचार समूह खण्डित हुँदैन।

कांग्रेसको संसदीय दलको नेता चुन्ने मामिलामा गठबन्धनको पनि त केही प्रभाव रहला। प्रधानमन्त्री देउवाको नेतृत्वमा गठबन्धन बन्यो। अहिले नेतृत्व फेर्दा गठबन्धनमा समस्या पर्दैन?
गठबन्धन कुनै व्यक्तिसँग भएको होइन। पार्टी–पार्टीबीचमा भएको गठबन्धन हो। हरेक पार्टीभित्र आफ्नो नेतृत्व छ। संसदीय दल छ। हामीले जसलाई संसदीय दलको नेता बनाउँछौँ, गठबन्धनले उसैसँग सहकार्य गर्ने हो। गठबन्धनले हाम्रो मुद्दा तय गरिदिने होइन। माओवादीले हाम्रो नेता तय गरिदिने, हामीले माओवादीको नेता तय गरिदिने होइन। 

इतर पक्षले माओवादी, एकीकृत समाजवादीसँग होइन बरु एमाले वा अरु दलसँग गठबन्धन गर्नुपर्छ भन्ने कोसिस गरेको हो? महामन्त्रीद्वयको रुचि त्यस्तो हो?
यस विषयमा जानकारी छैन। गगन थापाजी हाम्रो विचार समूहको नेता हो, हाम्रो महामन्त्री हो। विश्वप्रकाशजी पनि। उहाँहरु भोलिको सम्भावना बोकेको नेता हो। पार्टीको भविष्य हो। उहाँहरुले पक्कै पनि गैरजिम्मेवार कुरा गर्नुहुन्न। सोचविचार गरेर आफूलाई प्रस्तुत गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु। 

तपाईंको विचारमा चुनावबाट नयाँ पार्टीहरुको उदय किन भयो?
यो हामीप्रतिको निराशा हो। हामीप्रतिको असन्तुष्टि हो। हामीले जसरी विधिमा परिवर्तन गर्यौँ, त्यसपछि प्रमुख राजनीतिक दलहरुले जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गरेनन्। त्यसैले आम जनतामा निराशा छ। त्यो निराशालाई यी राजनीतिक दलहरुले आफ्नो पक्षमा लिएर जाने प्रयास गरे। केही हदसम्म सफल पनि भए। केही हदसम्म स्वतन्त्र उम्मेदवार पनि विजयी भए। 

त्यसकारणले मुलुकका मुख्य राजनीतिक दलहरु, जसले परिवर्तनको संवाहकको रुपमा रहेर नेतृत्व गरे, तिनले अहिले जनतामा आएको निराशा र जनताको मनोविज्ञानलाई बुझेर आफूलाई सुधार्नुपर्छ। यो चुनावले गरेको संकेतलाई बुझ्नुपर्छ। 

त्यो काम गर्न सक्नेगरी स्थिर सरकार दिने संसद् छ र?
हामीले स्थिरता दिने भनेरै गठबन्धन बनाएका थियौँ। तर जनताले हाम्रा्े कुरा पत्याएनन्। हङ पार्लियामेन्ट छ। अस्थिर राजनीति त हुन्छ नै। अस्थिरताभित्र पनि स्थिरता खोज्ने हाम्रो काम हो। हामी नयाँ उदय भएका राजनीतिक दलहरुलाई, शक्तिहरुलाई आग्रह गर्छौं कि स्थिर राजनीतिले नै विकासको यात्रा तय गर्छ। तपाईंहरु पनि संसदमा आउनुभएको छ। अहिलेको राजनीतिलाई स्थिरता दिन र विकास, समृद्धिको बाटोमा हिँड्नका लागि तपाईंहरुले पनि सहयोग गर्नुस्। हामी पनि विगतका कमजोरीहरुलाई सच्याएर नयाँ ढंगले जान्छौँ।

आफ्नो निर्वाचन क्षेत्रमा तपाईंका प्राथमिकता के छन्?
मेरा प्राथमिकताहरु सामान्य छन्। म मुलुककै सांसद हुँ, देशव्यापी नीतिनिर्माणमा मेरो भूमिका हुन्छ। खासगरी म किसानले बिउ र मल पाउने सुनिश्चितता गर्न चाहन्छु। सिँचाइ र बजारको पहुँच होस् भन्ने चाहन्छु। दोस्रो कुरा, हाम्रा छोराछोरी विदेश जानुपरे पनि हाम्रा नातिनातिनीले विदेश जान नपरोस्, यहीँ रोजगारीको सिर्जना गर्न सकौँ भन्ने हो। 

निर्वाचन क्षेत्रको हकमा एउटा भन्सार नाका एकदम आवश्यक छ। पुल र तटबन्धलाई पूर्णता दिनुपर्नेछ। कृषि, पोलिटेक्निक खोल्नुपर्नेछ। धेरै कामहरु छन्, जसलाई पूर्णता दिन म लाग्छु। सुकुम्बासीका समस्या ठूलो समस्या बनेको छ। जग्गा दिनुपर्नेछ, अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्नुपर्ने छ।     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .