ad ad

अन्तर्वार्ता


लुम्बिनीमा वामपन्थी सरकार बन्छ, दलको नेतामा मेरो दाबी छ : लिला गिरी

पूर्वाधार नबनी राजधानी सारेर अस्थिरता ल्याउन खोजियो
लुम्बिनीमा वामपन्थी सरकार बन्छ, दलको नेतामा मेरो दाबी छ : लिला गिरी

सुदीप भण्डारी
मंसिर १९, २०७९ सोमबार ८:१९, बुटवल

नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरी रुपन्देही क्षेत्र नम्बर २ 'क' बाट दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।

अघिल्लो पटक शंकर पोखरेल नेतृत्वको सरकारमा उनी ३ वर्ष प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका थिए। यो पटक लुम्बिनी प्रदेश सभामा निर्वाचितमध्ये उनी मात्रै एमालेका पोलिटब्यूरो सदस्य हुन्। त्यसैले गिरी संसदीय दलको नेतासँगै पार्टीले अवसर पाएमा मुख्यमन्त्री बन्ने चर्चा छ। तर अघिल्लो पटक शंकर पोखरेलको जस्तो निश्चित भएको अवस्था यो पटक छैन। दलको नेतामा अरुको पनि दाबी रहने सम्भावना छ। यसै सन्दर्भमा लुम्बिनी प्रदेशमा एमालेको चुनावी समीक्षा, नयाँ सरकार र अबको योजनाबारे प्रदेश सभा सदस्य गिरीसँग गरिएको कुराकानीको सम्पादित अशं :

तपाईं दोस्रो पटक प्रदेश सांसद बन्नुभएको छ। यो पटक निर्वाचित हुनु पहिलेभन्दा सहज थियो कि गाह्रो? 
अघिल्लो पटकको तुलनामा यो पटक थोरै भोट आयो। परिस्थिति पनि त्यस्तै थियो। तर जनताबीच जाँदा उहाँहरुको राम्रो रेसपोन्स पाएँ। एक कार्यकाल बिताएर जाँदा बेठिक काम नगरेको, जनताको पक्षमा इमान्दारीतापूर्वक उभिएको भन्ने हिसाबले मतदाताले मूल्यांकन गर्नुभयो होला। त्यहीकारण सहज रुपमा मलाई स्वीकारेको महसुस भयो। 

गत कार्यकालमा प्रदेश सांसदसँगै मन्त्री पनि हुनुभयो। त्यसबेला केके गर्नुभयो? फेरि प्रदेश सभामा पुगेपछि के छ योजना? 
अघिल्लो पटक सांसद भएर मन्त्री भइरहँदा तत्कालिन प्रदेश सरकारले यो प्रदेशलाई मिनि नेपालको रुपमा स्थापना गर्ने गरि अघि बढ्यौँ। यो प्रदेश समृद्ध बन्दा सिंगो नेपाल समृद्ध बन्छ भन्ने आसय राखेर यसको समग्र भौतिक पूर्वाधारको योजना ल्याएका थियौँ। 

पूर्वाधारका कुरा गर्दा रामपुरदेखि कपुरकोटसम्मको सडक सुरु गर्यौँ। म उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुँदा सुरुकै वर्ष लुम्बिनी भ्रमण वर्ष आयोजना गरेर पर्यटनलाई प्रवर्द्धन गर्ने काम गर्यौं। उद्योगलाई प्रवरद्धन गर्न आवश्यक जनशक्ति तयार गर्ने योजनासाथ प्याकेज नै ल्यायौँ। कोरोनापछि बेरोजगारहरुलाई विदेशबाट फर्केका युवालाई उद्योगमा आकर्षित प्रदेश सरकारले ब्याज तिरिदिने गरि ऋणको व्यवस्था गर्यौं। अब समृद्ध प्रदेश बनाउने थप काम गर्नुपर्ने छ। 

अहिलेको संसदीय चुनाव र एमालेको समग्र नतिजालाई कसरी लिनुभएको छ?
चुनावी नतिजाले वामपन्थी रुझानमा छन्। अझै वामपन्थीहरुले देशको नेतृत्व गर्ने र नेतृत्व गर्न सक्ने पार्टी नेकपा एमाले हो भन्ने स्थापित भएको छ। एमालेविरुद्ध सत्ताधारी पार्टीहरु गठबन्धन गरेर आए। एक्लाएक्लै चुनाव लडेको भए एमालेको पक्षमा परिणाम अर्कै हुन्थ्यो। एमाले सर्वाधिक रुपमा जनताबीच लोकप्रिय थियो। र, कम्युनिष्ट पार्टीहरुको मूल प्रवाह एमाले नै हो भन्ने कुरा यसले पाएको समानुपातिक भोटले पनि देखाउँछ। 

लुम्बिनी प्रदेश सभामा अघिल्लो पटक एमाले एक्लै ४२ सिट थियो। अहिले प्रत्यक्ष र समानुपातिक गरेर ३० सिटमा सीमित हुने देखिएको छ। कसरी घट्न गयो? 
मैले अघि पनि भनेँ, समानुपातिकतर्फ हाम्रो मत खासै घटेको होइन। पहिले जस्तै हो। गठबन्धनको कारण प्रत्यक्षतर्फको नजितामा केही डिस्टर्ब भएको हो। त्यसैले एमालेको सिट संख्या घटेको हो। 

रुपन्देही लगायतका केही जिल्लामा एमालेले राम्रै नतिजा ल्यायो। तर दाङमा पूर्वमुख्यमन्त्री शंकर पोखरेल प्रतिनिधि सभामा पराजित हुनुभयो, प्रदेश सभामा पनि जिल्लामै कुनै सिट आएन। अन्य केही जिल्लामा पनि सोचे जस्तो भएन नि?
त्यहाँ निर्वाचन परिचालन गर्ने कुरामा हाम्रा केही कमजोरी रहे। त्यो खालको रुझानबाट प्रत्यक्षमा हामी हार्यौँ। तर समानुपातिकको भोट हेर्दा हामी त्यहाँ पनि कम छैनौँ। त्यहाँको विस्तृत नतिजा हेर्न पनि सकिन्छ। 

लुम्बिनी प्रदेश सभामा एमालेको पोलिटब्यूरो सदस्यमध्ये यहाँ मात्रै निर्वाचित हुनुभएको छ। प्रदेश संसदीय दलको नेता चुनिएर मुख्यमन्त्री समेत बन्न सक्ने सम्भावना कत्तिको छ? 
पार्टीले सरकारको नेतृत्व गर्दा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने हो। त्यो पार्टीले निर्णय गर्ने विषय हो। हामीले अझै त्यसबारे सरसल्लाह गरेका छैनौँ। पार्टीमा सिनियर भएको हिसाबले अगाडि नै छु। उम्मेदवारीको हिसाबले मेरो सन्दर्भ रहन्छ नै। त्यो संसदीय दलको बैठकले टुंग्याउने कुरा हो। बैठक नबसी मैले पहिले भन्न उचित हुन्न। 

लुम्बिनीमा प्रदेश सरकारको गठन कसरी हुन्छ? वाम गठबन्धन एकठाउँ आउने सम्भावना छ कि एमाले प्रतिपक्षमै बस्छ? 
हामीले सबै हिसाबले आफ्ना योजना र विकल्प खुल्ला राखेका छौं। वामगठबन्धन गर्नुपर्छ भन्ने आधारमा अघि बढ्नुपर्छ भनेर पार्टी केन्द्रलाई पनि सुझाव दिइराखेका छौं। 

संघीय संसद र सरकारमा पनि वाम गठबन्धन गरेर अघि बढ्नुपर्छ। नेपाली जनताको माग र रुझान हेर्दा वामपन्थीको पक्षमा जनमत छ भनेर विगत लामो समयदेखि हामीले देख्दै आएको हो। 

विगतको ०७४ सालको चुनावले पनि देखायो। वामपन्थीहरु एक भएर जाँदा उनीहरुको अवस्था मजबुत भएको पनि देखियो। वामपन्थीहरु गैरवामपन्थीहरुसँग गठबन्धन गरेर जाँदा उनीहरुको अवस्था कमजोर भएको पनि देखियो। 

अहिलेको चुनावमा पनि वामपन्थी मिल्दा मुलुकको पक्षमा सहज हुन्छ भन्ने अहिलेको चुनावमा पनि देखियो। गैर वामपन्थीसँग एकता गरेर बढ्दैन भनेर देखिएको छ। लुम्बिनी प्रदेशमा पनि एमाले र अन्य वामपन्थी दल मिलेर बनाउनुपर्छ भन्ने लाग्छ। 

पाँच वर्षअघि बुटवललाई प्रदेश राजधानी बनाउने तपाईंहरुको चुनावी एजेण्डा थियो। तर बुटवललाई कायम गर्नुभएन भनेर आलोचना पनि भएको छ नि?  
त्यो प्रदेश सभाले निर्णय गरेको कुरा हो। व्यक्तिले भनेर पार लाग्ने कुरा थिएन।

प्रदेश सभामा त यहाँहरु पनि हुनुहुन्थ्यो नि? 
हामी थियौँ, तर अल्पमतमा पर्यौं। व्यक्तिगत रुपमा भन्दा म अल्पमतमा परेको हो। त्यतिखेर निर्णय भएको के हो भने दाङको घोराही पनि होइन, बुटवल पनि होइन। अर्घाखाँची र कपिलवस्तुसँग जोडिएको नयाँ ठाउँमा दाङको भालुवाङमा राजधानी राख्ने भन्ने भएको हो। 

त्यसबेला राजधानी सार्ने होइन, राजधानी बनाउने हो भनेर निर्णय भएको हो। अर्थात सम्पूर्ण रुपमा त्यसको गुरुयोजना र डीपीआर तयार गरेर भौतिक पूर्वाधार निर्माण गरेपछि बल्ल राजधानी लैजाने कुरा थियो। त्यो कुरा अहिलेको प्रदेश सरकारले मनन गरेको देखिएन। 

अहिले प्रदेश राजधानीको संरचना हतार हतार देउखुरीमा सार्ने तयारी भइरहेको छ। प्रदेश सभा बैठक देउखुरीमा बसाल्ने अनि मुख्यमन्त्री कार्यालय पनि सार्ने तयारी छ। यसमा तपाईको प्रतिक्रिया के छ? 
निर्वाचन भइसकेपछि हस्तान्तरण गर्ने अवस्थामा रहेको सरकारले यो सबै वाहियात कुरा गरेको छ। यदि पूर्वाधार तयार भएको छ भने राजधानी सार्ने कुरामा हाम्रो विमति थिएन। पूर्वाधार तयार नभई अस्थायी पाल टाँगेर, भाडाका घरमा राजधानी सारेर एकखालको अस्तव्यस्तता सिर्जना गर्न खोजिएको छ। प्रदेश सरकारले राज्यको श्रोत र साधनलाई दुरुपयोग गरेर आफूले फाइदा उठाउन खोजेको हो भन्ने मैले बुझेको छु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .