ad ad

अन्तर्वार्ता


कांग्रेसभित्रका दुई गुटको शिकार हामी हुुनुपर्‍यो : राम कार्की (अन्तर्वार्ता)

माओवादी नेता धेरै भएका जिल्लामा उल्टो नतिजा आयो
कांग्रेसभित्रका दुई गुटको शिकार हामी हुुनुपर्‍यो : राम कार्की (अन्तर्वार्ता)

फाइल फोटो


सागर न्यौपाने
जेठ ११, २०७९ बुधबार १४:११, काठमाडौँ

स्थानीय तहको निर्वाचनमा गठबन्धनमै भए पनि प्रदेश १ मा नेकपा माओवादी केन्द्रको अवस्था सुधार भएन। १४ जिल्ला रहेको यस प्रदेशमा माओवादी केन्द्रले ५ जिल्लामा कुनै पालिका प्रमुख जित्न सकेन।

सोलुखुम्बु जिल्लामा पहिले जितेका २ पालिका गुमाउन पुग्यो। चुनावअघि ३० तह जित्ने लक्ष्य राखेको माओवादीले जम्माजम्मी १२ तहको प्रमुख जित्यो।

गठबन्धनमै रहे पनि काँग्रेससँगै केही जिल्लामा माओवादीको टक्कर देखियो। यस्तो अवस्था किन आयो त? किन गठबन्धन प्रभावकारी हुन सकेन? यस विषयमा माओवादी केन्द्रका प्रदेश १ इञ्चार्ज राम कार्कीसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानी :

गठबन्धनमै रहे पनि चुनावी परिणामले त प्रदेश १ मा माओवादी निकै कमजोर देखियो नि किन?
यो नतिजा अपेक्षित पक्कै होइन, यसमा दुईवटा कारण छन्।

पहिलो, अलि प्रतिस्पर्धा गर्न सकिने स्थानमा कांग्रेसभित्रको दुईवटा गुटको शिकार हामी हुुनुपर्‍यो। कांग्रेसमा कोइराला गुटले पूर्वका केही जिल्लामा हामीलाई गठबन्धन बनाउने बेलादेखि धोका दिए। गठबन्धन बनाउनै कांग्रेसले चाहेन।

दोस्रो, माथिबाट मेयर र उपमेयर टुंगो लगाएको भनियो तर, तलसम्म जोडिएका वडा र सदस्यहरु कसरी बाँडफाँट गर्ने भन्ने निर्णय गरिएन र माथिबाटै कमजोरी भयो। यसको प्रत्यक्ष असर प्रदेश १ मा देखियो। कांग्रेस र माओवादीबीच नै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था बन्यो।

माओवादीको आफ्नै कारणले नि?
हाम्रो पार्टीभित्र पनि दुईवटा मनस्थिति रहेछन्। पहिलो, गठबन्धन बनेका कारण नेता र कार्यकर्ताहरूको परिचालन जसरी हुनुपर्थ्यो, त्यसरी हुन सकेन।

अर्काे, हाम्रा केही जिल्लामा राष्ट्रिय र केन्द्रसम्म तहल्का मच्चाउन सक्ने नेता धेरै नेता थिए। नेता धेरै भएको ठाउँमा केन्द्रीकृत हुँदा नतिजा उल्टो आयो। कसले भनेको कसले मान्ने भन्ने जस्तो भएछ। यही हुनुपर्छ भनेर नहुने।

तर, केही केन्द्रका नेताहरु खटिएका ठाउँमा परिणाम गज्जबको आयो। हामीले केही जित्नै नसकिने ठाउँ भनेर सोचेका थियौँ तर, तिनै स्थानीय तह जित्नुको कारण नेताको निर्देशन पालना, योजनाको कार्यान्वयन भएको हो।

कहाँ भयो त्यस्तो?
जस्तो-गठबन्धनविरुद्ध कांग्रेसले एमालेसँग तालमेल गरेको भोजपुरमा पूर्व मुख्यमन्त्री शेरधन राईको आमचोक गाउँपालिकामा माओवादीले एक्लै चुनाव जित्नुका पछाडि नेताको निर्देशन र योजना कार्यान्वयन भएको हो। नत्र दुईवटा दलविरुद्ध एक्लै माओवादीले चुनाव जित्ने अवस्था बन्नु चानचुने सफलता होइन।

ताप्लेजुङ, पाँचथर जिल्लामा पनि सोचेभन्दा राम्रो नतिजा आयो।

तर, सोलुखुम्बुमा पहिला जितेका दुईवटा स्थानीय तह हार्‍यो, यो किन भयो?
सोलु राम्रो थियो तर, कांग्रेसकै कारण राम्रो भएन। गठबन्धन गर्ने, अनि त्यही गठबन्धनकै एउटा घटकसँग प्रतिस्पर्धा गर्ने कांग्रेसको भूमिका अनर्थ लाग्ने भयो।

कांग्रेसकै कारण कमजोरी भयो भन्न खोज्नुभएको हो?
गठबन्धनको मुख्य घटक कांग्रेस पनि हो। माओवादीका साथीहरुले इमान्दार मत कांग्रेसलाई दिएका छन्। कहीँ कतैपनि एक मत पनि तलमाथि परेको छैन। तर, कांग्रेसको मत हामीलाई पर्दै परेन। 

हाम्रा साथीहरुले कांग्रेसको भोट ट्रान्सफरको अपेक्षा राखे, तर त्यस्तो भएन र हामीले केही राम्रा पालिका गुमाउन पुग्यौँ। कांग्रेसले भोट हाल्न चाहे-नचाहेको के हो, त्यो त हाम्रो उम्मेदवारलाई खसेको मतबाटै देखिन्छ।

स्थानीय चुनावमा उम्मेदवारको व्यक्तिगत कारणले पनि असर गरेको हुनसक्छ कि?
हामीले गठबन्धनमै भएकाले जिति हालिन्छ भनेर पुराना दुःख गरेका साथीहरुलाई यो पटक न्याय गरेर उम्मेदवार बनायौं। किनकि गठबन्धनमा इमान्दारिता होला भन्ने हाम्रो सोझो बुझाइ रह्यो। त्यही भएर हामीले पपुलर उम्मेदवार बनाएनौँ। 

भोट तान्ने योजना बनाएनौँ, चुनावका लागि गर्नुपर्ने अन्य उपायतिर पनि लागेनौँ। जित्न सक्ने उम्मेदवार बनाएनौँ। तर, गठबन्धनमा कांग्रेसका साथीहरुले सोचेजस्तो प्रभावकारी भूमिका निभाउनुभएन।

अन्य प्रदेशको थाहा भएन, यो प्रदेशमा त कांग्रेस नै माओवादीको प्रतिस्पर्धी बनेर उत्रियो। जसले केही पालिकामा हाम्रो पक्षबाट गुम्यो।

त्यसो भए, कांग्रेससँग संघीय निर्वाचनमा गठबन्धन हुँदैन?
यसपालिको चुनावले कांग्रेससँग हाम्रो पार्टीको कहीँ तिक्त, कहीँ राम्रो अनुभव बन्यो। हामीले निर्दिष्ट कार्यक्रम भएर पार्टनर खोजेका होइनौँ, चुनाव जित्न खोजेर मात्र पनि होइन। 

केपी ओली प्रतिगामी भएकाले संविधान, लोकतन्त्र जोगाउन एमालेसँगको सम्बन्ध टुटेको हो। अब घरेलु बारीमा झगडा होइन, भविष्यबारेमा योजना बनाउनुपर्छ भन्ने यसले सन्देश दिएको छ।

यसपटक धेरै मत बदर भएकाले माओवादी उम्मेदवार हारेको भनेर तपाईँलाई गुनासा आए कि?
संसदीय चुनाव त्यस्तै हो। गुनासा आएर पनि के गर्नु, हारेपछि हार्‍यो हार्‍यो। त्यो मुद्दा पर्‍यो भनेपनि फैसला हुन ५ वर्ष लाग्न सक्छ। मुद्दा पर्दैमा जितिन्छ भन्ने पनि छैन। संसदीय चुनावमा हारेपछि सकियो। पछि गुनासो गरेर के हुन्छ र? तर, एउटा अनुभव के भयो भने, एउटा कार्यक्रमसहित गठबन्धन बनेन भने त्यसमा इमान्दार सबै हुँदैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .