अन्तर्वार्ता


माल्भिकाले युवतीको कुरा सुन्दिएको भए ती बलात्कारी उहिल्यै समातिन्थे : निर्मला ढकाल (भिडिओ)

माल्भिकाले युवतीको कुरा सुन्दिएको भए ती बलात्कारी उहिल्यै समातिन्थे : निर्मला ढकाल (भिडिओ)

समाजशास्त्री निर्मला ढकाल भन्छिन्— हामीले घरभित्रै बलात्कारी हुर्काइरहेका छौं, कसरी घट्छ बलात्कार (तस्बिरः विशाल कार्की)


जेवी पुन मगर
जेठ ८ , काठमाडौँ

नशालु पदार्थ खुवाएर बलात्कार गरेको र बेहोस रहेको अवस्थामा लिइएको नग्न तस्विरको आधारमा ‘ब्ल्याकमेल’ गर्दै लगातार ६ महिनासम्म बलात्कार गरेको भन्दै एक जना मोडल युवतीले ८ वर्षअघिको घटना सार्वजनिक गरेपछि फेरि नेपाली समाज तरंगित भएको छ। 

सामाजिक सञ्जालबाट न्यायका लागि अपील गरिरहेकी ती युवतीको समर्थनमा आक्रोशित पैरवीकर्ताहरुले सामाजिक सडक र सदन तताइरहेका छन्। 

बलात्कारका यस्ता दर्जनौँ घटना सार्वजनिक भएसँगै सडकमा प्रदर्शन गर्दै पीडितलाई न्याय र पीडकलाई सजायका कुरा उठाइन्छ। तर, बलात्कारका घटना घट्नुको साटो त्यसको ग्राफ झन् उकालो चढ्दो छ।

बलात्कारपछि हत्या गरिएका घटनाहरूको समाजशास्त्र त झन् डरलाग्दो छ। बलात्कृत बालाहरु बलात्कारीको कोपभाजनबाट उम्कन सफल भएपनि हाम्रो सामाजिक संरचनाको चरित्रका कारण उनीहरू रोएर बाँच्न अभिशप्त छन्। 

समाजले पुल्पुल्याएर पालनपोषण गरिरहेको पुरुष किन १८ महिने बच्चादेखि ८० बर्षीया बृद्धको यौनाङ्ग क्षतबिक्षत पार्न हौसिरहेको छ? यस्तो व्यक्तित्वको निर्माण किन र कहाँबाट भैरहेको छ? बलात्कारविरुद्ध प्रष्ट र ‘बोल्ड’ विचार राख्दै आइरहेकी समाजशास्त्री निर्मला ढकाल भन्छिन्, ‘हामीले घरमै अपराधी जन्माइरहेका रहेछौँ। हामीले आफ्ना छोराहरुलाई महिला मैत्री शिक्षा दिन सकिरहेका छैनौं। तिनलाई यस्ता मुद्दामा संवेदनशील हुन सिकाउनै सकेका छैनौं। मुख्य समस्या हाम्रो हुर्काइमै देखिन थाल्यो।’ 

बलात्कार पुरुषले मात्र नभई सामाजिक संरचनाले पनि गर्ने तर्क राख्ने ढकालसँग बलात्कारको समाजशास्त्रमाथि केन्द्रित रहेर नेपालखबरले केही प्रश्न गरेको छ। प्रस्तुत छ, समाजशास्त्री निर्मला ढकालसँगको संवाद :

बलात्कारका घटना सार्वजनिक भएपछि समाज तातिन्छ र केही समयपछि पुनः सेलाउँछ। तर बलात्कारका घटना न सेलाउँछ, न बलात्कारीको संख्या नै घटेको छ। यस्तो किन भैरहेको छ?
बलात्कारका घटनामा बढोत्तरी भएको भन्दा बलात्कारका घटना बाहिर आउने क्रम बढेकोले यसको तथ्यांक ज्यादा देखिएको हो। यस्ता घटना लुकाउनु हुँदैन, बाहिर ल्याउनु पर्छ, गुम्साएर राख्नु हुँदैन भन्ने चेत बढेको छ। आफ्नो कुरा राख्ने सामाजिक संजाल भैदिएकोले यस्ता घटना बाहिर ल्याउन सहज भैदिएको छ।

हामीले महिला हिंसालाई हेर्ने जतिपनि कानुन बनायौं त्यसका बाबजुद बलात्कारका घटना यसरी बाहिर आइरहनुमा ती नियम कानुनले काम गरिरहेका छैनन् कि भन्ने पनि हो। बलात्कारविरुद्ध भैरहेका आन्दोलनले पनि सजगता अपनाउनु पर्छ भन्ने चेत फैलाउन नसकिरहेको हो कि जस्तो देखिन्छ। बलात्कार रोक्न जे कदम चाल्नुपर्थ्यो, त्यो अझैसम्म चाल्न सकिएको छैन कि भन्ने कुरा बढ्दो यसको भयावहताले देखाउँछ। 

बहिर निस्किरहेका यत्रा महिला अधिकारकर्मीहरूका भूमिका पनि त्यत्ति प्रभावकारी नदेखिएको हो? 
बलात्कार विरुद्धका आन्दोलन हामीले घटना घटिसकेपछि दोषीलाई कारबाहीको माग गर्दै गरिरहेका छौं। दोषीलाई कारबाही गरिपाऊँ भनेर सडक र सदन तताइरहेका हौं। तर हामीले यस्ता घटना घट्न नदिनका लागि आन्दोलन गरेनौं, बहस चलाएनौँ। यसका निम्ति विद्यालयमा के कुरा सिकाउनु पर्ने हो, कलेजमा के कुरा सिकाउनु पर्ने हो, कार्यालय क्षेत्रमा के कस्ता नियम बनाउनु पर्ने हो भन्ने तिर हामीले कहिल्यै आन्दोलन गरेनौं। आवाज उठाएनौँ।

त्यसैले तपाईंले बलात्कार घटनालाई अध्ययन गर्नु भो भने आफन्त र छरछिमेकबाटै घरभित्र बलात्कार भैरहेको देख्नुहुन्छ। विद्यालय हाताभित्रै यस्ता कुकर्म भैरहेका छन्। हिंसा हुँदै बलात्कार हुने यस्ता घटना धेरैपछि मात्र सार्वजनिक हुनसकेका छन्। यसले बलात्कारका हिंसात्मक घटना समयमै निस्कन पाइरहेका रहेनछन् भन्ने पनि देखाउँछ। 

त्यसको अर्थ हाम्रो सामाजिक व्यवस्थाले विश्वास गर्न सिकाएको पहिलो थलो पारिवारिक संरचना र त्यसपछि हामीले विश्वास गरेर आफ्ना बाला निर्धक्क छाडिएको विद्यालय हाता नै असुरक्षित छ? 
हाम्रा छोरीहरुलाई कहिँपनि सुरक्षित छैनन् भन्ने पछिल्ला घटनाहरूले देखाइरहेका छन्। सुरक्षित किन भएनन् त? एउटा, कानुन कमजोर भएकोले हुन सक्छ। अर्को, कतिपयलाई आफूमाथि गरिएको व्यवहार दुव्र्यवहार हो भन्ने कुरा थाहा नभएको पनि हुनसक्छ। 

हामीले विद्यालयमा यौन शिक्षा कति दिन्छौं? शरिरका गोप्य अंगहरूबारे कति पठाउँछौं? कस्ता खालका कुरा र ब्यबहार हिंसा हो, दुव्र्यवहार हो भनेर हाम्रा बालबालिकाहरूलाई सिकाएका छौं? आफ्नो शरीर र अङ्गप्रत्यङ्ग आफ्नो अधिकारको कुरा हो भन्दै कुन ‘गुड टच’ हो कुन ‘ब्याड टच’ हो भन्ने कुरा हामीले सिकाउन चुकिरहेका छौं कि? 

तपाईंले सोच्दै जाने हो भने हिजो हामीले पनि कुनै न कुनै रुपले यौन हिंसा भोगेका रहेछौँ भन्ने अहिले आएर थाहा पाइरहेका छौं। धेरै नेपाली महिला यो प्रक्रियाबाट गुज्रिएका छन्। तिनले धेरै पछि आएर मात्र आफु यौन हिंसाबाट गुज्रिएको थाहा पाइरहेका छन्। हामीले भोग्यौँ हामीलाई थाहा भो। त्यसका आधारमा हामीले आफ्ना बच्चालाई यी यी व्यवहार यौन हिंसा हो है भनेर सिकाउन सकिन्छ। हिजो हामीलाई सिकाइएन, तर आज हामीले यस्ता कुरा सिकाउन चुक्नु हुँदैन।​​​​

यसअघि यसरी बहस नै भएन?
अहिले पनि बहस दोषीलाई समात्ने र कानुनी दायरामा ल्याई कारबाही गर्नेमा मात्र सिमित छ। हामी घरिघरि कडा कानुन ल्याएर अपराध हटाऔं मात्र भनिरहेका छौं। यसले स्थायी समाधान दिँदैन।

भिडिओः विशाल कार्की

केहीले दोषीलाई मृत्युदण्ड समेतको सजाय दिए बलात्कार घट्छ भनिरहेका छन्। तर मेरो अध्ययनमा भारतमा यस्तो व्यवस्थाका बाबजुद बलात्कार घट्नुको साटो बढिरहेको देखिन्छ। यसमा तपाईंको अध्ययनको निचोड के हो?
हाम्रोमा आइरहेका बलात्कारका घटनामा १८ महिनासम्मका बालिका बलात्कृत भैरहेका देखिन्छन्। शारिरीक रुपले यौनाङ्ग विकास नभैसकेका बच्चाहरुमाथि झम्टने यस्ता हिंस्रक व्यक्ति हरुका मानसिक अवस्थामाथि पनि हामीले अध्ययन गर्न जरुरी छ। यस्ता घटनाहरू केलाउँदा बलात्कारीले आफुले यौन सन्तुष्टिका लागि बलात्कार गरेको देखिँदैन।  यदि त्यसो हुन्थ्यो भने उसले राम्ररी यौनाङ्ग विकास नभएको बालिकालाई बलात्कार गर्नै नै थिएन। 

यी अपराधीहरू कुन खालका मानसिक अवस्थाबाट गुज्रिएर आए भनेर नहेरी हामीले जड कारण भेउ पाउन सक्दैनौं। यस्तो डरलाग्दो आपराधिक मानसिकता कहाँबाट विकसित भयो भनेर हेर्नुपर्ने हुन्छ। यस्ता व्यक्ति मानसिक रुपले स्वस्थ छन् भनेर मान्न सकिँदैन। मानसिक रुपले अस्वस्थ व्यक्ति लाई हामीले मृत्युदण्ड दिएर पनि त्यसको केही अर्थ रहँदैन। जब अपराधीलाई नै मैले यो अपराध गरे बापतको सजाय भागिरहेको छु भन्ने अनुभूत हुँदैन भने त्यस्तो सजायको कुनै अर्थ रहँदैन।  

यहाँ हेर्नुपर्ने अर्को महत्वपूर्ण पाटो छ। मानौं अपराधीले मृत्युदण्ड पायो रे त्यो व्यक्ति त सकियो। आजन्म कारावासको सजाय पाएमा जेलमा सरकारी दालभात खान्छ, बस्छ। तर मुख्य समस्या यो होइन। मुख्य समस्या पीडितको हो। पीडकले सजाय पाएपछि पीडितले मुक्त आकासमा सास फेरेर बाँच्न पाएको छ कि छैन भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो। पीडक जेलमै भएपनि ऊ त बाँचिरहेको हुन्छ तर पीडित बाँचेर पनि मरेतुल्ल्य हुन्छ। उसले सास फेरेपनि मरिरहेको हुन्छ।

हाम्रो समाजमा अहिले पनि पीडितलाई नै प्रश्न गरिन्छ। ऊ बलियो भएर ‘म शीर ठाडो पारेर बाँच्छु’ भन्दापनि उसैमाथि बारम्बार त्यही प्रश्न गरेर उसलाई पछाडि धकेलिरहेका हुन्छौं। आफुले नगरेको ‘अपराध’ को भारी बोकेर ऊ जीन्दगीभर बाँच्न अभिशप्त हुन्छ। 

विकसित देशमा यस्ता हिंसा भोगेका बच्चालाई कानुनले, प्रशासनले र समाजले संरक्षण गरेको हुन्छ। त्यसैले यौन हिंसा हुनासाथ तिनले सम्बन्धित निकायमा आफ्ना कुरा ढुक्क साथ राख्न सक्दछन्। यहाँ चाहिं ‘म पीडित भएँ है’ भनेर सप्रमाण बाहिर आउँदा पनि उल्टै प्रश्न गरिन्छ। यसले हामी कस्तो सामाजिक संरचनामा बाँचिरहेका छौ भन्ने राम्रो तस्वीर देखाउँछ।​

बलात्कार विरुद्धका आन्दोलन, अभियानहरूले यस्ता पीडितहरु कसरी बाँचिरहेका छन् भन्ने हेरिरहेको हुन्छ या त्यसै छाडिदिन्छ?
अहँ हेरिँदैन। यस्ता आन्दोलनले नियम कानुन लागु गराउन प्रशासनलाई दबाब दिने काम चाहिं गर्छ तर पीडितको वास्तविक पीडाको गहिराइ बुझ्न खोज्दैन। हामी सडकमा निस्कन्छौं, संजालबाट आवाज उठाउँछौँ र दोषीलाई सजाय गर भन्छौं। बढीमा कानुनमा भएका कमी कमजोरी सच्याउन या परिमार्जन गर्न दबाब दिन सक्छौं। तर हामीले पीडित महिलालाई समाजमा हाँसेर बाँच्न पाउने वातावरण निर्माण गर्न सहयोग गरिरहेका छैनौं। संजालमा लेख्दैमा सडकमा उफ्रँदैमा हामीले व्यवहारमा तिनका लागि साँच्चिकै राम्रो काम गरिरहेका छौं भन्ने अवस्था देखिँदैन।

एकथरीले चाहिं ‘पूँजीवादी पुरुष सत्ता’ ले नचाहेर पीडितले न्याय पाउने वातावरण नबनेको तर्क गर्छन्, तपाईंको के छ यसमा टिप्पणी?
पूँजीवादी ब्यवस्था र पुरुष सत्तामाथि दोष थोपरेर मात्र यस्ता कुराबाट उम्कन सकिँदैन। भन्नलाई सहज हुन्छ, दोष लगाइदिए हुन्छ तर सधैं दोष लगाएर मात्र पुग्दैन। राज्यले गरेन भने परिवर्तनका संवाहक भनिने सजग नागरिकहरुले यसमा हस्तक्षेप गर्नुपर्यो। नीति निर्माण बनाउन दबाब दिने एउटा कुरा भयो, त्यसलाई कसरी लागु गरिन्छ, त्यो अर्को पाटो भयो। दुवैलाई सँगै लैजान दबाब सिर्जना गर्नुपर्यो। बच्चाका लागि घरमा र विद्यालयमा हिंसाबाट कसरी बच्ने भन्ने शिक्षा दिनुपर्यो। 

नीति नियम र कानुनले मात्र कसरी यसको हल गर्छ जबकि समस्या त घरमा छ। समाजमा छ। व्यक्ति मा छ। उसको चिन्तनमा छ? 
बलात्कार पुरुषले मात्र गर्दैन, संरचनाले पनि गर्छ जस्तो लाग्छ मलाई। पछिल्लो समय आएको घटनामा पीडित युवतीले अपराध गरेका केही पुरुषको नाम सँगै केही महिलाको नाम पनि लिएकी छन्। यो अपराधमा ती पनि भागिदार छन्। यसले पनि समाज मिलेरै उनलाई पीडा दिएको देखिन्छ। 

त्यहि भएर हो तपाईंले सामाजिक सञ्जालमा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई तोकेरै ‘तिम्ले पीडितलाई किन सहयोग नगरेको’ भनेर लेखेको? 
पीडितले माल्भिका सुब्बा एउटा व्यक्तिसँग सहयोग मागेकी थिइनन्, व्यक्तित्वसँग सहयोग मागेकी थिइन। उनी कोरियोग्राफर र यही क्षेत्रको हस्ती थिइन। उनले ‘आइडल’ मानेर सुब्बासँग सहयोग मागेकी थिइन। मलाई सहयोग गर्न सक्ने सबैभन्दा नजिकको व्यक्ति भनेर जुन हिसाबले उनले सहयोग मागेकी थिइन, माल्भिकाले पूरै उपेक्षा गरेको देखिन्छ। जसलाई उनले आफ्नो गल्ति मानेर क्षमा पनि मागेकी छन्। त्यो भिन्नै कुरा हो।

यदि त्यो बेला उनले कुरा सुन्दिएको मात्र भए ती युवतीले ८–८ बर्षसम्म यो पीडा भोग्नुपर्थेन। पीडाको यो सिलसिला त्यहिँ रोकिन सक्थ्यो। त्यतिबेलै यो कुरा बाहिर आउँथ्यो र अपराधी उहिल्यै समातिन्थे। आफुले रोलमोडल मानेको व्यक्तिले सहयोग नगरिदिँदा उनलाई त्यही कुराले बारम्बार पीडा दिइरह्यो।​

तपाईंले महिलाको कुरा उठाउनु भो। पीडितले त्यस अपराधमा नाम लिएका पुरुषहरुलाई उनले संरक्षकको रुपमा अपनाएको जस्तो देखिन्छ। तर ती चारैजना पुरुषले पनि उनलाई झन् पीडा थपेको देखिन्छ। यसले दिएको सन्देश के हो?
यसले हामीले आफ्ना छोराहरुलाई कस्तो पालनपोषणमा हुर्काइरहेका रहेछौं भन्ने देखाउँछ। किनकी उनले संरक्षक मानेर विश्वास गरको चारजना पुरुष भिन्न भिन्न पृष्ठभूमिका थिए। तर तिनको चिन्तन एउटै मशीनबाट निकालिएको जस्तो देखियो। 

हामीले घरमै अपराधी जन्माइरहेका रहेछौँ। यो हाम्रो समाजको मानसिकता बुझ्ने परिघटना पनि हो। हाम्रो समाजले कसरी व्यक्तित्व निर्माण गरिरहेको रहेछ भन्ने यसले राम्ररी देखाउँछ। यो सबै अपराधको बराबरी भागिदार हामी पनि हौं। किनकी हामीले हाम्रो छोराहरुलाई त्यो बमोजिमको शिक्षा दिन सकेनौँ। किनकी तिनलाई हामीले यस्ता मुद्दामा संवेदनशील हुनै सिकाउन सकेनौँ। त्यसैले मुख्य समस्या हाम्रो हुर्काइमै देखिन थाल्यो। 

हाम्रो शास्त्र, संस्कार र संस्कृतिले बच्चामा बाबुको, यौवनमा पतिको र बृद्धावस्थामा छोराको’ छत्र छायाँमा बस्न सिकाएकोले पनि हाम्रा युवाहरुको हुर्काइमा समस्या देखिएको त होइन? 
हो। यस्तो हुर्काइले पुरुष शक्तिशाली भएर आयो। महिलालाई चाहिं हामी कसैको संरक्षणमा बस्नुपर्ने हो कि भन्ने भयो। पुरुषको संरक्षकत्व बिना लड्न गाह्रो बनाइयो। त्यसैले पनि पीडितले चार जना पुरुष साथी बनाएकी छन्। उनले आफ्ना अभिभावकसँग कुरा नगरेर गल्ति गरेको भनेकी छन्। उनको यसै भनाइमाथि टिप्पणी गरेर केहीले किन यत्रो बर्षसम्म चुप लागेर बसेको भनेर प्रश्न गरिरहेका छन्।

उनी किन चुप लागिन भनेर हेर्न त हाम्रो सामाजिक संरचनालाई पनि हेर्नुपर्यो, बुझ्नुपर्यो। हामी त्यता प्रविष्ट गर्न चाहँदैनौँ। अपराधीले किन त्यत्रो अपराध गर्यो भनेर ध्यान दिँदैनौँ, खाली यस्ता कुरामा प्रश्न गर्दै बसिरहेका छौं। त्यतिबेला उनले विभिन्न कारणले भनिनन्, अहिले सहज लाग्यो भनिन्। 

हामीले माथि विमर्श गरिरहे झैं के ती पीडित युवतीले अहिले मुक्त सास फेर्न पाइरहेकी छन् त?
अहिले पीडितको घरमा महिलाहरुको निकै भीड लागेको छ रे। प्रहरी प्रशासन पनि पुगेको सुनेको छु। त्यसरी मान्छे जम्मा गरिदिनु किन पर्यो? उनका निम्ति राज्यले गरिदिनुपर्ने मुख्य काम अपराधी पत्ता लगाएर सजाय दिने र पीडितलाई स्वतन्त्रतापूर्वक एक्लै हिँडडुल गर्न पाउने वातावरण मिलाइदिने हो। उनले आफुले नगरेको अपराधको बोझ बोकेर हिँड्नु नपर्ने समाजको निर्माण गरिदिनु पर्यो। त्यो नै वास्तविक न्याय हो। पीडितलाई काखमा बोकेर हिंड्ने न्याय उनलाई चाहिएको होइन। के हामी यस्तो गम्भीर विषयमा प्रविष्ट गर्नसकेका छौं? छैनौं। बरु हामीले उल्टो नचाहिँदो ‘प्रोभोक’ गरिरहेका छौं।

 

जेठ ८, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad