अन्तर्वार्ता


पहिले जिउज्यान लगाएर पौडेललाई जिताउन खोजेकै हो, अब त मै हुँ साझा उम्मेदवार : प्रकाशमान सिंह (अन्तर्वार्ता)

पहिले जिउज्यान लगाएर पौडेललाई जिताउन खोजेकै हो, अब त मै हुँ साझा उम्मेदवार : प्रकाशमान सिंह (अन्तर्वार्ता)

केशव सावद
कात्तिक १२, २०७८ शुक्रबार १२:४७, काठमाडौँ

नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर २४–२६ सम्म काठमाडौंमा गर्ने कार्यतालिका बनाएको छ। यद्यपि, उक्त मितिमा महाधिवेशन सम्पन्न हुने सम्भावना भने न्यून देखिन्छ। 

कार्यतालिका संशोधनका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मंगलबार मात्रै पदाधिकारी बैठक बोलाएर केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिइसकेका छन्। पूर्वनिर्धारित मितिमा महाधिवेशन सम्पन्न नगरे कांग्रेसको वैधानिकतामाथि नै प्रश्न उब्जिने आवाज पनि कांग्रेसमा उठ्दै आएको छ। 

महाधिवेशन र सरकारको कामकारवाहीमा केन्द्रित रहेर कांग्रेसका पूर्वमहामन्त्री एवम् सभापतिका आकांक्षी प्रकाशमान सिंहसँग नेपालखबरले गरेको कुराकानीः 

नेपाली कांग्रेसको वैधानिकतामाथि नै प्रश्न उठाइरहनुभएको छ। संस्थापन पक्ष महाधिवेशन प्रक्रिया सुरु भइसकेकाले वैधानिक संकट छैन भन्छ। खास कुरो के हो? 
नेपाली कांग्रेसको विधानले त हरेक अधिवेशन चार वर्षमा हुनुपर्छ भन्छ। विधानअनुसार १३ औं महाधिवेशनबाट ज–जसले नेतृत्व सम्हालेका छन्, तिनीहरुको जिम्मेवारी भनेको चार वर्षमा महाधिवेशन गर्नु हो। 

तर, चार वर्षसम्म केही कामै नगर्ने। विधानले महाधिवेशन सकिएको दुई महिनाभित्र विभागहरु गठन भएको हुनुपर्छ भन्छ। यो कुरा विधानमा प्रष्टसँग निर्देशित छ। दुई महिनाको के कुरा, दुई वर्षको के कुरा, आफ्नो चार वर्षीय कार्यकाल सकिसकेपछि विभाग गठन गरिएको छ। 

कांग्रेसको विधानले असामान्य परिस्थितिमा एक वर्ष कार्यकाल थप्न पाइन्छ भनेको छ। त्यो दफामा टेकेर एक वर्ष ‘एक्स्टेन्सन’ गर्यो। चार वर्षमा गर्नुपर्ने क्रियाशील सदस्यतालगायत न्यूनतम कामहरु केही नगरेका कारण एक वर्ष थप्यो। एक वर्ष थपेर महाधिवेशनको तिथि–मिति पनि तोक्यो। त्यसपछि बल्ल विभागहरु गठन गरिएका छन्। त्यसको हामीले विरोध गर्यौँ। विरोध गर्दा पनि मेरो बहुमत छ भनेर उहाँ (सभापति) ले गठन गर्नुभयो।

विधानले त चार प्लस एक गरी पाँच वर्षमा हुनैपर्छ भनेको छ। तर, संविधान जारी गर्दा सर्वदलीय सहमतिबाट हरेक पाँच वर्षमा हुनुपर्नेलाई साढे पाँच वर्षमा गरौँ भन्ने व्यवस्था भयो। र, संविधानले भन्छ– एक महाधिवेशन भएको मितिले पाँच वर्ष ६ महिनामा अर्को महाधिवेशन भएकै हुनुपर्छ। त्यो ६ महिनालाई टेकेर ग्रेस पिरियड लिएको छ। तपाईंहरुलाई थाहै छ– तिथिमिति तोक्ने, तर कामको प्रगति नहुने। मिति बदल्दै हलुका रुपले लिने। बहुमत भएपछि हामी पदाधिकारीले हामीले जे गरे पनि हुन्छ भन्ने छ। 

उहाँ (संस्थापन) हरुले प्रक्रिया सुरु भयो नि, हामी गर्दैछौँ नि भन्नुहुन्छ। गर्दैछौँ भन्दाभन्दै पनि चार पटक मिति बदलिइसक्यो। मंगलबार पदाधिकारी बसेर बैठक गरेर मिति चेन्ज गर्ने सहमति गरेको छ भन्ने समाचार आइरहेको छ। मंसिर ९ बाट सुरु हुनुपर्नेमा मिति पर सार्न  सभापतिज्यूले निर्वाचन समितिलाई निर्देशन गर्नुभएको छ रे। 

प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा दोहोरिने ढुक्क नहुँदासम्म र तपाईंहरुको समूह उहाँलाई हराउन सकिन्छ भनेर निर्धक्क नहुँदासम्म कांग्रेसको महाधिवेशन नै हुँदैन पनि भन्छन् नि!
महाधिवेशनै नहुने हो भने त अवैध भइहाल्छ नि पार्टी। त्यसै पनि मैले भनिहाले नि पार्टी विधानको कुरा छाडिदिऊँ, नेपालको संविधान नै उल्लंघन गरेर अवैध रुपमा हामी जे गर्छौं, ठीक छ भनेर जबरजस्ती गरेर हुँदैन नि। 

औषधि उत्पादन गर्दा एक्स्पायरी डेट हुन्छ। त्यो डेट एक्स्पायर भएपछि औषधि खाँदा कस्तो प्रभाव पार्छ? यो कमिटी एक्स्पायर भइसक्यो। यो कमिटीले गरेको कुरालाई जनताले के भन्छ? आफ्नो महाधिवेशन समयमा गर्न नसक्ने कांग्रेसले लोकतन्त्र जोगाउँछ? विकास निर्माणका काम, सुशासन, भ्रष्टाचारमुक्त शासन यिनीहरुले दिन सक्छन्? 

जनताको हितका लागि राजनीति गर्ने पार्टी हो कांग्रेस। इमेज नै बिग्रिने गरी म सत्तामा छु, म इलेक्टेड छु, मेरो बहुमत छ भन्दैमा डेमोक्रेटिक कल्चर कुल्चन पाइन्छ? यसले नेपाली कांग्रेसलाई कमजोर बनाएको छ। नेपाली कांग्रेस कमजोर भएर लोकतन्त्र संकटमा परिरहेको छ।

संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय गर्छौँ भनेको पनि झण्डै दुई महिना हुन लाग्यो। निर्णय लिन किन सक्नुभएन?
दुई महिना कहाँ हो र? हामीले त १३ औँ महाधिवेशनको नतिजा आउनासाथ महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टीको पार्टी विधि र आधारभूत सिद्धान्तअनुसार काम गर्दैन भनेका हौँ। हाम्रा आदरणीय नेताज्यूहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर लगायतका नेताहरुले जन्माएको पार्टी, डेमोक्रेटिक सिस्टमको लागि लडेको पार्टी, प्रतिकूल अवस्थामा पनि दुःख खाने, जेल जाने, ज्यान दिने, निर्वासित जीवन बिताउने तर मूलभूत सिद्धान्तबाट विचलित हुँदैन भन्ने कांग्रेसको जुन छवि छ, त्यो उहाँहरूबाट कायम रहन सक्दैन भनेका हौँ। १३ औं महाधिवेशनबाट नेतृत्वमा आएकाहरूले जिम्मेवार पार्टी कार्यकर्ताहरूले विधि–विधानअनुसार पार्टी चलाउनुपर्छ भनेर दिएको जिम्मेवारी उल्लंघन गरेका कारण पार्टी कमजोर अवस्थामा छ।  

होइन, तपाईंहरुलाई साझा उम्मेदवार बनाउन के ले रोक्यो भनेको?
फ्र्यांक्ली भन्नुपर्दा सबैले मै हुनुपर्छ भनेका कारण साझा उम्मेदवार बनाउन नसकिएको हो। मेरो भनाइ पोलिटिकल जस्टिस हुनुपर्यो भन्ने हो। सामाजिक न्याय हुनुपर्यो भन्छौँ। आर्थिक न्याय हुनुपर्यो भन्छौँ। विभेद हटाउन पर्यो भनेर आवाज उठाउँछौँ। पोलिटिकल पार्टीको महाधिवेशनमा पार्टी सभापति र पदाधिकारी हुन उचित मान्छेलाई उचित ठाउँमा राख्नुपर्दैन? अनुभव नै नभएका, अवसर पाएर पनि काम नगरेकालाई पदमा राखेर पार्टी अगाडि बढ्न सक्छ? मैले एकदम स्पष्ट भनिरोखको छु– राजनीतिक न्याय हुनुपर्यो। 

देशभर घुम्दा, साथीभाइ भेट्दा सबैले १३ औँ महाधिवेशनपछि शेरबहादुरजीले पार्टी चलाउनै सक्नु भएन भन्छन्। सँगसँगै रामचन्द्रबाट पनि अब पार्टी चल्दैन भन्छन्। यो भनिसकेपछि एउटा सेन्टिमेन्ट के छ भने नेतृत्व परिवर्तनको आवश्यकता छ। 

कम्युनिस्टले जारी गर्न नसकेको संविधान हामीले जारी गर्ने। त्यसलाई संस्थागत गर्नका लागि निर्वाचनमा भोट माग्न जाँदा मतदाताले किन भोट दिएनन्? भोट त कांग्रेसले पाउनुपर्ने होइन? संविधान कांग्रेसले ल्याउने अनि त्यसलाई संस्थागत गर्न झण्डै दुई तिहाइ बहुमत किन कम्युनिस्टलाई दियो? किनभने १३ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वले जनताको विश्वास लिन सकेन। यसकारण जनताले त स्पष्ट सन्देश दिइसक्यो, हाम्रो मत लिने हो भने तिमीहरु नेतृत्व परिवर्तन गरेर आऊ। नत्र हामी सहयोग गर्दैनौँ भनिसक्यो।

तपाईंको समूहले साझा उम्मेदवार तय गर्न नसकेको अवस्थामा तपाईंको उम्मेदवारी कायम रहन्छ कि रहँदैन? 
मैले भनेको के हो भने विधि र नियमअनुसार पार्टी चल्नुपर्छ भनेर सुरुदेखि पार्टीभित्र अभियान चलाएको हुँ। मलाई पदमा जिम्मेवारी दिँदा नमुनाको रुपमा संगठन कस्तो हुनुपर्छ भनेर जिल्ला कार्यसमिति काठमाडौँ सञ्चालन गरेको थिएँ। 

म जिल्ला सभापति हुँदाको जुन जग छ, त्यही जगमा अहिले पनि संगठन चलिरहेको छ। पछि म महामन्त्री भएँ, १२ औँ महाधिवेशनबाट इलेक्टेड महामन्त्री हुँ। सभापति सुशील कोइराला हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा दोस्रो संविधानसभा निर्वाचनमा लार्जेस्ट पार्टीको रुपमा नेपाली कांग्रेसलाई पुर्याएका हौँ। 

त्यसपछि सुशील कोइराला नै प्रधानमन्त्री हुनुभयो। उहाँले मलाई उपप्रधानमन्त्री बनाउनुभयो। त्यही समयमा हामीले संविधान पनि जारी गरेका हौँ नि। मैले भनेको के हो भने पद पाउँदा काम नगर्नेहरुलाई पद चाहिने रे। अनि लोकतन्त्रमा संकट आउँदा अडान लिने, जेल जानेहरू अनफिट हुने। अनुभव केही नबटुलेका, आफ्नो संसदीय निर्वाचन क्षेत्रबाट जित्न नसक्नेहरुले पार्टी हाँक्न सक्छ? अहिले ज–जसको नाम चलिरहेको छ, उहाँहरुलाई पोलिटिकल जस्टिस हुनुपर्यो भनिराखेको छु।

पद पाउँदा काम नगर्ने भनेर महामन्त्री डा. शशांक कोइराला, निर्वाचन जित्न नसक्ने भनेर वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शेखर कोइरालालाई भन्नु खोज्नुभएको हो? 
मैले भने नि, मत राख्दा मतदाताले सोच्दो रहेछ नि त। विशेषगरी सभापति र पदाधिकारीलाई हेर्दो रहेछ। अनुभव कत्तिको छ, संकटमा यो नेताले के गर्यो, आफ्नो निर्वाचन क्षेत्रमा जितेको छ कि छैन, सबै हेर्छ। यो तथ्य मैले भनिराखेको हो। को–को नेता त्यसमा पर्छन्, त्यो तपाईंले अर्थ लाउने कुरा हो।

भनेपछि तपाईं साझा उम्मेदवार भए ठिक छ। नत्र तपाईंको उम्मेदवारी यथावत रहन्छ, होइन त?
मैले भने नि घटनाक्रमले यही देखाइरहेको छ। मेरो पर्सनल एम्बिसन होइन। म त विभिन्न वर्कर कमिटीमा बसेर यहाँसम्म आइपुगेको हुँ। गिरिजाप्रसाद कोइराला सभापति हुँदा म पार्टी उपसभापति भइसकेको मान्छे हुँ। शेरबहादुरजी सभापति हुँदा म उपसभापति भइसकेको मान्छे हुँ। रामचन्द्रजी पार्लियामेन्ट्री पार्टीको लिडर हुँदा म डेपुटी लिडर भइसकेको मान्छे हुँ। सुशील कोइरालाजी पार्टी प्रेसिडेन्ट हुँदा म इलेक्टेड त्यो पनि नेपाली कांग्रेसको इतिहासमा फस्र्ट इलेक्टेड जनरल सेक्रेटरी भइसकेको मान्छे हुँ।

प्रतिनिधिसभा निर्वाचन सकिसकेपछि शेरबहादुर देउवाजीसँग संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गरेको व्यक्ति हुँ नि त। यी सबै कारणले गर्दा मसँग अनुभव छ, टिम वर्क गरौँ। ठीक मान्छेलाई ठीक ठाउँमा राखौं भन्दै आएको छु। 

तपाईंहरुको समूह शेरबहादुर देउवाको विकल्प खोजिरहनुभएको छ। रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाएर अन्य आकांक्षीले पदाधिकारीमा उम्मेदवारी दिँदा देउवालाई हराउन सजिलो होला नि त!
तपाईंले भन्नु भएजस्तो अघिल्लो महाधिवेशनमा उहाँलाई हामीले समर्थन गरेकै हौँ नि। समर्थन मात्रै होइन, मैले त जिउज्यान लगाएर उहाँ (पौडेल) लाई जिताउने प्रयास गरेकै हुँ। विभिन्न फ्याक्टर्सले गर्दा उहाँ जित्न सक्नुभएन। उहाँ कार्यवाहक सभापति हुनुहुन्थ्यो। सभापति सुशील कोइराला बित्नुभयो। उहाँ बितिसकेपछि कार्यवाहक त उहाँ नै हुनुहुन्थ्यो। 

अहिले कार्यकर्ताहरूको चाहनाअनुसार नेतृत्व परिवर्तनको आवश्यकता छ। १३ औँ महाधिवेशनपछि त कांग्रेस नै हो कि होइन जस्तो भइसक्यो। १३ औं बाट आएको नेतृत्व (देउवा) र उहाँसँग प्रतिस्पर्धा गरेका रामचन्द्र पौडेलजीबाट अब पार्टी चल्दैन भनिसकेपछि कार्यकर्ताहरूको चाहनाविपरीत जबर्जस्ती नेतालाई इम्पोज गर्दैमा हुन्छ र? 

भिडियो :

पार्टीलाई विधि र नियमअनुसार सञ्चालन गर्ने, आउने दिनहरुको चुनौती, राष्ट्रिय, प्रादेशिक, स्थानीय मुद्दाहरूलाई पहिचान गरेर सशक्त रुपमा समयमा यसको निदान गर्न सक्ने, संविधानको भावना र मर्मअनुसार विधि र नियममा राज्य सञ्चालन गर्नको लागि हिँडाउन सक्ने पार्टीको रुपमा कांग्रेसलाई म अगाडि लैजान चाहन्छु। त्यसमा मलाई सबैले साथ दिनुपर्यो भनिराखेको छु। 

उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र तपाईंले चार पटक छलफल गरिसक्नुभएको छ। ती छलफलमा के कुरा भए?
म त फ्र्यांक्ली भन्छु। आज पनि भन्छु– आखिरमा गएर को कुन पदमा बस्ने भन्ने कुरा आउँछ मिलाउनलाई। राजनीतिक न्याय हुनुपर्यो भन्ने कुरा छलफलका क्रममा मैले राखेको छु। उहाँहरुभन्दा त मै सिनियरमोस्ट हुँ। 

सहमति गरेर जाने सैद्धान्तिक सहमति भयो भन्ने कुराहरु आएका थिए नि? 
छलफलमा गइरहेको छ। म त सहमतिका लागि राजनीतिक न्याय हुनुपर्छ भन्छु। अवसर पाएर काम नगर्नेहरुलाई दिन म तयार छैन। 

तपाईंको समूहमा चार जना आकांक्षी हुनुहुन्छ। ती आकांक्षीमध्ये कुनै एक जनालाई संस्थापन समूहले आफूतिर तानेर उपसभापति बनाउने सम्भावना पनि छ भनिन्छ नि?
होइन, आकांक्षी त कति होला–होला। गरे भने गर्छन्। राजनीति हो। त्यस्तो त हुन्छ नि। नेतृत्व परिवर्तनको आवश्यकता छ, त्यसका लागि क्लिन इमेज भएको, डाइनामिक लिडर चाहिन्छ भन्ने आम जनता, कार्यकर्ताको जुन चाहना छ, त्यसलाई म फुलफिल गर्न सक्छु। 

संसद् लामो समयदेखि अवरुद्ध छ। सरकारले पनि प्रभावकारी काम गर्न सकेको देखिएन। यसबारे कांग्रेस किन मौन? 
कांग्रेसकै नेतृत्वमा सरकार छ। झण्डै दुई तिहाइ प्राप्त गरेको कम्युनिस्ट सरकारले गरेका बेथिति करेक्सन गर्न दलहरु मिलेर गठबन्धन सरकार भएको छ। दुईतिहाइ प्राप्त गरेको सरकारले गरेका ड्यामेज करेक्सन गर्नु नै यो सरकारको काम हो। संविधानलाई ट्रयाकमा लगेर विधिअनुसार काम गर्नु नै यसको काम हो भनेपछि त्यो प्रयास त सरकारले गरिरहेकै छ। 

ठूलो दुर्घटनापछि मान्छेको स्वास्थ्यलाई सामान्य अवस्थामा लैजान समय त लागिहाल्छ नि। तंग्रिन समय लाग्छ। अहिले त्यही भइराखेको छ। 

आफ्नै पार्टीका सभापतिले नेतृत्व गरेको सरकारको मूल्यांकन कसरी गर्नुहुन्छ?
तपाईंलाई याद होला, गठबन्धन सरकारको नेतृत्व शेरबहादुरजीले गरिसकेपछि मैले कांग्रेस संसदीय दलका तर्फबाट उहाँलाई बधाई ज्ञापन गर्ने क्रममा संसदमै बोलिसकेको छु। यो सरकारसँग जनताको धेरै ठूलो अपेक्षा छैन। अपेक्षा के छ भने– ओली सरकारको हेलचेक्रयाइँका कारण काभिड–१९ को महामारीमा हजारौंको संख्यामा ज्यान गएको थियो, त्यस्तो नहोस्। अलि जिम्मेवार होस् सरकार।

सभापतिजीले पनि हाउसमा बोल्नुभयो– यो सरकारको प्रमुख प्राथमिकता भनेको खोप–खोप–खोप। उहाँले नेतृत्व गरेको गठबन्धन सरकारले खोपमा त राम्रै काम गरेको छ। ओली सरकारले खोप ल्याउनै नसक्ने, ल्याए पनि काण्डैकाण्ड गर्ने, जनताको जिउ ज्यानको मतलब छैन। कोरोना चेक गर्ने मतलब छैन। खाली कमाउ धन्दामा लाग्ने। भन्ने भ्रष्टाचारविरुद्ध शून्यसहनशीलता तर गर्ने भ्रष्टाचारै भ्रष्टाचार। अहिले कमसे कम यस्ता भ्रष्टाचारका काण्ड आएका त छैनन्। 

अन्त्यमा, निर्वाचन नजिकिँदैछ। कांग्रेसको चुनावी रणनीति कस्तो हुन्छ? गठबन्धन बचाएरै जाने कि एक्लै होमिने? 
यो विषयलाई लिएर जिल्ला जिल्ला घुम्दा, जिल्लाका नेताहरुसँग कुरा गर्दा मैले कांग्रेसका आम कार्यकर्ताको चाहना पार्टी एक्लै चुनावमा जानुपर्छ भन्ने पाएको छु। कम्युनिस्टहरूसँग गठबन्धन गरेर जानु हुँदैन भन्ने आम चाहना छ। म पनि त्यसैमा छु।       

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .