इरानसँग युद्धकै बिच इजरायलमा एक जोडीले बंकरभित्र बिहे गरेका छन्।
इजरायली सञ्चारमाध्यमका अनुसार मिसा नामका व्यक्तिले बुधबार इजरायलको तेल अभिभमा रहेको भूमिगत बम सेल्टरमा लियोर नामकी युवतीसँग बिहे गरेका हुन्।
उनले आफ्नी दुलहीलाई घुम्टो ओढाए।
सुरुमा विवाह पेटाह टिक्वामा हुने तय गरिएको थियो, तर युद्धका कारण बम सेल्टरमा सारिएको हो।
बंकरभित्र बिहेपछि मिसाले भने, ‘परिस्थिति जस्तोसुकै होस्, नयाँ सुरुवात हुनुपर्छ। जीवन रोकिनु हुँदैन।’
अमेरिका-इजरायलले इरानविरुद्ध गरेको आक्रमण आज छैटौँ दिनमा प्रवेश गरेको छ।
इजरायल र अमेरिकाका सेनाले बिहीबार पनि इरानमा मिसाइल प्रहार गरेका छन्।
जवाफमा इरानले पनि इजरायल र अमेरिकी हवाई अड्डा रहेका खाडी देशहरूमा आक्रमण गरिरहेको छ।
फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीसहित शीर्ष नेतृत्व नै सखाप पारेको छ।
अमेरिका र इजरायलको आक्रमणबाट अहिलेसम्म इरानमा १ हजार ४५ जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
Shares

प्रतिक्रिया