इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गेस मोहम्मदीलाई ‘हिंस्रक रूपमा पक्राउ’ गरेको उनको फाउन्डेसनले जनाएको छ।
नर्गेस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई पूर्वी इरानी सहर मसहदमा अन्य कार्यकर्ताहरूसँगै पक्राउ गरिएको हो।
नोबेल समितिले ‘नर्गेस मोहम्मदीको गिरफ्तारीप्रति गहिरो चिन्ता’ व्यक्त गरेको छ र अधिकारीहरूलाई ‘मोहम्मदीलाई कहाँ राखिएको छ भन्नेबारे जानकारी दिन, उनको सुरक्षा र मर्यादा सुनिश्चित गर्न र उनलाई बिनासर्त रिहा गर्न’ आग्रह गरेको छ।
यस विषयमा इरानी सरकारबाट भने अहिलेसम्म कुनै टिप्पणी आएको छैन।
मोहम्मदीलाई इरानमा महिला दमनविरुद्धको संघर्ष र मानव अधिकारको प्रवर्द्धन गरेबापत सन् २०२३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
डिसेम्बर २०२४ मा उनलाई मेडिकल आधारमा जेलबाट तीन हप्ताका लागि अस्थायी रिहा गरिएको थियो।
उनी २०२१ देखि तेहरानको कुख्यात एविन जेलमा थिइन्।
Shares

प्रतिक्रिया