अल्बानियामा अदालतभित्रै गोली हानी न्यायाधीशको हत्या गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अल्बानियाको राजधानी तिरानास्थित पुनरावेदन अदालतमा सोमबार मुद्दा सुनुवाइ गरिरहेका बेला न्यायाधीश एस्ट्रिट कालाजाको हत्या गरिएको हो।
प्रतिवादीले आफूले मुद्दा हार्ने देखेपछि अदालतमा भिडभाडका बीच न्यायाधीशमाथि गोली हानेका हुन्। गोली लागेर अन्य दुई जना घाइते पनि भएका छन्।
घटना हुनासाथ प्रहरीले आक्रमणकारीलाई तत्काल पक्राउ गरेको जनाइएको छ।
प्रहरीको विज्ञप्ति अनुसार, गोली लागेर गम्भीर घाइते न्यायाधीशलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर बाटोमै उनको मृत्यु भयो।
मुद्दामा अर्को पक्षका एक पुरुष र उनका छोरालाई पनि गोली लागेको छ। उनीहरूलाई पनि अस्पताल लगिएको छ। उनीहरूको अवस्था हाल स्थिर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गोली चलाउने ३० वर्षीय संदिग्धलाई भाग्न खोज्दा पक्राउ गरिएको हो। उनको साथबाट रिभल्भर बरामद गरिएको छ।
स्थानीय मिडिया रिपोर्टका अनुसार, मुद्दा सम्पत्ति विवादसँग सम्बन्धित थियो। जब अभियुक्तले आफूले मुद्दा हार्ने थाहा पाए तब न्यायाधीशमाथि गोली चलाएको दाबी गरिएको छ।
अधिकारीहरूले भने संदिग्धको मनसायबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइसकेका छैनन्।
Shares

प्रतिक्रिया