मेघालय हनिमुन हत्या प्रकरणमा शिलोङ प्रहरीले ठेकेदार लोकेन्द्र तोमरलाई पनि पक्राउ गरेको छ।
भारतकै मध्य प्रदेश इन्दौरबाट हनिमुन मनाउन मेघालयको शिलोङ पुगेका राजा रघुवंशी मारिएपछि उनकी पत्नी सोनमसहित ७ जना यसअघि नै पक्राउ परिसकेका छन्।
अनुसन्धानका क्रममा प्रहरीले पछिल्लोपटक सोनम लुकेर बसेको भवनका ठेकेदार लोकेन्द्रलाई नियन्त्रणमा लिएको हो। उनी मूल रूपमा ग्वालियरका बासिन्दा हुन्।
पतिको हत्यापछि सोनम इन्दौर फर्किएर बन्दै गरेको एउटा नयाँ भवनमा फ्ल्याट भाडामा लिएर १४ दिन लुकेर बसेकी थिइन्। जहाँ उनले एउटा कालो ब्याग पनि लिएर आएको तर प्रमाण नष्ट पार्न त्यसलाई गायब पारिएको आरोपमा प्रहरीले भवनका ब्रोकर सिलोम जेम्स र चौकीदार बलवीर अहिरवारलाई पक्राउ गरिसकेको छ।
विशेष अनुसन्धान टोली (एसआईटी) का अनुसार, महालक्ष्मीनगर (एमआर-३) निवासी सिलोम जेम्सले लोकेन्द्र तोमरबाट हिराबाग कोलोनीमा रहेको एउटा भवन भाडामा लिएका थिए। जसको फ्ल्याट (जी-१) मा सोनम र उनका प्रेमी राज बसेका थिए।
गाजीपुर जानुअघि सोनमले आफ्नो झोला र लुगा फ्ल्याटमा लुकाएका थिइन्। लोकेन्द्र र सिलोमले झोला निकालेर आगो लगाएको प्रहरीको आरोप छ। अझै पनि एउटा झोलाको खोजी भइरहेको छ जसमा देशी पेस्तोल र ५ लाख रुपैयाँ नगद राखिएको थियो।
यसैबीच सिलोमको आरोपअनुसार झोलाको सामान लोकेन्द्रले निकालेका हुन्। किनकि फ्ल्याटको साँचो उनीसँग थियो। जुन १० मा उनले फ्ल्याट खाली गरे र चौकीदार बलवीरलाई भुइँ पुछ्न लगाए।
भारतीय सञ्चारमाध्यमका अनुसार सिलोमको नाम आउनेबित्तिकै मोबाइल अफ गरेर फरार लोकेन्द्रलाई एसआईटीले उनकी श्रीमतीको मोबाइलका आधारमा केके प्लाजा फ्ल्याट नम्बर-१०५ गान्धीनगर (ग्वालियर) मा लुकेको पत्ता लगाएको हो। त्यसपछि सोमबार दिउँसो लोकेन्द्रलाई हिरासतमा लियो।
मूल रूपमा सागरतलाका बासिन्दा लोकेन्द्रका बुबा एक अवकाशप्राप्त सेनाका जवान हुन्।
लोकेन्द्र डेल्टाप इन्फ्रास्ट्रक्चर प्राइभेट लिमिटेडका परियोजना निर्देशक हुन्।
एसपी धर्मवीर सिंहका अनुसार, लोकेन्द्रलाई पक्राउ गरी शिलोङ प्रहरीको जिम्मा लगाइएको छ। अब आज (मंगलबार) अदालतमा पेस गरी हिरासत म्यादको अनुमति लिइनेछ।
लोकेन्द्रसमेत राजा रघुवंशी हत्या प्रकरणमा पक्राउ परेकाको संख्या ८ पुगेको छ।
भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी र सोनमबीच मे ११ मा विवाह भएको थियो।
यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा मेघालयको शिलोङ पुगेका थिए। तर उनीहरू मे २३ देखि परिवारसँग एकाएक सम्पर्कविहीन भए।
यसपछि खोजीका क्रममा प्रहरीले राजा रघुवंशीलाई जुन २ मा पहाडको खोँचभित्र मृत अवस्थामा फेला पार्यो। तर त्यतिबेला सोनम भेटिइनन्।
अन्तत: उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि घटना पर्दाफास भएको हो। लगत्तै प्रहरीले सोनम, उनका प्रेमी र राजा मार्न भाडामा लिइएका ३ युवकसमेत ५ जनालाई पक्राउ गरेको थियो।
अहिले थप ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान जारी राखेको हो।
Shares

प्रतिक्रिया