ग्लोबल


पति मारेपछि जुन फ्ल्याटमा प्रेमीसँग भेट्दै १४ दिन लुकेर बसिन् सोनम

पति मारेपछि जुन फ्ल्याटमा प्रेमीसँग भेट्दै १४ दिन लुकेर बसिन् सोनम

प्रेमी राज कुशवाहाका साथ सोनम र उनी लुक्न बसेको फ्ल्याटको भवन


नेपालखबर
असार ४, २०८२ बुधबार १४:९, काठमाडौँ

२३ मे २०२५, दिउँसो २ बजेपछि। स्थान- मेघालयको सोहरा क्षेत्रको एउटा पहाड। शान्त उपत्यका र चिसो हावाका बीच एक युवक आफ्नी श्रीमतीका साथ हनिमुनका याद सजाउँदै पुग्छन्।

तर पहाडमा पाइलाराख्ने बित्तिकै उनलाई पछाडिबाट धारिलो हतियारले हानिन्छ। थप दुई प्रहारपछि उनी रक्ताम्मे भएर ढल्छन्।

उनकी श्रीमतीनजिकै उभिरहेकी थिइन्, जसको अनुहारमा कुनै पीडाभाव थिएन। उनकै अगाडि पति पीडाले छटपटाउँदै मर्छन्। उनी थिए- राजा रघुवंशी। अनि उनका अगाडि उभिएकी युवती थिइन्- सोनम रघुवंशी। 

जुन १७ मा जब प्रहरीले त्यही पहाडमा गएर घटनाको अनुसन्धान गर्‍यो तब सोनमको कुकर्मको पर्दाफास भयो।

सोनम हाल आफ्ना पति राजाको हत्या आरोपमा प्रहरी हिरासतमा छिन्। 

भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी र सोनमबीच मे ११ मा विवाह भएको थियो।

यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा मेघालयको शिलोङ पुगेका थिए। तर उनीहरू मे २३ देखि परिवारसँग एकाएक सम्पर्कविहीन भए।

यसपछि खोजीका क्रममा प्रहरीले राजालाई जुन २ मा पहाडको खोँचभित्र मृत अवस्थामा फेला पार्‍यो। तर त्यतिबेला सोनम भेटिइनन्।

अन्तत: उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि घटना पर्दाफास भएको थियो। 

अहिले सोनमले त्यसबेला के-के गरेकी थिइन् भन्ने कुरा एकपछि अर्को खुलासा भइरहेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार पतिको हत्यापछि सोनम मे २५ गृहजिल्ला इन्दौर नै फर्किइन् र १४ दिनसम्म फ्ल्याटमा लुकेर बसिन्। निधारको सिन्दूर पुछिन् र शाही जीवनशैलीमा दिन बिताउन थालिन्। देवास नाका क्षेत्रको त्यो फ्ल्याट भाडामा लिएर उनी जुन ७ सम्म बसिन्।

धेरै खोजीपछि उक्त फ्ल्याट चयन गरिएको थियो। एबी रोडको गान्धी बाग कोलोनीमा कार सोरुमपछाडि नयाँ भवनमा रहेको यो फ्ल्याट सोनमका प्रेमी राज कुशवाहा र विशाल चौहानले मन पराए। भवन प्रबन्धक सिलोम जेम्सलाई आकाश चौहानको परिचयपत्र दिएर फ्ल्याटको सम्झौता गरिएको थियो।

फ्ल्याटको भाडा महिनाको १७ हजार रुपैयाँ थियो। एक महिनाको अग्रिम भाडाका साथै  ३८ हजार रुपैयाँ डिपोजिट गरिएको थियो। भुइँ तलामा रहेको यो फ्ल्याट मन पराउनुको एउटा प्रमुख कारण भवन नयाँ थियो र फर्निचर, सीसीटीभी जडानलगायत व्यवस्था अझै अपूर्ण थियो।

यसको अर्थ सोनम यहाँ लुकेको प्रमाण फेला पार्ने कुनै सम्भावना थिएन। मे २३ मा राजाको हत्या गरेर दुई दिनपछि मे २५ मा सोनम यो फ्ल्याटमा पुगिन् र कसैलाई पनि थाहा भएन। सोनम धेरै दिनसम्म यहाँ लुकेर बस्ने योजना पहिले नै बनाइएको थियो। त्यसैले उनका प्रेमी राजले अनलाइन अर्डर गरे र फ्ल्याटको ठेगानामा लगभग ५ हाजर रुपैयाँ बराबरको खाद्यान्न पठाए। १४ दिन यहाँ बस्दा सोनमले टीभीमा राजासँग सम्बन्धित समाचार हेरिन्। 

उनका प्रेमी राज पनि मानिसहरूको नजरबाट बच्दै सोनमलाई भेट्न फ्ल्याटमा आउँथे। हत्यामा संलग्न उनका तीनै जना साथी फरक-फरक ठाउँमा लुकेका थिए।

मंगलबार, शिलोङ प्रहरीको टोलीले यो फ्ल्याटमा खानतलासी गरेको छ। जहाँ केही कपडा र भाँडाकुँडा फेला परेका छन्। प्रहरी टोलीले फ्ल्याट छाड्नुअघि सोनमले प्रमाण मेटाउने प्रयास गरेको आशंका गरेको छ। सोनमका दुई मोबाइल फोन, राजाको गहना र राजले दिएको फोन अझै फेला परेका छैनन्। प्रहरी स्रोतहरूले सोनमले भाग्ने क्रममा उनका फोन र सिम कार्ड दुवै फुटाएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad