अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पूर्वराष्ट्रपति बाराक ओबामाले गरेभन्दा ठिक विपरीत सम्झौता गर्न लागिएको दाबी गरेका छन्।
यसैले आफूले इरानसँग वार्ता संलग्न आफ्ना प्रतिनिधिहरूलाई सम्झौतामा हतार नगर्न निर्देशन दिएको बताएका छन्। यस क्रममा उनले ओबामाको कार्यकालमा भएको सम्झौताको आलोचना पनि गरेका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले इरानसँग सम्झौता गरेँ भने यो राम्रो र निष्पक्ष हुनेछ। ओबामावाला सम्झौता होइन, जसले इरानलाई धेरै नगद दियो र आणविक हतियार विकास गर्ने बाटो खोल्यो।’
उनले अगाडि लेखेका छन्, ‘हामीले गर्न लागेको सम्झौता ठिक विपरीत छ, तर कसैले यसलाई देखेको छैन र यो के हो भनेर थाहा छैन। यसलाई अझै अन्तिम रूप दिइएको छैन। यसैले यसको आलोचना गर्नेहरूको कुरा नसुन्नुहोस्; उनीहरूलाई यस विषयमा केही थाहा छैन।’
उनले लेखे, ‘मभन्दा अगाडिकाहरूले यो समस्या वर्षौंअघि नै समाधान गरिसक्नुपर्थ्यो, तर उनीहरूले गरेनन्। म नराम्रो सम्झौता गर्दिनँ।’
अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिले छलफल भइरहेको सम्झौतामा ६० दिन युद्धविराम विस्तार गर्ने, हर्मुज स्ट्र्ट पुन: खोल्ने र इरानको आणविक कार्यक्रममा थप वार्ता गर्ने कुरा समावेश छन्।
अमेरिका र इरान सम्झौतानजिक पुगेको समाचार आइरहेका बेला ट्रम्पबाट उक्त टिप्पणी आएको हो।
Shares

प्रतिक्रिया