भारतीय जनता पार्टी (भाजपा) का नेता तथा पश्चिम बंगालका वर्तमान विपक्षी नेता शुभेन्दु अधिकारीका निजी सहायक (पीए) चन्द्रनाथ रथको हत्या गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगालको उत्तर २४ परगनास्थित मध्यमग्राममा बुधबार राति साढे १० बजेतिर ४२ वर्षीय चन्द्रनाथलाई गोली हानी मारिएको हो। त्यसबेला उनी कोलकाताबाट स्कार्पियोमा मध्यमग्रामस्थित आफ्नो घर फर्किरहेका थिए।
रिपोर्टअनुसार उनी चालक र अर्का व्यक्तिको छेउमा बसिरहेका थिए। कोलकाताबाट करिब २० किलोमिटर टाढा दोलतला र मध्यमग्रामको बिचमा पुग्दा पछाडिबाट एउटा कार आयो र स्कार्पियोलाई रोक्यो।
त्यसपछि आक्रमणकारी मोटरसाइकलमा आए र स्कार्पियोको बायाँ तर्फबाट ६ देखि १० राउन्ड गोली हाने। चन्द्रनाथलाई चार पटक गोली हानिएको थियो। तीमध्ये दुईटा उनको छातीमा र एउटा पेटमा लागेको थियो। चालक बुद्धदेव बेरालाई पनि गोली लागेको छ।
घटनापछि आक्रमणकारीहरू कार छाडेर मोटरसाइकलमा भागे। घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पताल लगिएको थियो, जहाँ चन्द्रनाथलाई डाक्टरहरूले मृत घोषणा गरे। चालकको अवस्था पनि गम्भीर छ।
भाजपाले घटना तृणमूल कंग्रेसले गराएको आरोप लगाएको छ।
पश्चिम बंगाल भारतको त्यही राज्य हो, जहाँ वर्तमान मुख्यमन्त्री ममता बनर्जीको १५ वर्षे शासन ढाल्दै पहिलो पटक भाजपाले बहुमत ल्याई सरकार बनाउँदै छ।
Shares

प्रतिक्रिया