ग्लोबल


इरान युद्धका बिच ह्वाइट हाउसमा चार्ल्स–ट्रम्प भेटवार्ताले ल्याएको तरंग

इरान युद्धका बिच ह्वाइट हाउसमा चार्ल्स–ट्रम्प भेटवार्ताले ल्याएको तरंग

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १०:४७, वासिङ्टन

इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा भएको भेटवार्ताले दुई देशको पुरानो साझेदारीलाई पुनः केन्द्रमा ल्याएको छ।

राज्यस्तरीय रात्रिभोजका क्रममा दुवै नेताले ‘विशेष सम्बन्ध’को खुलेर प्रशंसा गरेका छन्। यद्यपि इरानको आणविक कार्यक्रमबारे ट्रम्पले सार्वजनिक रूपमा राखेको धारणा विवादको विषय बन्यो।

भव्य स्वागत र औपचारिक कार्यक्रमबिच आयोजित रात्रिभोजमा ट्रम्पले इरानलाई संकेत गर्दै आफूहरूले ‘विशेष प्रतिद्वन्द्वीलाई सैन्य रूपमा पराजित गरेको’ दाबी गरे। 

उनले राजा चार्ल्स तृतीय पनि आफ्नो विचारसँग सहमत रहेको दाबी गर्दै इरानलाई कहिल्यै आणविक हतियार विकास गर्न नदिने अडान दोहोर्‍याए।

तर यस विषयमा राजा चार्ल्स तृतीयले प्रत्यक्ष समर्थन जनाएको कुनै संकेत देखिएन र उनले आफ्नो सम्बोधनमा इरान वा युद्ध तनावबारे सिधा उल्लेख पनि गरेनन्। 

बरु राजा चार्ल्स तृतीयले लन्डन र वासिङ्टनबिचको ऐतिहासिक सहकार्यलाई अझ मजबुत बनाउने आवश्यकता औँल्याउँदै बदलिँदो विश्व परिवेशमा साझा चुनौती सामना गर्न मिलेर अघि बढ्नुपर्ने धारणा राखे। 

उनले अन्तर्राष्ट्रिय गठबन्धनको महत्त्व, विशेषगरी नेटो जस्ता संरचनाको भूमिका स्पष्ट रूपमा उल्लेख गरे, जसप्रति ट्रम्पले विगतमा आलोचनात्मक धारणा राखिरहेका छन्।

साथै युक्रेनमा रुसको आक्रमणविरुद्ध निरन्तर समर्थन आवश्यक रहेमामा पनि उनने जोड दिए।

कार्यक्रममा एप्पलका प्रमुख टिम कुक, अमेजनका जेफ बेजोस, एनभिडियाका जेन्सेन हुआङ तथा गल्फ खेलाडी रोरी म्याक्लरोयजस्ता प्रविधि र व्यवसाय क्षेत्रका चर्चित व्यक्ति पनि थिए। 

भोजको मेनुमा बगैँचाको तरकारी भेलुटे, स्प्रिङ हर्बेड रावियोली, डोभर सोल म्युनियर र अन्त्यमा मह तथा भ्यानिला बिन क्रेमेक्स समावेश थिए।

सम्बोधनका क्रममा दुवै नेताले हल्का हाँसोठट्टा पनि गरे। 

ट्रम्पले राजा चार्ल्स तृतीयको अमेरिकी कंग्रेस (संसद्‌) मा दिएको भाषणको प्रशंसा गर्दै डेमोक्र्याट सांसदहरूलाई समेत उठ्न बाध्य बनाएको उल्लेख गरे। 

जवाफमा राजा चार्ल्स तृतीयले ऐतिहासिक सन्दर्भ जोड्दै बेलायत र फ्रान्सबिच प्रतिस्पर्धाको प्रसंग उठाएर रमाइलो टिप्पणी गरे।

यसअघि कंग्रेसलाई सम्बोधन गर्दै राजा चार्ल्स तृतीयले लोकतान्त्रिक मूल्य, कानुनी शासन र शक्ति सन्तुलनको सिद्धान्तप्रति प्रतिबद्धता दोहोर्‍याएका थिए।

उनले म्याग्ना कार्टाको सन्दर्भ उल्लेख गर्दै यसले अमेरिकी न्याय प्रणालीमा समेत प्रभाव पारेको बताए।

उनको अभिव्यक्तिप्रति विशेषगरी विपक्षी डेमोक्र्याट सांसदहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए। 

राष्ट्रपति ट्रम्पले स्वागत समारोहमा बेलायतलाई अमेरिकाको सबैभन्दा नजिकको सहयोगीको रूपमा चित्रण गरे। 

उनले अमेरिकी स्वतन्त्रतापछि पनि दुई देशबिचको सम्बन्ध निरन्तर सुदृढ रहेको उल्लेख गरे। 

यद्यपि इरानलगायत केही नीतिगत विषयमा ट्रम्पले बेलायतका प्रधानमन्त्री किअर स्टार्मरको आलोचना गरिरेहका छन्, जसले सम्बन्धमा केही असहजता देखिएको छ।

यस भ्रमणलाई सुरक्षा दृष्टिले पनि संवेदनशील मानिएको छ।

वासिङ्टनमा हालै भएको गोलीकाण्डपछि सुरक्षा कडा बनाइएको छ।

हिंसात्मक गतिविधिप्रति असहमति जनाउँदै राजा चार्ल्स तृतीयले यस्ता कार्य सफल नहुने बताए।

चारदिने भ्रमणअन्तर्गत शाही दम्पतीले बुधबार न्युयोर्कको भ्रमण गर्ने कार्यक्रम छ।

त्यहाँ उनीहरूले ९/११ स्मारक स्थलको अवलोकन गर्नेछन्। त्यसपछि उनीहरू बर्मुडातर्फ प्रस्थान गर्ने तालिका छ। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad