इरानसँग दोस्रो चरण वार्ताका लागि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स आज (मंगलबार) पाकिस्तान प्रस्थान गर्ने भएका छन्।
अमेरिकी वेबसाइट एक्सियोसका अनुसार वार्ता बुधबार हुनेछ।
उपराष्ट्रपति भान्सका साथमा अमेरिकाका विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुसनर पनि हुनेछन्।
यसअघि अप्रिल ११-१२ मा पाकिस्तानमै भएको पहिलो चरणको वार्तामा पनि अमेरकी टोलीको नेतृत्व उपराष्ट्रपति भान्सले नै गरेका थिए।
इरान र अमेरिकाबिच २ हप्ताका लागि भएको युद्धविरामको अवधि बुधबार (अप्रिल २२ मा) सकिँदै छ। यद्यपि ट्रम्पले युद्धविराम एक दिन लम्ब्याएको बताइएको छ।
तर अमेरिकासँग वार्ताका लागि इरानबाट अहिलेसम्म कुनै प्रतिनिधिमण्डल नगएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि भएको पहिलो चरणको वार्तामा इरानी टोलीको नेतृत्व इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले गरेका थिए। उनीसहित इरानका विदेशमन्त्री सैयद अब्बास अराघची इरानमै छन्।
यसैबिच अमेरिकाका उपराष्ट्रपति भान्स पाकिस्तान प्रस्थान गर्नुअघि ह्वाइट हाउसले एक्समा राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्देश सार्वजनिक गरेको छ।
जसमा भनिएको छ, ‘यदि ट्रम्प प्रशासनको समयमा कुनै सम्झौता भयो भने यसले इजरायल र मध्यपूर्वमा मात्र नभई युरोप, अमेरिका र सबैतिर शान्ति, सुरक्षा र सुरक्षित वातावरणको ग्यारेन्टी गर्नेछ।’
Shares

प्रतिक्रिया