इरानले आफ्ना नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीलाई कुनै चोट नलागेको र पूर्ण रूपमा स्वस्थ रहेको दाबी गरेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले भनेका छन्, ‘खामेनी सामान्य रूपमा आफ्ना जिम्मेवारी निर्वाह गरिरहेका छन्।’
यसअघि बेलायती मिडिया आउटलेट द सनले फेब्रुअरी २८ मा अमेरिका-इजरायलले गरेको आक्रमणमा मोज्तबा घाइते भएको, एउटा खुट्टा काट्न परेको र त्यसबेलादेखि उनी कोमामा रहेको रिपोर्ट गरेको थियो।
यसबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मोज्तबा घाइते भएको दाबी गरेका थिए।
तर ती सबै दाबीलाई इरानका विदेशमन्त्री अराघचीले खण्डन गरेका हुन्।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा गरेको संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा मोज्तबा यही मार्च ९ देखि नयाँ सर्वोच्च नेता बनेका हुन्।
त्यसयता युद्ध जारी छ भने यो द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।
इरानले इजरायल तथा अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्रमार्फत हमला गरिरहेको छ।
यसैबिच अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा गरेको छ।
Shares

प्रतिक्रिया