इजरायल-अमेरिकाले गरेको संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका छन्। उनी मारिएको कुरा इरानका सञ्चारमाध्यमले पुष्टि गरेका छन्।
अयातोल्लाह अली खामेनीको जन्म सन् १९३९ मा देशको सबैभन्दा पवित्र सहर मानिने मसहदमा भएको थियो।
आफ्ना बुबाजस्तै उनले पनि ‘मौलवी’ (धर्मगुरु) बन्ने इच्छा गरे गरे र सिया मुस्लिम समुदायका दुई प्रमुख शैक्षिक केन्द्रमध्ये एक कोममा धार्मिक शिक्षा प्राप्त गरे। अनि ११ वर्षकै उमेरमा धर्मगुरु बने।
त्यतिबेला इरानमा राजतन्त्र थियो, जहाँ पहलवी राजवंशका शाह सत्तामा थिए। खामेनी शाह मोहम्मद रेजा पहलवीको शासनकालमा हुर्केका थिए।
शाहलाई धर्मनिरपेक्ष राजा मानिन्थ्यो, जो धर्मलाई पुरानो र अप्रासंगिक अवधारणा ठान्थे। उनले धार्मिक व्यक्तिहरूलाई शंकाको नजरले हेरे।
सन् २०११ मा बीबीसी संवाददाता जेम्स रेनोल्ड्सले इरानी-अमेरिकी लेखक मेहदी खलाजीको अन्तर्वार्ता लिएका थिए, जो त्यतिबेला खामेनीको जीवनीमा काम गरिरहेका थिए।
खलाजीले खामेनीको प्रारम्भिक वर्षहरूको एउटा किस्सा सुनाए।
कुराकानीमा उनले खामेनी धर्मगुरुका रूपमा लुगा लगाएर आफ्नो उमेरका बच्चाहरूसँग सडकमा खेल्दा कसरी मानिसहरूले खिल्ली उडाउने गर्थे भनेर बताएका थिए।
उनले यो पनि भनेका थिए- आफ्नो सुरुवाती वर्षहरूमा खामेनीलाई चुरोट र पाइप पिउन मन पर्थ्यो, जुन धार्मिक व्यक्तित्वका लागि अपेक्षाकृत असामान्य बानी थियो।
उमेर बढ्दै जाँदा शाहको शासनप्रति खामेनीको आक्रोश र विरोध बढ्दै गयो। अनि उनले चाँडै शाहका मुख्य प्रतिद्वन्द्वी अयातोल्लाह रुहोल्लाह खोमेनीको समर्थनमा काम गर्न थाले।
अयातोल्लाह रुहोल्लाह खोमेनी त्यतिबेला शाहका कट्टर आलोचकमध्ये एक थिए। संयुक्त राज्य अमेरिकासँग घनिष्ठ सम्बन्धको विरोध गरेको भन्दै शाहले उनलाई देशबाट निष्कासन गरे।
खामेनी इरानमा इस्लामिक शासन स्थापना गर्न चाहन्थे। खामेनीले देश भित्र खोमेनीको सन्देश फैलाउन थाले। यस प्रयासमा उनी छपटक पक्राउ परे।
त्यसपछि सन् १९७९ आयो। अर्थात् शाहको सत्ता पतन भयो र पेरिसबाट फर्केपछि अयातोल्लाह रुहोल्लाह खोमेनीले इरानमा इस्लामिक गणतन्त्र स्थापना गरे। त्यतिबेला इरानका सडकमा दुई तस्बिर मात्र देखिन्थे: एउटा अयातोल्लाह खोमेनीको र अर्को हुसेन अली मोन्टाजेरीको।
इस्लामिक इरानमा सरकारको लगाम धर्मगुरुहरूको हातमा थियो र यी धर्मगुरुमध्ये एक थिए- अली खामेनी थिए। छोटो समयमै उनी खोमेनीका निकटतम सहयोगीमध्ये एक बने।
त्यही वर्ष तेहरानमा अमेरिकी दूतावासको कब्जामा खामेनीले प्रमुख भूमिका खेले। यस घटनापछि अमेरिकासँग सञ्चार स्थापित गर्ने जिम्मेवारी उनैलाई दिइयो।
पछि अली खामेनीलाई देशको उपरक्षामन्त्री नियुक्त गरियो। यस समयमा उनले इस्लामिक क्रान्तिकारी गार्ड कोर्प्स (आईआरजीसी) लाई व्यवस्थित गर्न प्रमुख भूमिका खेले।
पछि आईआरजीसी इरानको सबैभन्दा शक्तिशाली संस्थामध्ये एक बन्यो।
यो सेना स्थापना गर्नुको उद्देश्य धार्मिक, राजनीतिक र आर्थिक मोर्चामा देशका लागि लड्न सक्ने र इस्लामिक राष्ट्रलाई बाह्य खतराबाट मात्र नभई आन्तरिक संकटबाट पनि जोगाउनु थियो।
खामेनीको हत्या प्रयास
दुई वर्षपछि १९८१ मा खामेनीमाथि घातक आक्रमण भयो।
खामेनीले पत्रकार सम्मेलनलाई सम्बोधन गरिरहेका बेला नजिकैको टेप रेकर्डर विस्फोट भयो।
विस्फोटमा परेर खामेनीको दाहिने हात पक्षाघात भयो भने एउटा कानको सुन्ने शक्तिमा असर पर्यो।
आक्रमणको दोष मुजाहिदीन-ए-खल्क (एमईके) लाई लगाइएको थियो, जो त्यतिबेला इस्लामिक शासनविरुद्ध सक्रिय थिए।
घटनापछि तेहरानमा एक जमघटलाई सम्बोधन गर्दै खामेनीले भने, ‘आक्रमणपछि म धेरै नराम्रो अवस्थामा थिएँ। मलाई लाग्यो कि मृत्यु मेरो ढोकामै छ। अर्को केही दिनसम्म म किन बाँचेँ भनेर सोचिरहेँ। त्यसपछि मैले महसुस गरेँ- भगवान्ले मलाई कुनै कारणले बचाउनुभएको हुनुपर्छ।’
राष्ट्रपतिपछि सर्वोच्च नेता
त्यो चोटबाट निको हुँदै गर्दा खामेनी इरानको राष्ट्रपति चुनिए। उनी १९८१ देखि ७ वर्ष ३११ दिनसम्म राष्ट्रपतिका रूपमा रहे।
त्यस समयमा इराकका तत्कालीन शासक सद्दाम हुसेनले इरानमा आक्रमण गरे, जसले गर्दा दुई देशबिच आठ वर्ष लामो र विनाशकारी युद्ध भयो।
युद्धका क्रममा खामेनीले धेरै महत्त्वपूर्ण निर्णयहरू गरे र रणनीतिक मोर्चामा सक्रिय भूमिका खेले।
त्यसपछि सन् १९८९ आयो। त्यस वर्ष अयातोल्लाह रुहोल्लाह खोमेनीको निधन भयो। यसपछि अली खामेनीलाई इरानको सर्वोच्च नेता नियुक्त गरियो। संविधान संशोधन गरी उनलाई सर्वोच्च नेता बनाइएको थियो।
यसैबिच वासिङ्टनस्थित थिंक ट्याङ्क मध्यपूर्व संस्थानमा इरान कार्यक्रमका निर्देशक एलेक्स वाटाङ्काले रोयटर्ससँग भनेका छन्, ‘खामेनी जति जिद्दी थिए, त्यति नै सतर्क पनि। यही कारण उनी यति लामो समयसम्म शक्तिको केन्द्रमा रहे।’
Shares

प्रतिक्रिया