बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) लगभग दुई दशकपछि आज (फेब्रुअरी १७) सत्तामा फर्कंदै छ।
सन् २००१ को निर्वाचनमा जित हासिल गरेर खालिदा जियाले २००६ सम्म सरकार चलाएयता बंगलादेशमा बीएनपीले चुनाव जितेको थिएन।
त्यसपछि लगातार सत्तामा रहेको अवामी लिग सरकारविरुद्ध भएको विद्यार्थी विद्रोहका कारण २०२४ अगस्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिना देश नै छाडेर भागेपछि पहिलोपटक भएको चुनावबाट बीएनपी पुन: सत्तामा फर्किएको हो।
हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाएर गरिएको निर्वाचनमा बीएनपीले दुईतिहाइभन्दा बढी सिट जितेपछि यसका अध्यक्ष तारिक रहमानले आज ढाकास्थित राष्ट्रिय संसद् भवनको दक्षिण प्लाजामा प्रधानमन्त्रीका रूपमा शपथ खाँदै छन्।
त्यसअघि बंगलादेशको प्रचलनअनुसार नवनिर्वाचित सांसदहरूले पदको शपथ खानेछन्।
उनीहरूलाई प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले शपथ खुवाउनेछन्।
अहिले बीएनपी सांसदहरू शपथ खान संसद् परिसरमा पुगिरहेका छन्।
सांसदहरूको शपथपछि आजै अपराह्न ४ बजे प्रधानमन्त्री तथा नयाँ सरकारका सदस्यले शपथ खानेछन्।
प्रधानमन्त्री तथा मन्त्रीहरूलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शपथ खुवाउने बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया