ग्लोबल


बंगलादेश अपडेट: २९९ क्षेत्रमध्ये २१२ वटामा बीएनपीको जित, विपक्षी जमातलाई कति सिट?

बंगलादेश अपडेट: २९९ क्षेत्रमध्ये २१२ वटामा बीएनपीको जित, विपक्षी जमातलाई कति सिट?

परिवारका साथ तारिक रहमान।


नेपालखबर
फागुन १, २०८२ शुक्रबार १५:२६, काठमाडौँ

बंगलादेशमा बिहीबार भएको आम चुनावमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले दुईतिहाइभन्दा बढी सिट जितेको छ। 

योसँगै यसका अध्यक्ष तारिक रहमान बंगलादेशको प्रधानमन्त्री बन्ने निश्चित भएको छ। 

रोयटर्सका अनुसार बीएनपी र यसका सहयोगी २९९ सिटमध्ये कम्तीमा २१२ सिट जित्न सफल भएको निर्वाचन आयोगले जनाएको छ।

विपक्षी जमात-ए-इस्लामी र यसका सहयोगीले भने अहिलेसम्म ७७ सिट जितेका छन्।

यस्तै हसिनालाई सत्ताच्युत गर्न प्रमुख भूमिका खेल्ने विद्यार्थी/युवाको नेतृत्वमा रहेको नेसनल सिटिजन पार्टी (एनसीपी) ले प्रतिस्पर्धा गरेका ३० सिटमध्ये केवल ५ सिट जितेको छ। चुनावमा एनसीपीले जमातसँगै गठबन्धन गरेको थियो।

यसैबिच बीएनपी अध्यक्ष ६० वर्षीय रहमानले आफ्नो पार्टीले दुईतिहाइभन्दा बढी बहुमत ल्याएको विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्। 

तर बीएनपीले कार्यकर्ता/समर्थकलाई जितको खुसियालीमा ठुला उत्सव नगर्न अपिल गरेको छ।

पार्टीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ठुलो अन्तरले जिते पनि कुनै उत्सव जुलुस वा र्‍याली आयोजना गरिने छैन।’

बंगलादेशी पत्रिका डेली स्टारका अनुसार तारिक रहमानले ढाका-१७ र बोगुरा-६ दुवै क्षेत्रमा विजय हासिल गरेका छन्।

ढाका-१७ मा उनले ७२ हजार ६९९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जमात-ए-इस्लामीका डा. खालिदुज्जमानले ६८ हजार ३०० मत ल्याए। अर्थात् तारिकले ४ हजार ३९९ बढी मत पाए।

यस्तै उनी बोगुरा-६ मा २ लाख १६ हजार २८४ मत प्राप्त गरी विजयी भएका हुन्।

जहाँ निकटतम प्रतिद्वन्द्वी जमात-ए-इस्लामीकै उम्मेदवार अबिदुर रहमान सोहेलले ९७ हजार ६२६ मत पाएका छन्।

तारिक रहमान १ लाख १८ हजार ६५८ बढी मत ल्याएर यहाँ विजयी भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad