अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको एउटा ठुलो टोली इरानतर्फ अघि बढिरहेको बताएका छन्।
एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकाले इरानलाई नजिकबाट निगरानी गरिरहेको उल्लेख गर्दै अमेरिकी सैन्य बल त्यसतर्फ अगाडि बढिरहेको बताएका हुन्।
"अमेरिकी सेनाको एउटा ठुलो बल इरानतर्फ अघि बढिरहेको छ, तर अहिले केही भइरहेको देखिँदैन’, उनले भने, ‘यद्यपि हामी उनीहरूलाई निकै नजिकबाट नियालिरहेका छौँ।’
यस क्रममा ट्रम्पले इरानमा ८३७ जनाको मृत्युदण्ड रोकेको दाबी पनि गरे।
‘मैले भनेको थिएँ- यदि तिमी (इरान) ले ती मानिसहरूलाई मृत्युदण्ड दियौ भने तिमिविरुद्ध अहिलेसम्मकै कडा कारबाही हुनेछ। हामीले तिम्रो आणविक कार्यक्रममा जे गर्यौँ, त्यो यो कारबाहीको तुलनामा धेरै सानो हुनेछ’, उनले पत्रकारसँग भने, ‘र, उनीहरू (इरान) ले वास्तवमा भने- हामीले त्यसलाई रद्द नै गर्यौँ, स्थगन मात्र होइन। त्यो राम्रो संकेत थियो।’
साथै ट्रम्पले अमेरिकाको एउटा ठुलो फ्लिट इरानतर्फ अघि बढिरहेको पनि बताए।
उनले भने, ‘सायद त्यसको प्रयोग गरिरहन नपर्ला। हेरौँ के हुन्छ?’
बढ्दो महँगी र कमजोर अर्थतन्त्रविरुद्ध इरानमा भएको प्रदर्शनका क्रममा सयौँ मानिस मारिएका छन्। कैयौँ प्रदर्शनकारीलाई इरानी अधिकारीले पक्राउ पनि गरेका छन्।
यसैबिच गत हप्ता पक्राउ परेका केही युवालाई मृत्युदण्ड दिन लागिएको खबर पनि सार्वजनिक भएका थिए।
तर ट्रम्पले चेतावनी दिएपछि इरानले मृत्युदण्ड रोकेको दाबी गरिएको थियो।
Shares

प्रतिक्रिया