अमेरिकामा डोनाल्ड ट्रम्पको कार्यकालपछि विदेशमन्त्री मार्को रुबियो राष्ट्रपति बन्ने सम्भावना अचानक बढेको छ।
बेलायती पत्रिका द इन्डिपेन्डेन्टको रिपोर्टअनुसार, यो सम्भावना भेनेजुएलाविरुद्ध अमेरिकी आक्रमणपछि बढेको हो।
यही जनवरी ३ राति अमेरिकी सेनाले भेनेजुएलामा हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई अपहरण गरी अमेरिका पुर्यायो।
अहिले उनीहरूलाई न्युयोर्कस्थित हिरासतमा राखेर त्यहाँको अदालतमा हतियार र लागुऔषध तस्करी अभियोगमा मुद्दा चलाइएको छ।
भेनेजुएलामा सैन्य आक्रमण अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वीकृतिमा भएको थियो।
अमेरिकी मिडिया हाउस पोलिटिकोका अनुसार, ट्रम्पले भेनेजुएलाको जिम्मेवारी पूर्ण रूपमा विदेशमन्त्री मार्को रुबियोलाई सुम्पेका छन्।
यस अपरेसनमा रुबियोको प्रमुख भूमिकाका कारण उनी अमेरिकाको आगामी राष्ट्रपति बन्ने सम्भावना तीव्र बनेको हो।
ट्रम्प अहिलेसमेत गरेर दुईपटक राष्ट्रपति बनिसकेका छन्।
अमेरिकाको संविधानअनुसार एक व्यक्ति दुईपटक भन्दा बढी राष्ट्रपति बन्न पाउँदैन। त्यसैले अब सन् २०२८ मा हुने राष्ट्रपति चुनावमा मार्को रुबियो बलियो विकल्प मानिएको छ।
भेनेजुएलामा आक्रमणलगत्तै ट्रम्पले रुबियोलाई कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) पदमा नियुक्त गरे।
सन् १९७३ मा हेनरी किसिन्जरले विदेशमन्त्री र एनएसएको जिम्मेवारी पाएयता कसैलाई दोहोरो जिम्मेवारी दिइएको यो पहिलोपटक हो।
पोलिटिकोले लेखेको छ- विदेशमन्त्री रुबियो भेनेजुएलासँग सम्बन्धित ट्रम्प प्रशासनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्तिका रूपमा देखापरेका छन्। ट्रम्पले ‘हामी यो देश चलाउँदै छौँ’ भन्दा ठिक पछाडि उनी थिए।
त्यसपछि रुबियो आइतबारका तमाम समाचार कार्यक्रमहरूमा भेनेजुएलाका नेता निकोलस मदुरोलाई पक्राउ गर्ने अपरेसनबारे व्याख्या गर्न देखापरे। भोलिपल्ट संसद्लाई दिएको ब्रिफिङमा पनि उनले भेनेजुएलामा आक्रमणको बचाउ गरे।
अहिले सामाजिक सञ्जालमा रुबियोको फोटोसप गरिएका मिम छाएका छन्, जसमा उनलाई भेनेजुएलाका राष्ट्रपतिजस्तै पहिरनमा देखाइएको छ।
पार्टीमा चुपचाप शक्ति बढाइरहेछन् रुबियो
पोलिटिकोले गत वर्ष नोभेम्बरमा रुबियोले आफू २०२८ मा राष्ट्रपतिका लागि उम्मेदवार भएमा जेडी भान्सलाई समर्थन गर्ने बताएको उल्लेख गरेको थियो।
उनले अर्को अन्तर्वार्तामा जेडी भान्स राष्ट्रपतिमा उठे भने उनी आफ्नो हाम्रो उम्मेदवार हुने र उनलाई समर्थन गर्ने पहिलो व्यक्ति आफू हुने बताएका थिए।
तर धेरैजना राजनीतिक विश्लेषक यस कुरामा विश्वस्त छैनन्।
सन् २०१६ मा रुबियोको राष्ट्रपति अभियानका सल्लाहकार रहेका बज ज्याकब्सले भन्छन्, ‘पार्टीभित्रका सूत्रबाट मैले पाएको जानकारीअनुसार रुबियो चुपचाप रिपब्लिकन पार्टीभित्र आफ्नो शक्ति बढाइरहेका छन्।’
तत्कालीन राष्ट्रपति जर्ज डब्लु. बुसका पूर्वसल्लाहकार मार्क म्याककिननले पोलिटिकोलाई भने, ‘भेनेजुएलाको जुवा सफल भयो भने उनी (रुबियो) भविष्यमा राष्ट्रपति बन्न सक्छन्, तर असफल भयो भने निश्चित छ- उनी कहिल्यै त्यो पदमा पुग्ने छैनन्।’
भेनेजुएला प्रकरणबाट टाढा छन् उपराष्ट्रपति
सन् २०१६ को राष्ट्रपति चुनावमा रुबियो ट्रम्पविरुद्ध उत्रिएका थिए र उनलाई ‘ठग’समेत भनेका थिए। तर ट्रम्पको जित र रिपब्लिकन पार्टीमा उनी हावी भएपछि रुबियोले आफ्ना धेरै नीति र भाषा बदले।
उनी आफ्नो आसपास ‘अमेरिका फर्स्ट’ भन्ने सोच भएका कर्मचारी र सल्लाहकार राखे, जसले ट्रम्पको कट्टरपन्थी विदेश नीति अघि बढाउन मद्दत गर्छन्।
ट्रम्पले २०२४ मा उपराष्ट्रपति पदमा उम्मेदवारीका लागि रुबियोलाई सर्ट लिस्टमा राखेका थिए, तर उनलाई विदेश मन्त्री बनाए।
अब रुबियो भेनेजुएला अपरेसनको अनुहार बनेका छन्, तर आश्चर्यको कुरा- उपराष्ट्रपति जेडी भान्स यस विषयमा निकै टाढा रहे।
सफल भेनेजुएला अपरेसनपछि ट्रम्पले जनवरी ४ को राति आफ्नो निजी निवास मार-ए-लागो, फ्लोरिडाबाट जनतालाई सम्बोधन गरे। उपराष्ट्रपति अनुपस्थित हुँदा विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पिट हेगसेथ ट्रम्पसँगै देखिए।
विज्ञहरू के पनि भन्छन् भने यो आफूलाई सुरक्षित राख्ने भान्सको एउटा तरिका पनि हो।
वास्तवमा ट्रम्पका कट्टर समर्थकहरूको ठुलो संख्या आफ्नो देश विदेशी हस्तक्षेपबाट मुक्त होस् भन्ने चाहन्छ। भविष्यमा भेनेजुएलाको जुवा असफल भयो भने भान्स यसको जवाफदेहिताबाट बच्न सक्छन्। उनी खुलेआम भन्न सक्छन्, ‘म त्यसमा संलग्न थिइनँ।’
Shares

प्रतिक्रिया