पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुसरा बिबीलाई तोसाखाना-२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेका छन्।
उनले उक्त फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने संकेत पनि दिएका छन्।
हाल हिरासतमा रहेका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा नरहेका खानले आफ्नो कानुनी टोलीमार्फत सन्देश पठाउँदै खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई सामूहिक सडक आन्दोलनको तयारी सुरु गर्न निर्देशन दिएका हुन्।
‘सम्पूर्ण राष्ट्रले आफ्ना अधिकारका लागि उठ्नुपर्छ’, उनको सन्देशमा भनिएको छ।
इमरान खानले अदालतको फैसलाले आफू आश्चर्यमा नपरेको बताउँदै यसलाई तीन वर्षयता आइरहेका ‘आधारहीन निर्णयको निरन्तरता’ भएको टिप्पणी गरेका छन्।
न्यायाधीशले प्रमाणबिना र कानुनी प्रक्रिया पूरा नगरी हतारमा फैसला सुनाएको जिकिर गर्दै उनले आफ्नो कानुनी टोलीको कुरै नसुनेको आरोप लगाएका छन्।
यसै सन्दर्भमा उनले इन्साफ वकिल फोरम तथा समग्र कानुनी समुदायले संवैधानिक सर्वोच्चता र विधिको शासन रक्षामा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। न्यायबिना आर्थिक प्रगति सम्भव नहुने उनले उल्लेख गरेका छन्।
पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) ले विज्ञप्ति जारी गर्दै फैसलालाई ‘स्पष्ट रूपमा असंवैधानिक, अवैध, दुर्भावनापूर्ण र राजनीतिक प्रतिशोधको चरम रूप’ भनेको छ।
पार्टीका नेताहरूले यो फैसला खानको जेल अवधि लम्ब्याउने र राजनीतिक दबाब कमजोर पार्ने उद्देश्यले गरिएको आरोप लगाएका छन्। उनीहरूले अधीनस्थ न्यायपालिकामार्फत राजनीतिक उत्पीडन भइरहेको दाबी पनि गरेका छन्।
पीटीआईका महासचिव सलमान अकरम राजाले वरिष्ठ नेता असद कैसरसँग संयुक्त पत्रकार सम्मेलन गर्दै इमरान खानले अदालत कक्षमै आफ्ना प्रमुख वकिल ब्यारिस्टर सलमान सफदरमार्फत राष्ट्रका लागि सन्देश दिएको जानकारी गराएका छन्।
उनले इमरानको भनाइ उद्धृत गर्दै भने, ‘म दृढ छु र कसैसँग माफी माग्ने छैन।’
यो मुद्दा प्रतिज्ञापत्रमा मात्र आधारित र ठोस प्रमाण तथा साक्षीबिनाको भएको दाबी राजाले गरे।
तोसाखाना-२ मुद्दामा सजाय सुनाइएपछि देशभर सार्वजनिक बहस चर्किएको छ र न्यायिक प्रक्रियाको विश्वसनीयतामा प्रश्न उठेका छन्।
एएनआईसँग कुरा गर्दै लाहोर र पेसावरका बासिन्दा तथा पत्रकारहरूले यस फैसलामा राजनीतिक प्रेरणा र प्रमाणको कमी रहेको टिप्पणी गरेका छन्।
लाहोर निवासी हमिद रियाज डोगरले न्यायपालिकाप्रति जनविश्वास घट्दै गएको बताउँदै हालैका अन्य फैसला पनि विवादित भएको बताए।
यो मुद्दा साउदी क्राउन प्रिन्सबाट प्राप्त करिब सात करोड १० लाख पाकिस्तानी रुपैयाँभन्दा बढी मूल्यको बुल्गारी गहना सेटको अवमूल्यनसँग सम्बन्धित छ।
इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई आपराधिक विश्वासघात र भ्रष्टाचारसम्बन्धी धाराअन्तर्गत दोषी ठहर गरिएको हो।
लाहोरका अर्का बासिन्दा जाकी उल्ला मुजाहिदले यस फैसलाले लोकतान्त्रिक संस्था र न्याय प्रणालीप्रतिको जनविश्वास थप कमजोर बनाएको टिप्पणी गर्दै संविधान र कानुनी सीमाभित्र रहेर मात्रै राज्य सञ्चालन हुनुपर्ने जिकिर गरे।
Shares

प्रतिक्रिया