ग्लोबल


अस्ट्रेलियाका प्रधानमन्त्रीले गरे गोप्य विवाह

अस्ट्रेलियाका प्रधानमन्त्रीले गरे गोप्य विवाह

नेपालखबर
मंसिर १३, २०८२ शनिबार १८:५३, मेलबर्न

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज शनिबार राष्ट्रिय राजधानी क्यानबेरास्थित आफ्नै आधिकारिक निवास ‘द लज’मा अत्यन्त गोप्य र आत्मीय वातावरणमा आफ्नी प्रिय पार्टनर जोडी हेडनसँग वैवाहिक जीवनमा प्रवेश गरेका छन्। 

अल्बानिज अस्ट्रेलियाको संघीय सरकार गठन भएको १२४ वर्षको इतिहासमा प्रधानमन्त्री पदमै हुँदा विवाह गर्ने पहिलो नेता बनेका हुन्।

शनिबार दिउँसो द लजको हरियाली मैदानमा सम्पन्न उक्त समारोहमा केही क्याबिनेट मन्त्रीहरूसहित करिब ६० जना विशिष्ट पाहुना उपस्थित थिए। 

नागरिक सेलिब्रेन्टद्वारा सम्पन्न विवाह समारोह प्रायः गोप्य राखिएको थियो र सम्पन्न नहुँदासम्म कुनै पनि मिडिया संस्थालाई जानकारी दिइएको थिएन।

दम्पतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रो परिवार तथा निकटतम प्रियजनहरूकासामु हाम्रो प्रेम, प्रतिबद्धता र भविष्यको संयुक्त जीवनलाई साझा गर्न पाउँदा अनन्त खुसी छौँ।’

दुवैले आफ्ना प्रतिज्ञास्वरूपका शब्दहरू स्वयं लेखेका थिए। साथै उनीहरूको कुकुर ‘टोटो’ औँठी वाहकको भूमिकामा आकर्षक रूपमा प्रस्तुत भएको र जोडी हेडनकी ५ वर्षीय भतिजी एला फूलको माला लगाएर सहभागी भएकी उल्लेख गरिएको छ।

६२ वर्षीय अल्बानिज पहिले वैवाहिक सम्बन्धविच्छेद गरिसकेका व्यक्ति हुन् र उनको एक वयस्क छोरा छन्।

गत वर्ष भ्यालेन्टाइन डेका दिन उनले द लजमै ४६ वर्षीय हेडनलाई विवाहको प्रस्ताव राखेका थिए।

यस वर्ष मे महिनामा सम्पन्न संघीय चुनावअगाडि ठूलो मात्रामा विवाह समारोह आयोजना गर्ने प्रारम्भिक योजना भए पनि प्रधानमन्त्रीले एक रेडियो कार्यक्रममा भनेअनुसार उनले क्यानाडाका पूर्वप्रधानमन्त्री तथा व्यक्तिगत मित्र जस्टिन ट्रुडोलाई समेत आमन्त्रण गर्ने विचार गरेका थिए। 

तर सत्तारूढ केन्द्र-वामपन्थी लेबर पार्टीका रणनीतिकारहरूले जीवनयापन खर्च संकटले जनजीवन प्रभावित भइरहेको समयमा भव्य समारोहले सरकारको दोस्रो कार्यकालमा जनसमर्थनमा नकारात्मक प्रभाव पर्न सक्ने मूल्यांकन गरेका थिए।

त्यसैले चुनाव सम्पन्न नभएसम्म विवाह स्थगन गर्ने निर्णय गरिएको थियो। प्रधानमन्त्री अल्बानिजले सन् २०२५ भित्र विवाह हुने बताइसकेका भए पनि मिति भने गोप्य नै राखेका थिए।

अन्ततः संसद्को कार्यकाल समाप्त भएको दुई दिनपछि शनिबार दम्पतीले शान्त, सानो तर भावनात्मक समारोहमार्फत वैवाहिक जीवन प्रारम्भ गरेका हुन्। 

फाइनान्स क्षेत्रमा कार्यरत हेडनले सन् २०२० मा मेलबर्नमा आयोजित एक व्यापारिक रात्रिभोजमा पहिलोपटक अल्बानिजलाई भेटेका थिए। (रासस/एपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad