अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान मम्दानीबीच ह्वाइट हाउसमा पहिलोपटक भेटवार्ता भएको छ।
शुक्रबार भएको भेटपछि दुवै जनाले सञ्चारमाध्यमसँग कुरा गरेका छन्।
यस क्रममा पत्रकारले मम्दानीलाई सोधे, ‘तपाईं अझै ट्रम्पलाई फासिस्ट (तानासाह) मान्नुहुन्छ?’
यसमा हतारहतार ट्रम्पले नै जवाफ दिए, ‘केही छैन, भन्न दिनुहोस्। मलाई कुनै फरक पर्दैन।’
पत्रकारले सोधे, ‘मम्दानी कार्बन उत्सर्जनबारे प्रश्न उठाइरहन्छन्, फेरि उनी वासिङ्टन हवाईजहाजमा आए?’
ट्रम्पले जवाफ दिए, ‘मम्दानी धेरै कडा परिश्रम गर्छन् र उनलाई यहाँ आउनु जरुरी थियो, यसमा कुनै गल्ती छैन।’
यो क्षण विशेष थियो किनभने न्युयोर्कको मेयर चुनावका क्रममा मम्दानी र ट्रम्पले एकअर्काविरुद्ध कडा टिप्पणी गरेका थिए।
यतिसम्म कि ट्रम्पले मम्दानीलाई ‘कम्युनिस्ट पागल’ र ‘जिहादी’ भनेका थिए भने मम्दानीले ट्रम्पलाई ‘तानासाह’ र ‘फासीवादी’ भनेका थिए।
शुक्रबारको भेटवार्तापछि भने ट्रम्प मम्दानीलाई जिहादी नमान्ने भएका छन्।
एक पत्रकारले ट्रम्पलाई सोधे, रिपब्लिकन नेता एलिस स्टेफानिकले मम्दानीलाई ‘जिहादी’ भन्छिन्, तपाईं त्यसमा विश्वास गर्नुहुन्छ?
ट्रम्पले बिना हिचकिचाहट जवाफ दिए, ‘होइन, म त्यस्तो मान्दिनँ।’
बरु ट्रम्पले भेटघाटका क्रममा मम्दानी शान्त, समझदार र तार्किक व्यक्ति लागेको बताए।
उनले थपे, ‘मैले धेरै बुद्धिमानीपूर्वक बोल्ने व्यक्तिलाई भेटेँ।’
ट्रम्पले मम्दाले राम्रो काम गरे भने आफू खुसी हुने बताए।
उनले भने, ‘हामी न्युयोर्कलाई फेरि महान् बनाउन चाहन्छौँ। मम्दानीले जति राम्रो गर्छन्, म त्यति नै खुसी हुनेछु।’
ट्रम्पले यहाँसम्म बताए कि मम्दानीले कैयौँ कन्जरभेटिभ मानिसलाई चकित पार्नेछन् र उनका केही विचार आफूसँग मिल्ने खालका छन्।
मम्दानीले भेटलाई उपलब्धिमूलक बताए।
उनले भने, ‘हामीले भाडा, खाना, बिजुलीको बिल र जीवनयापनको बढ्दो लागतबारे छलफल गर्यौँ। हामी दुवै न्युयोर्कका ८५ लाख मानिसका लागि जीवन सहज बनाउन चाहन्छौँ।’
भिडिओ :
.@POTUS: "There will be topics that we disagree on. I think we'll probably come to a conclusion... Ultimately, it's for the good of New York... If this city could be unbelievable — if he could be a spectacular success, I'd be very happy." pic.twitter.com/bDO4FJGHLA
— Rapid Response 47 (@RapidResponse47) November 21, 2025
Shares

प्रतिक्रिया