भारतस्थित बिहार प्रदेशका मुख्यमन्त्री नितिश कुमारले बुधबार राजीनामा दिँदै नयाँ सरकार गठनका लागि राज्यपालसमक्ष दाबी पेस गरेका छन्।
अब उनले बिहीबार दसौँपटक बिहारको मुख्यमन्त्री पदको शपथ खाने छन्। उनी सन् २००५ देखि लगातार बिहारको मुख्यमन्त्री पदमा छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको शपथ समारोह बिहीबार बिहान ११:३० बजे गान्धी मैदानमा हुनेछ।
शपथ कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र ११ राज्यका मुख्यमन्त्रीहरू पनि उपस्थित हुनेछन्। १५० अतिथिलाई निम्ता गरिएको छ।
यसअघि बिहार विधानसभाको केन्द्रीय हलमा नितिश कुमारलाई एनडीए विधायक दलको नेतामा चयन गरिएको थियो।
हालै सम्पन्न चुनावमा एनडीएले बिहारका २४३ विधानसभा सिटमध्ये २०२ स्थानमा जित हासिल गरेको छ।
जसमध्ये एनडीएका घटकहरू भाजपाले ८९ सिट जित्यो भने नितिश कुमारको जनता दल (युनाइटेड) ले ८५ सिट जितेको छ।
यस्तै चिराग पासवानको लोक जनशक्ति (आर) १९ सिट जितेर एनडीएमा तेस्रो र बिहारमा चौथो ठूलो दल बनेको छ। हिन्दुस्तानी अवम मोर्चाले ५ र राष्ट्रिय लोक मोर्चाले ४ सिट जितेका छन्।
विपक्षी महागठबन्धले भने केवल ३५ सिट जित्यो।
Shares

प्रतिक्रिया