बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूविरुद्ध मृत्युदण्डको फैसला गर्ने ढाका अदालतको कडा निन्दा गरेकी छिन्। उनले अदालतको निर्णयलाई ‘पक्षपाती र राजनीतिक रूपमा प्रेरित’ भनेकी छन्।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले आज मंसिर १ गते (नोभेम्बर १७) पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमलविरुद्ध फाँसीको सजाय सुनाएको हो।
त्यसलगत्तै हसिनाले पाँच पृष्ठको विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘मृत्युदण्ड भनेको राजनीतिक शक्तिका रूपमा अवामी लिगलाई अवैध बनाउने अन्तरिम सरकारको तरिका हो।’
अवामी लिग शेख हसिनाको पार्टी हो।
यसअघि हसिनाले मुद्दालाई ‘प्रहसन’ भन्दै आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेकी थिइन्।
उनले अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा हाल्न चुनौती दिएकी थिइन्।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो।
बंगलादेशमा सन् २०२४ अगस्ट ५ का दिन विद्यार्थी नेतृत्वको विद्रोह उग्र बनेपछि हसिना १५ वर्षे लामो शासन सत्ता त्याग्दै हेलिकप्टर चढेर देशबाटै भागेकी थिइन्। त्यसयता उनी भारको शरणमा छिन्।
त्यसबेला विद्यार्थी आन्दोलनमा हसिना नेतृत्वको तत्कालीन सरकारले बल प्रयोग गर्दा झन्डै १ हजार ४ सय जना मारिएका थिए।
Shares

प्रतिक्रिया