अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान मम्दानीले खराब सुरुवात गरेको टिप्पणी गरेका छन्।
चुनावमा आफ्नो विजयपछि मम्दानीले आफ्नाविरुद्ध ‘धेरै क्रोधपूर्ण’ भाषण दिएको आरोप लगाउँदै ट्रम्पले आफूसँग राम्रो व्यवहार गर्न चेतावनीसमेत दिएका छन्।
‘उनको भाषण धेरै क्रोधपूर्ण थियो, विशेषगरी मेराविरुद्ध’, फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘उनले मसँग राम्रो व्यवहार गर्नुपर्छ, किनकि म धेरै कुरा अनुमोदन गर्ने जिम्मेवारीमा छु। उनी खराब सुरुवात गर्दै छन्।’
ट्रम्पले मम्दानी सुरुदेखि नै गलत दिशामा गइरहेको टिप्पणी गर्दै वासिङ्टनप्रति सम्मान देखाएनन् भने उनी सफल हुने कुनै सम्भावना नरहेको चेतावनी दिएका छन्।
न्युयोर्कको मेयर पदमा चुनाव जितेपछि मम्दानीले बुधबार ट्रम्पलाई लक्ष्य गर्दै भनेका थिए, ‘उनलाई सफल बनाउन सक्नेहरूले नै हराउन पनि सक्छन्।’
अनि उनले अगाडि भनेका थिए, ‘डोनाल्ड ट्रम्प! मलाई थाहा छ- तपाईं हेरिरहनुभएको छ। तपाईंलाई म चार शब्द भन्छु- आवाज अलि चर्को पार्नूस्!’
मम्दानी चुनावी अभियानमा रहँदा ट्रम्पले न्युयोर्कवासीलाई उनका पक्षमा मतदान नगर्न अपिल गरेका थिए।
साथै उनले भनेका थिए, ‘यदि जोहरान मम्दानी मेयर बने भने न्युयोर्कलाई कोष दिन गाह्रो हुनेछ।’
Shares

प्रतिक्रिया