कारोबार


पहिलो त्रैमासिकमा घट्यो नबिल बैंकको नाफा

पहिलो त्रैमासिकमा घट्यो नबिल बैंकको नाफा

फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार ११:५४, काठमाडौँ

ऋण असुलीको दबाबमा पर्दा नबिल बैंकको पहिलो त्रैमासिक नाफा घटेको छ। 

बैंकले साउन, भदौ र असोज महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै घटेको नाफा देखाएको हो।

विवरणअनुसार पहिलो त्रैमासिकमा बैंकले कुल १ अर्ब ७५ करोडबराबरको नाफा कमाएको छ। गत आवको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड नाफा कमाएको थियो। चालू आवमा करिब २० करोडले कम नाफा हो।

आर्थिक मन्दीका बीच बैंकहरुमा निक्षेप बढ्दो र कर्जा प्रवाह खस्किँदो अवस्थामा छ। जसको असर बैंकहरुको ब्याज आम्दानीमा पर्दा नाफामा कमी आएको हो। 

यस्तै बैंकहरुले पहिलो तीन महिनाको अन्त्यसम्म पनि ऋण असुलीलाई सुधार गर्न नसक्दा त्यसको असर नाफामा देखिएको छ। नबिल बैंकले पहिलो त्रैमासिकसम्ममा ५ खर्ब ५६ अर्ब निक्षेप स्वीकार गर्दा त्यसबापत निक्षेपकर्तालाई ५ अर्ब ८९ करोड रुपैयाँ ब्याज भुक्तान गरेको छ। 

सोही अवधिसम्म बैंकहरुले ४ खर्ब २१ अर्ब बराबरको कर्जा प्रवाह गर्दा त्यसबाट ९ अर्ब ८० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। यसरी बैंकले पहिलो त्रैमासिकमा खुद ब्याज आम्दानी कुल ३ अर्ब ९० करोड रुपैयाँ गरेको छ। 

गत वर्ष सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब १४ करोड थियो। 

निक्षेपसँगै कर्जाको ब्याजदर घटेपछि बैंकहरुको ब्याज खर्च र आम्दानी दुवै घट्न पुगेको हो। ऋण असुलीमा दबाब खेपिरहेको नबिल बैंकको पहिलो त्रैमासिकमा खराब कर्जा दर पनि बढेको देखिएको छ। 

गत वर्षको पहिलो त्रैमासिकमा ४.२४ प्रतिशतमा रहेको खराब कर्जा दर चालू आवको पहिलो त्रैमासिकमा ४.३१ प्रतिशतमा उक्लिएको हो। खराब कर्जा बढ्न थालेपछि बैंकले कर्जा नोक्सानी व्यवस्थापनमा रहने कोषमा ६४ करोड रुपैयाँ राखेको छ। 

गत वर्षसम्म बैंकले यस्तो कोषमा ४५ करोड रुपैयाँ मात्रै राखेको थियो। यस्तै बैंकले यो अवधिमा खुद सञ्चालन आम्दानी ४ अर्ब ६२ करोड गर्दा २ अर्ब ४८ करोड रुपैयाँ खुद सञ्चालन नाफा गरेको छ। 

पहिलो त्रैमासिक आम्दानीबाट बैंकले सेयरधनीहरुलाई भने प्रतिकित्ता ३० रुपैयाँ १५ पैसा वितरण गर्न सक्ने उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad