ग्लोबल


शेख हसिनाको चेतावनी: अवामी लिगबिनाको निर्वाचनले बंगलादेशमा विभाजनको बीज रोप्नेछ

सम्भावित मृत्युदण्डबारे हसिनाले भनिन् : त्यस्तो फैसला आए आश्चर्यचकित हुने छैन
शेख हसिनाको चेतावनी: अवामी लिगबिनाको निर्वाचनले बंगलादेशमा विभाजनको बीज रोप्नेछ

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १३:४०, काठमाडौँ

बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिएकी छन्।

उनले एएफपीलाई पठाएको लिखित प्रतिक्रियामा आफ्नो पतनपछि पहिलोपटक सार्वजनिक रूपमा बोल्दै मानवताविरुद्धको अपराधको मुद्दालाई ‘न्यायशास्त्रको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ भन्दै कडा आलोचना गरिन्। 

सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि उनको १५ वर्षे लामो शासन अन्त्य भएको थियो।

भिडले सरकारी निवासमा आक्रमण गरेपछि उनी हेलिकप्टरमार्फत देशबाट भागेकी थिइन्। 

संयुक्त राष्ट्रसंघका अनुसार आन्दोलन दबाउने क्रममा १ हजार ४०० जना मारिएका थिए। 

यो अहिले उनीविरुद्ध चलिरहेको मुद्दाको केन्द्र विषय बनेको छ।

७८ वर्षीया हसिनाले अहिले भारतमा शरण लिइरहेकी छन्।

उनले आफूविरुद्धको आरोपलाई राजनीतिक प्रतिशोधको परिणाम बताउँदै दाबी गरेकी छन्, ‘ममाथि लगाइएका सबै आरोपहरू पूर्ण रूपमा अस्वीकार्य र प्रमाणरहित छन्। यो अनिर्वाचित प्रशासनले तयार पारेको राजनीतिक षड्यन्त्र हो।’

उनले अगाडि भनेकी छन्, ‘अवामी लिगको सहभागिताबिना हुने निर्वाचन विश्वसनीय हुन सक्दैन। यस्ता कदमले देशमा भविष्यको विभाजन र अस्थिरताको बीज रोप्नेछ।’

नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले आतंकवाद विरोधी ऐनअन्तर्गत मे महिनामा अवामी लिगलाई प्रतिबन्ध लगाएको थियो। यसलाई ह्युमन राइट्स वाचले ‘कठोर र अलोकतान्त्रिक’ भन्दै निन्दा गरेको थियो।

स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सबै दलहरूको प्रत्यक्ष सहभागिता आवश्यक रहेको उल्लेख गर्दै हसिनाले भनेकी छन्, ‘निर्वाचन भनेको विचारहरूको प्रतिस्पर्धा हो। तपाईंले कुनै पार्टीलाई मन नपरेर बहिष्कार गर्न सक्नुहुन्न।’

उनले विद्रोहका दिन सम्झिँदै अगाडि भनेकी छन्, ‘ती डरलाग्दा क्षणहरूमा ज्यान गुमाएका सबैका लागि म गहिरो शोक व्यक्त गर्छु।’

उनले आफ्नो शासनकालमा केही गल्ती भएको स्वीकार पनि गरेकी छन्। 

उनले भनेकी छन्, ‘केही त्रुटिहरू आदेशको शृंखलामा भएका थिए, तर निर्णयहरू सद्‌भावका साथ हिंसा घटाउने उद्देश्यले गरिएका थिए।’

अभियोजन पक्षले अदालतमा प्रहरीद्वारा प्रमाणित अडिओ टेप प्रस्तुत गरेको छ, जसमा हसिनाले सुरक्षाकर्मीहरूलाई प्रदर्शनकारीहरू विरुद्ध ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको उल्लेख छ।

तर उनले ती रेकर्डिङलाई ‘सन्दर्भबाट बाहिर निकालिएको’ दाबी गरेकी छन्। 

उनले हालै आफ्ना समर्थकविरुद्ध भइरहेको दमनलाई पनि औँल्याउँदै भनेकी छन्, ‘अपरेसन डेभिल हन्ट नामक कारबाहीमा हजारौँ अवामी लिग कार्यकर्ता पक्राउ परेका छन्, यो पूर्ण रूपमा राजनीतिक सफाया हो।’

तर उनले आफ्नै शासनकालमा बेपत्ता भएका नागरिकका विषयमा केही बोलेकी छैनन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा अवामी लिगका वकिलहरूले हालै ‘प्रतिशोधात्मक हिंसा’का घटना अनुसन्धानको माग गरेका छन्।

नोभेम्बर १३ मा फैसला हुने यो मुद्दामा दोषी ठहरिए मृत्युदण्ड हुन सक्ने बताइएको छ।

त्यस विषयमा हसिनाले आफ्नो वक्तव्यमा भनेकी छन्, ‘दुःखको कुरा, फैसला पहिले नै तय भइसकेको छ, त्यसैले जब त्यो आउँछ, म आश्चर्यचकित हुने छैन।’

भविष्यमा राजनीतिमा फर्कनेबारे प्रश्न गर्दा उनले भनेकी छन्, ‘मेरो प्राथमिकता बंगलादेशको स्थिरता र जनताको कल्याण हो, व्यक्तिगत सत्ता होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad