ग्लोबल


लद्दाखमा हिंसात्मक प्रदर्शन हुँदा ४ जनाको मृत्यु, नेपालको जेनजी आन्दोलनको नक्कल गरेको आरोप

भाजपाको कार्यालयमा आगो लगाइयो
लद्दाखमा हिंसात्मक प्रदर्शन हुँदा ४ जनाको मृत्यु, नेपालको जेनजी आन्दोलनको नक्कल गरेको आरोप

बुधबार लद्दाखको लेहमा प्रदर्शनकारीले गरेको आगजनी।


नेपालखबर
असोज ९, २०८२ बिहिबार ८:७, काठमाडौँ

भारत सरकार शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन माग गर्दै त्यहाँस्थित लेह सहरमा बुधबार हिंसात्मक प्रदर्शन हुँदा ४ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी घाइते भएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीले लेहमा रहेको भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी पनि गरेका छन्।

प्रदर्शनकारी युवाहरूले ढुंगा प्रहार गरेपछि प्रहरीसँग झडप भएको थियो। 

लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्न माग गरिरहेका वातावरणीय कार्यकर्ता सोनम वाङचुकको नेतृत्वमा आन्दोलन भएको हो।

यसैबीच भारतको गृह मन्त्रालयले विज्ञप्ति जारी गरी वाङचुकले नेपालमा हालै भएको जेन-जेड आन्दोलनको उदाहरण दिएर भिडलाई उक्साएको आरोप लगाएको छ। 

भारतीय गृह मन्त्रालयले केन्द्र सरकार निरन्तर वार्ता प्रक्रियामा संलग्न रहेको पनि बताएको छ।

बुधबार भएको हिंसात्मक प्रदर्शनमा भिडले भाजपा कार्यालय र सीईसी कार्यालय तथा प्रहरीका सवारीसाधनमा आगो लगाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यस क्रममा ३० भन्दा बढी सुरक्षाकर्मीहरू घाइते भएका छन्। ​​स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनुपरेको दाबी गरिएको छ। गोली लागेर ४ जनाको मृत्यु भएको हो। 

यसैबीच लद्दाखका उपराज्यपाल कविन्दर गुप्ताले लेह जिल्लामा कर्फ्यु लगाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad