ग्लोबल


पोल्यान्डको राष्ट्रपतिमा नवोरोस्की निर्वाचित

पोल्यान्डको राष्ट्रपतिमा नवोरोस्की निर्वाचित

पोल्यान्डमा भएको राष्ट्रपति निर्वाचनमा कारोल नवोरोस्की निर्वाचित भएका छन्


शेरबहादुर परियार
जेठ १९, २०८२ सोमबार १२:२६, वारसा, पोल्यान्ड

युरोपेली मुलुक पोल्यान्डको राष्ट्रपतिमा कारोल नवोरोस्की निर्वाचित भएका छन्।

आइतबार भएको राष्ट्रपति निर्वाचनमा मुख्य विपक्षी दल समर्थित स्वतन्त्र उम्मेदवार नवोरोस्कीले राफल ट्राजास्कोस्कीलाई झिनो मतान्तरले पराजित गरेका हुन्।

पराजित भएका ट्राजास्कोस्की युरोपेली संघ समर्थक रहेका सत्तारूढ सिभिक गठबन्धनको उम्मेदवार तथा राजधानी वारसाका मेयर समेत हुन्। उनी सन् २०२० मा भएको राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति आन्द्रेज डुडासँग पनि साँघुरो मतले पराजित भएका थिए।

राष्ट्रिय निर्वाचन आयोगले नवोरोस्कीले ५०.९  प्रतिशत मत ल्याएर निर्वाचित भएको जनाएको छ। त्यसैगरी, ट्राजास्कोस्कीले ४९.१ प्रतिशत मत प्राप्त गरेका छन्।

सन् १९८९ मा कम्युनिष्ट शासन अन्त्य भएयता गणतान्त्रिक मुलुक पोल्यान्डमा यति कम मतअन्तरमा राष्ट्रपति निर्वाचित भएको यो पहिलो पटक हो। 

आगामी ६ अगस्टबाट हालका राष्ट्रपति आंन्द्रेज डुडाको उत्तराधिकारीको रूपमा नवोरोस्कीले आफ्नो कार्यकाल सम्हाल्ने छन्।

मे १८ मा भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उच्चम मत प्राप्त गर्ने दुई उम्मेदवारबीच १ जुनमा दोस्रो चरणको निर्वाचन भएको हो।

राष्ट्रपतिमा निर्वाचित नवोरोस्की सैन्य गठबन्धन नेटोमा युक्रेनको प्रवेशले रूससँग युद्धमा तान्न सक्छ भन्ने मुद्दासहित निर्वाचनमा थिए।

संविधानअनुसार पोल्यान्डमा शक्ति प्रधानमन्त्री र संसद्‌मा निहित हुन्छ। तर, राष्ट्रपतिले भिटो प्रयोगसहित सैन्य र विदेश नीतिमा ठूलो प्रभाव पार्न सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad