ad ad

ग्लोबल


विमल गुरुङले तोडे भाजपासँगको १२ वर्ष पुरानो सम्बन्ध

विमल गुरुङले तोडे भाजपासँगको १२ वर्ष पुरानो सम्बन्ध

शैलेन्द्र समदर्शी
कात्तिक ५, २०७७ बुधबार १५:५२,

२०१७ को गोर्खाल्यान्ड आन्दोलनपछि दार्जिलिङबाट भूमिगत भएका विमल गुरुङले भारतीय जनता पार्टी (भाजपा)सँग १२ वर्ष पुरानो गठबन्धन तोड़ेका छन्।

गोर्खाल्यान्ड आन्दोलनकारी नेता गुरुङले भाजपासँग गठबन्धन मात्र तोड़ेका छैनन् तर धुर विरोधीको रूपमा रहेको बङ्गालको शासक दल तृणमूल कंग्रेससँग गठबन्धन गर्ने घोषणा गरेका छन्।

दार्जिलिङको राजनीति ठूलो महत्त्व राख्ने यो ट्विस्ट आज भएको हो।

पछिल्लो तीन वर्षभन्दा अधिक समयसम्म भूमिगत अवस्थामा रहेका विमल गुरुङ आज अचानक कोलकातामा देखिए।

राज्य सरकारसँग वार्ता गर्नका लागि उनी झारखण्ड नम्बरको गाड़ी चढ़ेर कोलकाता आएका थिए।

स्थानीय एक होटलमा बेलुकीको ६ः३० बजे पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, ‘भाजपाले हामीलाई दिएको एउटै वाचा पूरा गरेनन्। यसैले हामी भाजपासँगको गठबन्धनबाट बाहिरिँदैछौँ।’

गुरुङका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भाजपाका अन्य शीर्ष नेताहरूले वाचालाई पूरा गर्ने आश्वासन मात्र दिइरहे, तर पूरा गर्ने पहलसम्म गरेनन्।

अर्कोतिर उनले बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको प्रशंसा गर्दै आउँदो वर्ष (२०२१) –मा हुने बङ्गाल विधानसभाको चुनाउमा तृणमूल कंग्रेसलाई सघाउने बताए।

‘केन्द्रका ज-जसले पनि हामीलाई वाचा गरे, उनीहरूले कुनै वाचा पनि पूरा गरेनन्’, विमल गुरुङले थपे, ‘तर बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले जुन पार्टीलाई जे जे वाचा गरिन्, ती सबै पूरा गरिन्।’

उनले भाजपासँगको गठबन्धन तोड़्दा आफूले गर्व महसुस गरिरहेको पनि बताए।

साथै आउँदो विधानसभा चुनाउमा दार्जिलिङ पहाड़, तराई अनि डुवर्समा सक्दो खटेर तृणमूल कंग्रेसलाई विजयी बनाएर पुनः ममता ब्यानर्जीलाई मुख्यमन्त्री बनाउने पनि बताए।

‘आउँदो विधानसभा चुनाउमा हामी तृणमूल कङ्ग्रेससँग मिलेर भाजपालाई उचित जवाफ दिनेछौँ’, विमल गुरुङले पत्रकारहरूलाई भने।

गुरुङका अनुसार भाजपाले न गोर्खा समुदायका ११ जातगोष्ठीलाई जनजाति बनाउने वाचा पूरा गऱ्यो न त दार्जिलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधानका लागि कुनै सुरसार गऱ्यो।
भाजपाले केवल आश्वासन दिएर गोर्खाहरूको भावनाको दोहन गर्ने कार्य गऱ्यो।

आज गुरुङसँग पार्टीका महासचिव रोशन गिरीलगायत शीर्ष नेताहरू कोलकाता आएका थिए।
उल्लेखनीय छ, भाजपासँग विमल गुरुङको पार्टी गोर्खा जनमुक्ति मोर्चाको गठबन्धन २००९ देखि हो।
विमल गुरुङकै समर्थनले भाजपाले प्रचण्ड मतले तीनपटक दार्जिलिङ संसदीय आसनमा जीत प्राप्त गरेको छ।

यसपटक भाजपाले आफ्नो सङ्कल्प-पत्रमा दार्जिलिङ पहाड़, तराई अनि डुवर्सको दीर्घकालीन मागको स्थायी राजनीतिक समाधान र गोर्खा समुदायका ११ जातगोष्ठीलाई जनजातिको मान्यता दिने वाचा गरेको थियो। यद्यपि यी दुई वाचा पूरा गर्नका लागि आजका दिनसम्म भाजपाले कुनै सुरसार गरेको छैन।

यसैले पनि भाजपासँग विमल गुरुङहरूको मोहभङ्ग भएको हो।

अर्कोतिर, राज्य सरकारसँग मिलेपछि विमल गुरुङहरू दार्जिलिङ फर्किने निश्चित भएको छ।

पछिल्लो गोर्खाल्यान्ड आन्दोलनअवधि हिंसात्मक गतिविधिमा संलग्न रहेका आरोपमा विमल गुरुङहरूले सयौँ मुद्दा खपिरहेका छन्। तर राज्य सरकारसँग मिलेपछि यी मुद्दाहरूको अड़चनबाट उनीहरू निस्किने र दार्जिलिङ फर्किने निश्चित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .