राजनीति


जसपाका तीन अध्यक्षमध्ये को कति शक्तिशाली?

जसपाका तीन अध्यक्षमध्ये को कति शक्तिशाली?

सागर न्यौपाने
कात्तिक ५, २०७७ बुधबार १६:१०,

महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई गरी जनता समाजवादी पार्टी (जसपा)मा मंगलबारबाट तीन अध्यक्ष भएका छन्।

तीमध्ये संघीय परिषद् अध्यक्षमा भट्टराई छन् भने केन्द्रीय कार्यकारिणी समितिका अध्यक्षमा ठाकुर र यादव।

२०७७ साल बैशाख १० गते तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल एकीकरण भएर जसपा बनेको थियो।

एकतापछि बनाइएको केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा राजपाबाट आएका महन्थ ठाकुर र संघीय समाजवादीका उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो।

त्यतिबेला वरिष्ठ नेताका रुपमा मात्र रहेका भट्टराई अर्का अध्यक्षको रुपमा थपिएका छन्।

मंगलबार गठन गरिएको संघीय परिषद्को अध्यक्षमा पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई चयन भएका हुन्। यसआधारमा जसपामा अब तीनजना अध्यक्ष भएका छन्।

यसमध्ये को शक्तिशाली?
सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पारित गरेको विधानअनुसार संघीय परिषद् सबैभन्दा माथिल्लो निकाय हो। त्यही परिषद्प्रति केन्द्रीय समिति उत्तरदायी हुने उल्लेख छ।

त्यस हिसावले डा. भट्टराई जसपाको सबैभन्दा शक्तिशाली अध्यक्ष हुन्।

तर, पुर्व राजपाका नेताहरु संघीय परिषद् सेरेमोनियल (सम्मानित तर शक्तिविहीन) संरचना भएको र कार्यकारी अधिकार भट्टराईसँग नभई कार्यकारिणी समितिका अध्यक्षद्वय ठाकुर र यादवसँग रहने दाबी गर्छन।

‘संघीय परिषद् कार्यकारी संरचना होइन,’ जसपाका एक नेताले नेपालखबरसँग भने, ‘केन्द्रीय कार्यसमिति कार्यकारी संरचना हो, कार्यकारी अधिकार पनि उपेन्द्र र महन्थसँगै छ।’

पूर्व समाजवादीका नेताहरु भने, जसपामा कुनैपनि संरचना सेरेमोनियल नरहेको र सबैको कार्यकारी अधिकार रहेको बताउँछन्।

‘संघीय परिषद्प्रति केन्द्रीय समिति उत्तरदायी रहने भनेर विधान पारित भएको छ,’ डा. भट्टराईनिकट एक नेताले भने, ‘परिषद् कार्यकारी संरचना हो, यसमा सल्लाहकार समिति, विज्ञ समिति लगायतका थुप्रै निकाय समेत रहन्छन, यसमा को शक्तिशाली वा वरियतामा को तलमाथि भन्ने नै छैन। योजना, कार्यदिशा र नेतृत्वको हिसावले डा.सावले नै नेतृत्व गर्नुहुनेछ।’

जसपाको केन्द्रीय समितिमा ८ सय १ जना सदस्य रहने व्यवस्था छ।

संघीय परिषद् मातहत भने १८ सय बढी सदस्य रहनेछन्। यस आधारमा पनि ठूलो संरचना संघीय परिषद् रहेको ती नेताको तर्क छ।

जसपाका नेता केशव झाका अनुसार संघीय परिषद् एउटा छुट्टै संरचना हो। यस मातहत दुई हजारमाथि जति पनि संख्या राख्न सकिने व्यवस्था गरिएको छ। केन्द्रीय सदस्य ८ सय १ रहने व्यवस्था छ।

वरियतामा पनि अन्योल
जसपाका तीन अध्यक्ष बाबुराम, महन्थ र उपेन्द्रमध्ये कसको वरियता के भन्ने विषयमा पनि नेताहरुको आआफ्नै बुझाइ रहेको पाइयो।

डा. भट्टराईनिकट नेताहरु संघीय परिषद् अध्यक्ष भट्टराई भइसकेपछि र विधानले केन्द्रीय समिति समेत परिषद्प्रति उत्तरदायी हुने व्यवस्था गरेकोले वरियतामा भट्टराई नै एक नम्बरमा रहेको बताउँछन्।

ठाकुर र यादवनिकट नेताहरु केन्द्रीय समिति कार्यकारी संरचना रहेकोले ठाकुर वरियतामा पहिलो नम्बरमा रहेको र यादव दोस्रोमा रहेको दाबी गर्छन्।

‘हाम्रो पार्टीको हरेक निर्णय केन्द्रीय समितिबाट हुने भएकाले दुई अध्यक्ष वरियतामा माथि हुनुहुन्छ,’ ती नेताले भने।

यसबारेमा डा. भट्टराई आँफैले पनि स्पष्ट जवाफ दिएका छैनन्।

मंगलबार साँझ ट्वीट गर्दै भट्टराईले लेखेका छन्, ‘जनता समाजवादी पार्टीको महत्व कुन पदमा को छानियो वा कसको मर्यादाक्रम के भन्ने होइन! यसको कसी हो, यो हिमाल, पहाड र तराईका सबै राष्ट्रियतालाई जोड्ने पार्टी हो वा हैन? देशको जटील भूराजनीतिलाई सन्तुलनमा राख्ने हो वा हैन? सुशासन र समतामूलक समृद्धि ल्याउने हो वा हैन? हामी आज एक कदम अघि बढ्यौं।’

बुधबार राति अबेर सार्वजनिक गरिएको केन्द्रीय सदस्यहरुको नामावलीमा पनि फरक शैली अपनाइएको छ।

त्यसमा सबैभन्दा माथि डा. भट्टराईको नाम राखिएको छ। तर त्यसमा कुनै अङ्क दिइएको छैन। त्यसपछि पहिलो नम्बरमा महन्थ ठाकुर, दोस्रोमा उपेन्द्र यादव र तेस्रो नम्बरमा राजेन्द्र महतोको नाम रहेको छ।

भट्टराईको दौडधुप
जनता समाजवादी पार्टी बनाएर संघीय परिषद् अध्यक्ष हुन डा. भट्टराईले निकै नै दौडधुप गरेकाे बताइन्छ।

वरियताको टुङ्गो लगाउन सकस भइरहेका बेला आफै अघि सरेर उनले सो विषय सुल्झाएका थिए।

उनी जसपाको वरिष्ठ नेतामा बसेपछि निर्वाचन आयोगमा दल दर्ता गर्न मार्ग प्रशस्त भएको थियो। पार्टी वरियतामा लो प्रोफाइलमा बसेर पनि काम गर्न तयार रहेको बताउने भट्टराईले आफ्ना योजनासहित पार्टीमा भने निरन्तर सक्रिय नै रहे।

राष्ट्रिय राजनीति र विकासबारे विचार, एजेण्डा र दर्शनमा भट्टराई सबैभन्दा प्रष्ट रहेको उनीनिकट नेताहरुको दाबी छ।

जसपाका नेता गंगा नारायण श्रेष्ठ भन्छन्, ‘डा, भट्टराईले नेपालमा बैकल्पिक पार्टी बनाउनुपर्छ भनेर आफूलाई पार्टीको सामान्य सदस्यमात्रै राखेर पनि काम गर्नुभयो, विचार, एजेण्डा र दर्शन भएपछि नेतृत्व आवश्यकताले बनाउने हो।’

विचारकै आधारमा भट्टराई संघीय परिषद् अध्यक्ष बन्न सफल भएको उनीनिकट अर्का एक नेताको दाबी छ।

त्यसो त भट्टराईले वैकल्पिक शक्ति निर्माणका लागि भनी आफू रहँदै आएका पार्टीहरु छोडेरै नयाँ नयाँ कदम चालिरहेका छन्। त्यसाे गर्दा उनले निकै जाेखिम पनि माेलेकाे देखिन्छ।

भट्टराईले नयाँ संविधान जारी भएपछि २०७२ असोज ९ गते तत्कालीन माओवादी पार्टी छोडे।

केही पुर्वकर्मचारी, पुर्वमाओवादीका केही नेता र अभियन्ताको साथ लिएर उनले २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टी गठन गरे।

हाल रहेका पार्टीहरुभन्दा नितान्त नयाँ शैलीकाे बैकल्पिक शक्ति बनाउने प्रयासस्वरुप उनले सो कदम चालेकाे बताएका थिए। यद्यपी त्यसमा उनी सफल भएनन्।

चुनावमा नयाँ शक्ति केवल एक सिटमा सीमित भयो।

त्यसपछि उनले पहाड र तराईका शक्तिलाई एकीकृत गर्ने नारासहित उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गर्न पुगे।

उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच २०७३ जेठ ३२ मैँ पार्टी एकता भएर संघीय समाजवादी फोरम बनिसकेकाे थियो।

त्यही फोरमसँग भट्टराईले २०७६ साल बैशाख २३ गते पार्टी एकता गरे। पार्टीको नाम राखियो ‘समाजवादी पार्टी नेपाल’।

सो पार्टीमा भट्टराई संघीय परिषद् अध्यक्ष र केन्द्रीय अध्यक्ष उपेन्द्र यादव बने। त्यसबेला पनि भट्टराई सेरेमोनियल मानिन्थे भने यादव कार्यकारी अध्यक्ष नै बने।

बैकल्पिक शक्ति बनाउने अभियानमा लागेका भट्टराईले राष्ट्रिय जनता पार्टीसँग पनि एकता गर्न सक्रिय भूमिका खेले।

संविधान जारी भएपछि जनकपुर पुगेर उनले संविधान अपुरो रहेको भन्दै मधेसी समुदायसँग सहकार्य गर्ने आफ्नो प्राथमिकता रहेको बताएका थिए।

समाजवादी पार्टी गठन गरेको एक वर्षपछि २०७७ बैशाख १० गते राजपा र समाजवादी पार्टीबीच एकता भयो।

समाजवादी पार्टी र राजपाबीच एकताको लामो कुराकानी टुंगोमा पुग्न सकिरहेको थिएन। त्यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ८ गते दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याएपछि राजपा र समाजवादी पार्टीले हतार हतार मध्यराति १२ बजे पार्टी एकता गरेका हुन्। आफ्नै पार्टी विभाजनबाट जाेगाउन समेत उनीहरुले फटाफट पार्टी एकता गरेका थिए।

एकतापछि निर्वाचन आयोगमा दल दर्ता गर्न जाने क्रममा नेताहरुको वरियताका विषयमा कुरा नमिलेपछि डा. भट्टराईले आफ्नै नाम काटेर वरिष्ठ नेतामा राखी आयोगमा दल दर्ता गरेका थिए।

त्यसको दुई महिनापछि केन्द्रीय कार्यकारिणाी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएको छ।

नयाँ शक्तिको गठन प्रक्रियामा लागेका भट्टराई एक सिट मात्र जितेकाे दलका नेता हुन पुगे। आफ्नो गृहजिल्ला गोरखाबाट निर्वाचन जित्न समेत उनले नेपाली कांग्रेससँग कार्यगत एकता गर्नुपरेको थियो।

पहिलो संविधान सभा निर्वाचनबाट सबैभन्दा ठूलो दल तत्कालीन माओवादी पार्टीबाट प्रधानमन्त्री बनिसकेका भट्टराई यस पटकको संसदमा भने एक मात्र सिट भएको पार्टीको नेताका रुपमा संघीय संसदमा आएका हुन्।

त्यतिबेला उनी प्रतिनिधि सभामा आफ्नो दलको एक्लो सांसद थिए।

त्यसपछि भट्टराईले प्रतिनिधि सभामा १५ सिट रहेको संघीय समाजवादी फोरमसँग एकता गरी आफूसहित १६ सांसद रहेको पार्टीको नेता बने।

फेरि त्यो पार्टीलाई पनि १६ सिट रहेको अर्को पार्टी राजपासँग एकता गरियो। यसरी आफ्नो पार्टीको एक्लो सांसदको रुपमा प्रवेश गरेका भट्टराई तीन वर्षभित्रमा संसदमा तेस्रो ठूलो पार्टीको एक शीर्षस्थ नेता बन्न सफल भएका छन्।

आफ्ना लागि वरियताभन्दा कार्यक्षमता महत्वपूर्ण भएको बताउने भट्टराईले बिभिन्न मौकामा वरियतालाई वास्ता नगरी पनि आफ्ना योजना कार्यान्वयन गराउने गरेका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे तत्कालीन माओवादीकाे पहिलाे सरकारमा उनी अर्थमन्त्रीसहित मन्त्रिमण्डल गठन गर्दा तत्कालीन नेकपा-एमालेका वामदेव गाैतमसँग वरियतामा निकै विवाद भएपछि उनी तेस्राे वरियतामैं रहन तयार भए।

साेहि सरकारमा उनले सफल अर्थमन्त्रीका रुपमा आफूलाई स्थापित गरे। त्यतिबेलाकाे सफलताकाे जगमा उनी पछि प्रधानमन्त्री बने।

शान्तिपूर्ण राजनीतिमा आउनुअघि तत्कालीन माओवादी पार्टीमा भट्टराईले शान्ति र संविधानको नारा अगाडि सारेका थिए।

संविधानसभा र गोलमेच सम्मेलनको प्रस्ताव राख्दै माओवादी शान्तिपूर्ण राजनीतिमा आएको थियो। उनी त्यसबेला माओवादी पार्टीको क्रान्तिकारी जनपरिषद् नेपालका संयोजक थिए।

शीर्ष ५ नेतामा समाजवादीकै बर्चस्व
जसपामा शीर्ष पाँच जना नेता चयन गरिएकाे छ। तीमध्ये समाजवादी पार्टीबाट आएकाहरुकै बर्चस्व कायम भएकाे छ। जसपाले पार्टीका शीर्ष पाँचमा डा. भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतोलाई तोकेको छ। भट्टराई, यादव र राई समाजवादीबाट आएका नेता हुन्।

राजपाका अध्यक्षमण्डलमा रहेकामध्ये ठाकुर र महतो जसपाको शीर्ष पाँचमा परेका छन्।

राजपाको अध्यक्षमण्डलमा ६ जनाको अध्यक्षमण्डल थियो। जसमा ठाकुर, महतोसहित महेन्द्रराय यादव, राजकिशोर यादव, अनिलकुमार झा र शरतसिंह भण्डारी थिए।

उनीहरुले चक्रीय प्रणालीको आधारमा पार्टीको संयोजकको रुपमा अध्यक्षता समेत गर्ने गरेका थिए।

जसपा बनेपछि उनीहरुले पाँच–सदस्यीय शक्तिशाली संरचनामा स्थान पाउन सकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .