ग्लोबल


दक्षिण कोरिया: अपदस्थ राष्ट्रपतिकी पत्नीको जेल सजाय बढाउने न्यायाधीश मध्यराति मृत भेटिए

दक्षिण कोरिया: अपदस्थ राष्ट्रपतिकी पत्नीको जेल सजाय बढाउने न्यायाधीश मध्यराति मृत भेटिए

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार ५:५४, काठमाडौँ

दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलकी श्रीमती किम केओन हिलाई थप भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय दोब्बरभन्दा बढी गर्ने निर्णय गरेका न्यायाधीश मृत अवस्थामा फेला परेका छन्।

घटनाले न्यायिक वृत्तमा चासो र चिन्ता दुवै बढाएको छ। प्रहरीका अनुसार सिन जोङ ओ सियोल उच्च अदालत भवनभित्र मंगलबार राति करिब १ बजे (१६०० जीएमटी) बेहोस अवस्थामा फेला परेका थिए। सेओचो जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीले उनलाई तुरुन्त अस्पताल लगिएको र त्यहाँ मृत घोषित गरिएको जानकारी दिएका छन्।

प्रारम्भिक अनुसन्धानमा कुनै पनि बाह्य हस्तक्षेप वा आपराधिक गतिविधिको संकेत नदेखिएको दाबी प्रहरीले गरेको छ।

यद्यपि केही स्थानीय सञ्चारमाध्यमले न्यायाधीशले आत्महत्याको नोट छाडेको दाबी गरे पनि अनुसन्धान अधिकारीले भने त्यस्तो कुनै नोट फेला नपरेको बताएका छन्।

घटनाको विस्तृत कारणबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

सिन जोङ ओले गत महिना मात्रै ५३ वर्षीया किम केओन ही को पुनरावेदन मुद्दाको अध्यक्षता गरेका थिए। सो मुद्दामा उनले किमलाई स्टक हेरफेर र घुसखोरीको दोषी ठहर गर्दै उनको जेल सजाय २० महिनाबाट बढाएर चार वर्ष पुर्‍याउने  फैसला सुनाएका थिए। 

उक्त फैसला तल्लो अदालतले उनलाई पहिले दिएको रिहाइ निर्णय उल्ट्याउने ऐतिहासिक निर्णय मानिएको थियो। त्यस क्रममा न्यायाधीश सिनले किमले आफ्नो दोष स्वीकार गर्नुको सट्टा निरन्तर बहानाबाजी गरेको टिप्पणी पनि गरेका थिए। 

प्रहरी अधिकारीले बुधबार जानकारी दिँदै न्यायाधीशको परिवार गहिरो शोकमा रहेको र उनीहरूले गोपनीयता कायम राख्न अनुरोध गरेको बताएका छन्।

घटनाले दक्षिण कोरियाली न्याय प्रणाली र हालैका संवेदनशील मुद्दाहरूबारे पुनः प्रश्न उठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad