ग्लोबल


आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

वार्ता असफल भएपछि इरानमा फेरि आक्रमण गर्ने तयारी
आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

होर्मुज स्ट्रेट


नेपालखबर
चैत ३०, २०८२ सोमबार १०:२८, काठमाडौँ

अमेरिकाले आज (सोमबार) देखि इरानस्थित जलमार्ग होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाउने भएको छ। 

अमेरिकी केन्द्रीय कमान्डका अनुसार होर्मुज स्ट्रेट आउजाउ गर्ने जहाजलाई आज साँझदेखि रोकिनेछ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘नाकाबन्दीको उद्देश्य इरानलाई तेल बेच्नबाट रोक्नु हो।’

यस प्रयासमा अन्य धेरै देशले पनि अमेरिकालाई सहयोग गर्ने दाबी ट्रम्पले गरेका छन्। 

ट्रम्पको दाबी छ, ‘इरानको सेनाले ठुलो क्षति बेहोरेको छ र यसको नौसेना लगभग नष्ट भएको छ। अनि १५८ जहाज ध्वस्त भएका छन्।’

नाकाबन्दी घोषणा हुनासाथ विश्वव्यापी रूपमा तेलको मूल्य बढेको छ।

वेस्ट टेक्सास इन्टरमिडिएट प्रतिब्यारेल १०४ डलर र ब्रेन्ट क्रुड प्रतिब्यारेल १०२ डलर नाघेको छ।

यसैबिच वाल स्ट्रिट जर्नलले पाकिस्तानमा वार्ता असफल भएपछि अमेरिकाले इरानमा दोस्रो सैन्य हमला गर्ने विचार गरिरहेको समाचार लेखेको छ।

ह्वाइट हाउसले भनेको छ, ‘सबै विकल्प खुला छन् र परिस्थितिका आधारमा थप निर्णय गरिनेछ।’

गत शनिबार र आइतबार पाकिस्तानमा २१ घण्टा वार्ता गरिए पनि अमेरिका र इरानबिच सहमति हुन सकेन। 

जसले गर्दा गत मंगलबार दुई देशबिच २ साताका लागि गरिएको युद्धविराम अन्योलमा परेको छ। 

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान फेरि वार्तामा आओस् कि नआओस्, मतलब नभएको बताएका छन्।

स्ट्रेट अफ होर्मुज : के हो र कहाँ छ?

अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो।

विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ होर्मुज एकातिर ओमान र यूएई अनि अर्कातिर इरानको बिचमा पर्छ। 

यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।

युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही स्ट्रेट अफ होर्मुजबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको पाँचौँ हिस्सा यही जलमार्ग भएर जान्छ।

अमेरिका-इजरायल र इरानबिचको युद्ध विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्गमध्ये एक स्ट्रेट अफ होर्मुजसम्म फैलिएको छ।जसका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्छ र त्यसलाई सरकारले अनुमोदन गर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad