ग्लोबल


यी ३ मुद्दामा मतभेद हुँदा असफल भयो अमेरिका-इरान वार्ता

यी ३ मुद्दामा मतभेद हुँदा असफल भयो अमेरिका-इरान वार्ता

नेपालखबर
चैत २९, २०८२ आइतबार १५:१६,

स्थायी युद्धविरामका लागि अमेरिका र इरानबीच पाकिस्तानमा भएको २१ घण्टा लामो वार्ता बिनानतिजा समाप्त भयो। अमेरिकी पक्षले आफूहरूले सक्नेसम्मको प्रस्ताव दिएको तर त्यसलाई इरानले अस्वीकार गरेको जनाएको छ।

‘हाम्रो रेडलाइन केके हुन् भनेर हामीले प्रस्ट पारेका छौँ,’ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्वदेश फर्किनुअघि भने।

उनले ती रेडलाइन केके हुन् भनेर खुलासा भने गरेनन्। तर, मुख्य तीन विषयमा अमेरिका र इरानबीच मतभेद देखिएको छ। खासगरी हर्मुज जलमार्ग कहिले र कसरी खुला गर्ने, इरानसँग रहेको करिब ४०० किलो प्रशोधित युरेनियमलाई के गर्ने र विदेशमा पश्चिमाहरूले रोक्का गरिदिएको इरानको २७ अर्ब डलर रकम खुला गर्ने विषयमा कुरा अड्किएको छ।

अमेरिकाले हर्मुज जलमार्ग तुरुन्त खोल्न माग गरेको थियो। तर, इरानले अन्तिम सम्झौता नहुञ्जेल सो मार्ग खोल्न नसकिने जवाफ दिएको थियो। इरानी अधिकारीहरूलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएअनुसार इरान सम्झौता नहुँदै युद्धको आफ्नो सबैभन्दा गतिलो हतियार छाड्न चाहँदैन। 

बलप्रयोगबाट हर्मुज खुलाउन नसकेकै कारण अमेरिका वार्तामा बस्न बाध्य भएको इरानी बुझाइ देखिन्छ।

त्यस्तै, अमेरिकाले इरानलाई आणविक कार्यक्रम प्रस्ट रेडलाइन भएको बताएको थियो। र, प्रशोधित युरेनियम बुझाउनुपर्ने माग गरेको थियो।

वार्तापछि भान्सले भनेका छन्, ‘उनीहरूले आणविक हतियार बनाउन खोज्ने छैनन् भन्ने विषयमा सकारात्मक प्रतिबद्धता देखिनु आवश्यक छ। अमेरिकाको लक्ष्य यो हो।’

तर, इरानले तत्काल युरेनियम बुझाउन अस्वीकार गरेको छ।

अर्कोतिर, इरानले ६ हप्ता लामो अमेरिकी र इजरायली बमबारीको क्षतिपूर्ति पाउनुपर्ने माग गरेको थियो। त्यस्तै, विदेशमा रोक्का गरिएको रकम पनि खुलाउनुपर्ने माग राखेको थियो। इराक, लक्जेम्बर्ग, बहराइन, जापान, कतार, टर्की र जर्मनीमा इरानी रकम रोक्का गरिएको छ।

अमेरिकीहरूले यसलाई अस्वीकार गरेका थिए।

अमेरिका र इरानबीच अन्य कयौँ मतभेद बाँकी नै छन्। अमेरिकालाई युद्धमा तान्ने शक्ति इजरायल युद्धविरामको विपक्षमा देखिएको छ।अमेरिकी आग्रहमा इरानमा आक्रमण रोके पनि उसले लेबनानमा हमला जारी राखेको छ। इजरायल यो वार्तालाई गराउने जुक्तिमा लागेको कतिपयको विश्लेषण छ।

यद्यपि, इरानले एकै पटकको वार्ताबाट निष्कर्ष निस्किने अपेक्षा कसैले नगरेको जनाएको छ। 

‘एकै चरणमा सहमतिमा पुग्न सकिन्छ भन्ने अपेक्षा गर्नुहुँदैन,’ विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले भनेका छन्, ‘अमेरिकासँग सम्पर्क कायम रहनेमा हामी विश्वस्त छौँ।’

मध्यस्थकर्ता पाकिस्तानले पनि वार्तालाई निरन्तरता दिन आग्रह गरेको छ।

इरानी सभामुख मोहम्मद गलिबाफले भने वार्ता असफल हुनुमा अमेरिकालाई दोष दिएका छन्। 

‘हामीसँग आवश्यक इमानदारी छ र हुनेछ। तर, यसअघिका दुई युद्धका अनुभवका कारण विपक्षीप्रति हामीलाई विश्वास छैन। र, यो चरणको वार्तामा विपक्षीले अन्ततः इरानी प्रतिनिधिमण्डलको विश्वास जित्न सकेन। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad