इराकमा मारिएका इरानका जनरल कासिम सुलेमानीको परिवारका दुई सदस्यलाई अमेरिकामा गिरफ्तार गरिएको छ।
अमेरिकाको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्ति अनुसार इरानको रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का मेजर जनरल कासिम सुलेमानीका भतिजी र नातिनी (भतिजीकी छोरी) लाई संघीय सुरक्षा अधिकारीले पक्राउ गरेका हुन्।
मृतककी भतिजीको नाम हमिद सुलेमानी अफसार रहेको बताइएको छ। सुलेमानी अफसारकी छोरीको नाम भने उल्लेख गरिएको छैन।
विज्ञप्तिमा भनिएको छ, ‘दुवै अहिले अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आईसीई) को हिरासतमा छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा पहिलो कार्यकालको अन्तिम वर्ष सन् २०२० को जनवरीमा इराकको राजधानी बग्दादमा रहेका बेला आईआरजीसीको विदेशमामिला शाखाको नेतृत्व गरेका सुलेमानीको अमेरिकाले गरेको ड्रोन आक्रमणमा मारिएका थिए।
अमेरिकाको विदेश मन्त्रालयले भनेको छ, ‘प्रेस रिपोर्टिङ र आफ्नै सामाजिक सञ्जालहरूमा आएका उनको प्रतिक्रिया दुवैले सुलेमानी अफसार इरानको वर्तमान सत्ताका मुखर समर्थक भएको पुष्टि गरेका छन्।’
उनीहरूले इरानका नयाँ सर्वोच्च नेता अली खामेनीको प्रशंसा गर्नुका साथै अमेरिकालाई ‘महान् सैतान’ भन्दै निन्दा गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
सुलेमानी अफसारका पतिलाई पनि अमेरिका प्रवेशमा रोक लगाइएको छ। मारिएका इरानका अर्का पूर्वसुरक्षा प्रमुख अली लारीजानीकी छोरी र ज्वाइँको पनि कानुनी हैसियत खारेज गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘दुवै अहिले संयुक्त राज्य अमेरिकामा छैनन् र भविष्यमा प्रवेशमा प्रतिबन्ध लगाइएको छ।’
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव लारिजानी गत मार्च १७ मा इजरायलको आक्रमणमा मारिएका थिए।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक्समा एक पोस्टमा उनीहरूको पक्राउको पु्ष्टि गर्दै भनेका छन्, ‘ट्रम्प प्रशासनले हाम्रो देशलाई अमेरिका विरोधी आतङ्कवादी शासनलाई समर्थन गर्ने विदेशी नागरिकहरूको घर बन्न अनुमति दिँदैन।’
Shares

प्रतिक्रिया