यमनका हुथी विद्रोहीहरूले बुधबार इजरायलमा क्षेप्यास्त्र आक्रमण गरिएको दाबी गरेका छन्।
हुथी विद्रोहीहरूले इरान र लेबननको हेजबुल्लाहसँगको सहकार्यमा आक्रमण गरिएको उल्लेख गरेका छन्।
अमेरिका-इजरायल र इरान युद्धमा प्रवेश गरेपछि हुथी विद्रोहीहरूले इजरायलमा गरेको यो आक्रमण तेस्रो हो।
यमनको हुथी आन्दोलनका सैन्य प्रवक्ता याह्या सारीले भिडिओ सन्देश जारी गरी भनेका छन्, ‘हुथीहरूले इजरायली शत्रुका प्रमुख स्थानहरूविरुद्ध ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेर आफ्नो तेस्रो सैन्य कारबाही गरेका छन्।’
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा हवाई हमला गरेयता युद्ध जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गरेका कारण एक महिनाभन्दा बढी समयदेखि मध्यपूर्व द्वन्द्वमय बनेको छ।
यही चैत १४ गते शनिबार यमनबाट इजरायलमा पहिलोपटक क्षेप्यास्त्र हान्दै हुथी पनि युद्धमा सामेल भएको हो।
जारी युद्धमा मारिएकाको संख्या ४ हजार ५०० नाघिसकेको छ। मारिएका मानिसमा सबैभन्दा बढी इरानका छन्।
कहाँ कति जना मारिए?
इरान : अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरानका अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म इरानमा ३ हजार ४ सय ९२ जना मारिइसकेका छन्। जसमा १ हजार ५ सय ७४ जना सर्वसाधारण नागरिक छन् भने कम्तीमा २ सय ३६ जना बालबालिका छन्।
इजरायल : इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इजरायलमा मिसाइल आक्रमणमा परी अहिलेसम्म १९ जना मारिएका छन्। साथै लेबननमा नौ जना इजरायली सैनिक मारिएको इजरायली सेनाले जनाएको छ।
लेबनन : लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि अहिलेसम्म लेबननमा १ हजार २ सय ४७ जना मारिएका छन्, जसमा १२४ जना बालबालिका छन्।
खाडी क्षेत्र : खाडी देशहरूमा हालसम्म कम्तीमा २४ जना मारिएका छन्, जसमध्ये धेरैजसो सुरक्षा बलका सदस्य वा विदेशी कामदार छन्। यीमध्ये ११ जना संयुक्त अरब इमिरेट्स (यूएई) मा र ७ जना कुवेतमा मारिएका हुन्। अनि ओमान, साउदी अरेबिया र बहराइनमा दुई-दुई जना मारिएको पुष्टि भएको छ।
यसैबिच अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अमेरिका इरानसँग वार्तामा रहेको र युद्ध अन्त्य हुने आशा रहेको बताएका छन्।
उनले फक्स न्युजसँग भनेका छन्, ‘वार्ता जारी छ। प्रत्यक्ष भेट जुनसुकै बेला हुन सक्छ। हामी त्यसका लागि सधैँ तयार रहनेछौँ।’
तर राष्ट्रपति डोनाल्ड ट्रम्प इरानले झुटा वा ढोँगी वार्ता गरेर समय बर्बाद मात्र नगरोस् भन्ने चाहेको उनले बताए।
युद्ध अन्त्य गर्ने सन्दर्भमा रुबियोले भने, ‘म समयसीमा तोक्न चाहन्नँ, तर फिनिस लाइन देखिँदै छ।’
यस क्रममा उनले नेटोको आलोचना पनि गरे।
उनले भने, ‘अमेरिकाले केही समयदेखि देशको सेवा गर्दै आएको यो गठबन्धन अझै काम गरिरहेको छ कि छैन भनेर जाँच गर्नुपर्ने हुन सक्छ।’
यसअघि अमेरिकाका राष्ट्रपति ट्रम्पले पनि ‘दुई वा तीन हप्ता’भित्र अमेरिका इरान युद्धबाट बाहिरिने संकेत गरेका थिए।
बीबीसीका अनुसार उनले भनेका छन्, ‘मेरो एउटै लक्ष्य थियो: इरानले कुनै हालतमा पनि आणविक हतियार हासिल गर्न नसकोस्, त्यो लक्ष्य प्राप्त भइसकेको छ।’
उनले अगाडि भनेका छन्, ‘हामी इरानमा हाम्रो कामलाई अन्तिम रूप दिइरहेका छौँ। सायद दुई हप्ताभित्र वा काम पूरा हुन केही दिन बढी लाग्न सक्छ, त्यसपछि अमेरिका इरानबाट बाहिरिनेछ।’
साथै ट्रम्पले इरानका सबै कुरा ध्वस्त पार्न चाहेको उल्लेख गर्दै यसभन्दा पहिले सम्झौता पनि हुन सक्ने बताए।
एक पत्रकारले उनलाई अमेरिकामा बढ्दो ग्यासको मूल्य र त्यसलाई घटाउने उनको योजनाबारे सोध्दा उनले भने, ‘यसका लागि हामी इरानबाट बाहिर निस्कनु हो र हामी त्यो चाँडै गर्नेछौँ। हामी त्यहाँबाट चाँडै बाहिर निस्कनेछौँ।’
यसैबिच इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पनि केही सर्त पूरा भएमा अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न आफूहरू तयार रहेको बताएका छन्।
इरानको सरकारी सञ्चारमाध्यमले राष्ट्रपति पेजेस्कियानले युरोपेली परिषद्का अध्यक्षसँगको फोन वार्तामा उक्त अभिव्यक्ति दिएको उल्लेख गरेको छ।
भनिएको छ, ‘युद्ध अन्त्य गर्ने पेजेस्कियानका इच्छासँगै धेरै सर्त पनि छन्, खासगरी भविष्यमा द्वन्द्व पुनः सुरु नहुने ग्यारेन्टी।’
यसअघि इरानले अमेरिकाको १५-बुँदे शान्ति प्रस्तावको जवाफमा पनि आक्रमण नदोहोरिने ग्यारेन्टी मागेको थियो।
Shares

प्रतिक्रिया