ग्लोबल


जापानले तैनाथ गर्‍यो टाढैबाट शत्रुका सैन्य आधारमा प्रहार गर्न सक्ने मिसाइल

जापानले तैनाथ गर्‍यो टाढैबाट शत्रुका सैन्य आधारमा प्रहार गर्न सक्ने मिसाइल

नेपालखबर
चैत १७, २०८२ मंगलबार २०:१४, टोकियो

क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गर्दै आफ्नो रक्षा रणनीतिमा महत्त्वपूर्ण मोड ल्याएको छ।

अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुमामोटो प्रान्तको क्याम्प केङ्गुनमा अपग्रेड गरिएको टाइप-१२ ल्यान्ड-टु-सिप मिसाइल सञ्चालनमा ल्याइएको हो, जसले देशको आक्रामक क्षमतामा उल्लेखनीय विस्तार गरेको संकेत दिएको छ।

जापानको मित्सुबिसी हेभी इन्डस्ट्रिजद्वारा विकसित उक्त मिसाइलको दायरा करिब एक हजार किलोमिटर पुगेको छ। यो यसको पुरानो २०० किलोमिटर क्षमताभन्दा निकै ठुलो विस्तार हो।

यसले जापानलाई टाढैबाट सम्भावित शत्रुका सैन्य आधारमा प्रहार गर्न सक्ने ‘स्ट्यान्डअफ’ क्षमता प्रदान गरेको छ।

यस्तो क्षमता जापानले दशकौँदेखि पालन गर्दै आएको आत्मरक्षा केन्द्रित सुरक्षा नीतिमा परिवर्तनको संकेतका रूपमा हेरिएको छ।

जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले वर्तमान सुरक्षा वातावरणलाई ‘युद्धपछिको सबैभन्दा जटिल र गम्भीर’ भन्दै यस्तो क्षमता देशको प्रतिरोध शक्ति र प्रतिक्रिया क्षमताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए।

उनका अनुसार यसले जापानको आत्मरक्षाप्रतिको दृढता पनि झल्काउँछ।

तर यस कदमले स्थानीयस्तरमा चिन्ता पनि बढाएको छ। क्याम्प केङ्गुननजिकै बसोबास गर्ने बासिन्दाहरूले मिसाइल तैनाथीको विरोध गर्दै प्रदर्शन गरेका छन्।

उनीहरूले यस्तो कदमले क्षेत्रीय तनाव चर्काउने र आफ्नो क्षेत्र सम्भावित आक्रमणको लक्ष्य बन्न सक्ने जोखिम बढाउने बताएका छन्।

जापानले एक स्थानमा मात्र नभई आगामी वर्षमा देशका विभिन्न भागमा यस्ता हतियार प्रणाली विस्तार गर्ने योजना बनाएको छ।

मंगलबार नै सिजुओका प्रान्तको क्याम्प फुजीमा टापु रक्षा लक्षित हाइपरसोनिक ग्लाइड वाहन पनि तैनाथ गरिएको छ।

सन् २०२८ मार्चसम्म होक्काइडोदेखि मियाजाकीसम्म विभिन्न स्थानमा अपग्रेड गरिएको टाइप-१२ मिसाइल र अन्य आधुनिक प्रणालीहरू विस्तार गर्ने तयारी गरिएको छ।

यसैबिच जापानले अमेरिकी निर्माणका टोमहाक क्रुज मिसाइल पनि आफ्नो नौसैनिक क्षमतामा समावेश गर्ने योजना अघि बढाएको छ।

यस वर्षको अन्त्यसम्म जापानी विध्वंसक जेएस चोकाईमा एक हजार ६०० किलोमिटर दायराका ती मिसाइल तैनाथ गरिनेछ भने पछि थप सात विध्वंसक पनि विस्तार गरिने लक्ष्य राखिएको छ।

जापानले चीनलाई आफ्नो प्रमुख क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिएको छ। पछिल्ला वर्षमा पूर्वी चीन सागर नजिकका दक्षिणपश्चिमी टापुमा सैन्य संरचना मजबुत बनाइएको छ।

गत जुनमा चीनका दुई विमानवाहक जहाज जापानका दुर्गम टापु नजिकै एकैपटक सञ्चालनमा देखिएपछि टोकियोको चिन्ता अझ बढेको थियो।

प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि ९० खर्ब येनभन्दा बढीको रक्षा बजेट स्वीकृत गरिसकेको छ, जसले स्ट्राइक ब्याक क्षमता, क्रुज मिसाइल र मानव रहित हतियार प्रणालीमार्फत तटीय सुरक्षालाई सुदृढ बनाउने लक्ष्य राखेको छ।

यसै क्रममा चीनको प्रशान्त क्षेत्रमा बढ्दो गतिविधि अध्ययन गर्न नयाँ कार्यालय स्थापना गर्ने घोषणा पनि गरिएको छ।

ताइवानसँग सम्बन्धित सम्भावित संकटको अवस्थामा जापानले आफ्नो सुरक्षा प्रतिक्रिया देखाउन सक्ने संकेत दिँदा क्षेत्रीय वातावरणमा सतर्कता र चिन्ता बढेको देखिन्छ। (रासस/एपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad