उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको आणविक हतियारप्रति खुसी व्यक्त गरेका छन्।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार उनले भनेका छन्, ‘इरानमा अमेरिका र इजरायलको आक्रमणले आणविक हतियार राख्ने हाम्रो निर्णय सही थियो भन्ने प्रमाणित गर्छ।’
किमले पश्चिम एसियामा भइरहेको युद्धले बलियो सैन्य शक्तिले मात्र आजको संसारमा देशलाई सुरक्षित राख्न सक्ने पनि बताएका छन्।
सोमबार संसद्मा लामो सम्बोधनका क्रममा उनले उक्त अभिव्यक्ति दिएका हुन्।

आफ्नो भाषणमा किमले दक्षिण कोरियाप्रति आफ्नो कडा अडान दोहोर्याउँदै अमेरिकालाई रोक्न देशको आणविक शक्ति अझ बलियो बनाउने बताए।
किम जोङ उनले भने, ‘हामी थप आणविक हतियार निर्माण गर्नेछौँ।’
किम जोङ उनको भाषण मंगलबार लिखित रूपमा जारी गरिएको हो।
त्यसमा उनले २०१९ मा ट्रम्पसँगको वार्ता विफल भएपछि आणविक हतियार विस्तार गर्ने आफ्नो निर्णय सबैभन्दा उपयुक्त कदम भएको उल्लेख गरेका छन्।
किमले भने, ‘उत्तर कोरियाले अब अमेरिकाविरुद्ध संयुक्त मोर्चामा बढी सक्रिय भूमिका खेल्नेछ।’
सिधै ट्रम्पको नाम नलिए पनि उनले भने, ‘हाम्रा विरोधीले टकराव खोज्छन् वा शान्ति खोज्छन् भन्ने कुरा उनीहरूमा निर्भर गर्छ। उत्तर कोरिया कुनै पनि परिस्थितिका लागि तयार छ।’

किमले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने र यसलाई टिकाउन थप आणविक हतियार र क्षेप्यास्त्र विकास गर्ने आवश्यकतामा जोड दिएका छन्।
उनले भने, ‘आणविक हतियारका कारण उत्तर कोरिया अब बढी सुरक्षित छ र जसका कारण आर्थिक विकासका लागि आफ्ना स्रोत प्रयोग गर्न पनि सक्षम छ।’
Shares

प्रतिक्रिया