ग्लोबल


यसरी रचिएको थियो खामेनीविरुद्धको ‘डेथ ट्र्याप’

यसरी रचिएको थियो खामेनीविरुद्धको ‘डेथ ट्र्याप’

जो टाइडी
फागुन २९, २०८२ शुक्रबार १८:२४, काठमाडौँ

युद्धका क्रममा मिसाइल प्रहार हुनुभन्दा अघि साइबर जासुसी र ह्याकिङलाई ‘प्रि-पोजिसनिङ’ (पूर्व-तयारी) मानिन्छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले पत्रकार सम्मेलनमा बताएअनुसार इरानसँगको युद्धका लागि महिनौँ र केही विषयमा वर्षौँदेखि योजना बनाइएको थियो। यसअन्तर्गत हमलाका लागि ‘टारगेट सेट’ (लक्ष्यहरू) तयार पारिएका थिए।

सम्भव छ कि अमेरिका र इजराइलका ह्याकरहरू वास्तविक भौतिक हमलाको योजना बन्नुभन्दा धेरै पहिले नै इरानका महत्त्वपूर्ण कम्प्युटर नेटवर्कमा घुसपैठ गरिसकेका थिए। हवाई रक्षा प्रणाली वा सैन्य सञ्चार पछाडि काम गर्ने कम्प्युटर नेटवर्कहरू यी हमलाका प्रमुख निसाना हुन्।

‘फाइनान्सियल टाइम्स‘’ लाई नाम नबताउने सर्तमा स्रोतहरूले दिएको जानकारीअनुसार, इजराइलले सीसीटीभी र ट्राफिक क्यामेराहरू ह्याक गरेर एक विशाल निगरानी संयन्त्र बनाएको थियो। यसको उद्देश्य आयतुल्लाह अली खामेनी र उनका कमान्डरहरूको दैनिक गतिविधि र शैली बुझ्नु थियो। यो तयारी खामेनीको मृत्यु भएको उक्त हमलाकै एक हिस्सा थियो।

साइबर सुरक्षा कम्पनी ‘चेक पोइन्ट’ का विज्ञ सर्गेई शाइकेविच भन्छन्, ‘इन्टरनेटसँग जोडिएका क्यामेराहरू साइबर युद्धका प्रमुख निसाना हुन् किनभने तिनले निकै कम लागतमा सडक र भवनहरूको रियल टाइम जानकारी दिन्छन्।’ 

युद्ध शक्ति बढाउने माध्यम

विज्ञहरूका अनुसार यस्तो डिजिटल जानकारीलाई जमिनमा खटिएका जासुसहरूबाट प्राप्त पारम्परिक सूचनासँग मिलान गरिन्छ। पूर्वइजराइली सैन्य साइबर रक्षा विज्ञ ताल कोलेन्डर भन्छन्, ‘साइबर आफैँमा निर्णायक हतियार नहुन सक्छ, तर यसले तपाईंको सैन्य शक्तिलाई कैयौँ गुणा बढाउँछ र जमिनमा भइरहेका अभियानलाई बलियो समर्थन दिन्छ।’ 

जनरल ड्यान केनका अनुसार, सुरुवाती हमलापछि यूएस साइबर कमान्ड र यूएस स्पेस कमान्डका कर्मचारीहरू सबैभन्दा पहिले सक्रिय भएका थिए। उनीहरूले इरानको देख्ने, सञ्चार गर्ने र प्रतिक्रिया दिने क्षमतालाई अवरुद्ध पारेर उसलाई ‘नदेख्ने’  बनाइदिएका थिए।

केही विश्लेषकहरूका अनुसार खामेनीको सुरक्षा टोलीलाई आउँदै गरेका जेट विमानहरूको चेतावनी नमिलोस् भन्नका लागि तेहरानका मोबाइल फोन टावरहरू जाम गरिएको वा बन्द गरिएको थियो। यद्यपि यसको स्वतन्त्र पुष्टि भएको छैन, तर यस्तै अभ्यास युक्रेन युद्धमा देखिइसकेको छ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले हालै भनेका छन्, ‘इरानी सैनिकहरू हमला गर्न त परै जाओस्, आपसमा कुरासमेत गर्न सकिरहेका छैनन्।’ 

मनोवैज्ञानिक युद्ध र एप ह्याकिङ

इजराइलमाथि इरानको लोकप्रिय एप ‘बादेसबा’  (जसलाई ५० लाखभन्दा बढी पटक डाउनलोड गरिएको छ र यसले नमाजको समय बताउँछ) ह्याक गरेको आरोप पनि लागेको छ। रोयटर्सका अनुसार, बम बर्षिन थालेपछि उक्त एपका प्रयोगकर्ताहरूलाई एउटा नोटिफिकेसन पठाइएको थियो जसमा लेखिएको थियो- ‘मद्दत आइपुग्यो।’

रक्षा मन्त्री हेगसेथका अनुसार अमेरिकाले इरानभित्र अन्य प्रणालीहरू खोजेर तिनलाई नष्ट गर्ने अभियान जारी राखेको छ। यस चरणमा आर्टिफिसियल इन्टेलिजेन्सको पनि व्यापक प्रयोग भइरहेको हुनसक्छ।

अमेरिका र इजराइलको इरानविरुद्ध साइबर हमलाको लामो इतिहास छ, तर दुवै देश यसबारे गोपनीयता कायम राख्छन्।

सन् २०१० को कुख्यात ‘स्टक्सनेट’ भाइरस हमला, जसले इरानको युरेनियम सम्वर्द्धन केन्द्रलाई ध्वस्त पारेको थियो, त्यसबारे अधिकारीहरू अझै पनि खुलेर बोल्दैनन्।

विज्ञ कोलेन्डरका अनुसार, ‘यदि कुनै देशले आफ्नो साइबर क्षमता सार्वजनिक गर्छ भने उसले आफ्नो प्रविधि र गुप्तचर स्रोत उजागर हुने जोखिम मोल्नुपर्छ, जसलाई शत्रुले तुरुन्तै बन्द गरिदिन सक्छ।’

इरान कहाँ छ?

यस युद्धको एउटा रहस्यमय पक्ष इरानको साइबर भूमिका नदेखिनु हो। इरानलाई एक सक्षम साइबर शक्तिको रूपमा चिनिन्छ, तर अहिलेसम्म उसको सक्रियता निकै कम देखिएको छ।

यसका दुई वटा कारण हुन सक्छन्: कि त इजराइली हमलाले इरानको साइबर क्षमतालाई नराम्ररी प्रभावित पारेको छ, वा इरानको शक्तिको मूल्याङ्कन बढी गरिएको थियो। यद्यपि, विज्ञहरू इरानलाई कम नआक्न चेतावनी दिन्छन्। इरानले विगतमा साउदी अरामकोका ३० हजार कम्प्युटर नष्ट गरेको इतिहास छ।

ह्याक्टिभिस्ट समूहहरूको आवरणमा इरानले कुनै पनि बेला ठूलो साइबर प्रत्याक्रमण गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन। (बीबीसी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad