साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी मंगलबार बिहान भीषण ड्रोन आक्रमण भएको छ। विदेशी कूटनीतिक नियोगहरू रहेको उच्च सुरक्षा क्षेत्र (डिप्लोम्याटिक क्वाटर) मा भएको यस हमलाले मध्यपूर्वको सुरक्षा संवेदनशीलतालाई पुनः सतहमा ल्याइदिएको छ।
साउदी रक्षा मन्त्रालयका अनुसार विस्फोटक पदार्थ बोकेका दुईवटा ड्रोन दूतावास परिसरमा खसेका थिए। जसका कारण दूतावासको भौतिक संरचनामा क्षति पुग्नुका साथै सामान्य आगलागी समेत भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले तीनवटा छुट्टाछुट्टै स्रोतलाई उद्धृत गर्दै लेखेको छ, "बिहान सबेरै ठूलो विस्फोटको आवाजसँगै दूतावास क्षेत्रबाट धुवाँको मुस्लो निस्किएको देखिएको थियो, यद्यपि आगलागीलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएका थिए।" स्थानीय प्रत्यक्षदर्शीका अनुसार डिप्लोम्याटिक क्वाटरमा एकपछि अर्को गरी ठूला आवाजहरू सुनिएका थिए।
'जवाफ के हुन्छ, छिट्टै थाहा हुनेछ' : ट्रम्प
घटनालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया दिएका छन्। न्युज नेसनसँगको अन्तर्वार्तामा ट्रम्पले यस आक्रमण र क्षेत्रीय तनावबारे बोल्दै अमेरिकाले कस्तो जवाफ दिनेछ भन्ने कुरा 'छिट्टै थाहा हुने' चेतावनी दिएका छन्। उनले भनेका छन्, "हामीले के गर्छौं भन्ने कुरा छिट्टै देखिनेछ।" यद्यपि उनले तत्कालै जमिनमा सेना पठाउने सम्भावनालाई भने संकेत गरेका छैनन्।
अर्को समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) ले यस घटनालाई क्षेत्रीय अस्थिरताको नयाँ मोडका रूपमा व्याख्या गरेको छ। दूतावासका प्रवक्ताले तत्कालै औपचारिक टिप्पणी गर्न अस्वीकार गरे पनि त्यहाँ कार्यरत कर्मचारीहरूलाई बंकर र सुरक्षित स्थानमा रहन निर्देशन दिइएको छ।"
साउदीको प्रतिक्रिया
पछिल्लो समय मध्यपूर्वमा इरान समर्थित समूहहरू र अमेरिकी गठबन्धनबीच बढ्दो द्वन्द्वका कारण साउदी अरबका सामरिक क्षेत्रहरू जोखिममा पर्दै आएका छन्। विशेषगरी रेड-सी र छिमेकी मुलुकहरूमा जारी युद्धको बाछिटा रियादसम्म पुग्दा क्षेत्रीय सुरक्षा सन्तुलन डगमगाएको छ। यसअघि तेल खानी र विमानस्थल लक्षित हुने गरेका हमला कूटनीतिक क्षेत्रसम्म विस्तार हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
अमेरिकी दूतावासले 'एक्स' मार्फत सुरक्षा 'अलर्ट' जारी गर्दै आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न र गैर–आवश्यक यात्रा नगर्न अपिल गरेको छ। घटनापछि रियादभरिको सुरक्षा व्यवस्थामा उच्च कडाइ गरिएको छ।
Security Alert: Consular Appointments Cancelled – U.S. Mission to the Kingdom of Saudi Arabia (Mar. 3, 2026)
— U.S. Embassy Riyadh (@USAinKSA) March 3, 2026
The U.S. Mission to Saudi Arabia is closed on Tuesday, March 3. All routine and emergency American Citizen Services appointments are cancelled. The shelter in place…
Shares

प्रतिक्रिया